व्यवस्थित बनाइँदै वीरेन्द्रनगर
सुर्खेत: कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर पछिल्लो समय व्यवस्थित बन्दै छ । प्रदेशका अन्य जिल्लाको तुलनामा राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यको हबका रूपमा रहेको वीरेन्द्रनगरको मुख्य सडक चार लेनको छ । अन्य भित्री परम्परागत सडकलाई व्यवस्थित र नयाँ सडकको मापदण्ड तय गरेर सुरक्षित सहर बनाउन नगरपालिकाले विभिन्न योजनाहरू अघि बढाइरहेको छ ।
घण्टाघर पार्कलाई व्यवस्थित, फोरलेन सडक र टोलटोलमा उज्यालो बनाउन लाइट जडान गर्ने काम भइरहेका छन् । बढ्दो सुरक्षा चुनौतीलाई समाधान गर्नका लागि ट्राफिक लाइट जडान गरिएको छ । वीरेन्द्रचोकमा ट्राफिक लाइट जडान गरिएको नगरपालिकाले जनाएको छ । पछिल्लो समय व्यस्त सहरको रूपमा रहेको मुख्य बजार वीरेन्द्रचोकमा ट्राफिक लाइट जडान गरिएको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । उनका अनुसार लाइट जडानको काम भइरहेको छ । यो पाइलट प्रोजेक्टको रूपमा रहेको र आगामी आर्थिक वर्षमा अन्य स्थानमा पनि ट्राफिक लाइट जडान गरिने उनको भनाइ छ ।
जेठमा ठेक्का सम्झौता गरेर लाइट जडानको काम सुरु गरिएको नगरपालिकाका इन्जिनियर यज्ञ कार्कीले बताए । उक्त ट्राफिक लाइट जडानको लागत अनुमान ३१ लाख ३० हजार रहेको थियो । २४ लाख ७४ हजारमा ठेक्का सम्झौता भइ काम भइरहेको इन्जिनियर कार्कीले बताए । वीरेन्द्रनगर नगरपालिका र इथ्री सेल्स एण्ड सर्भीसेज प्रा.लि. काठमाण्डौंबीच २०८२ जेठ २५ गते ठेक्का सम्झौता गरिएको हो । अहिले ट्राफिक लाइट जडानको काम अन्तिम चरणमा पुगेको इन्जिनियर कार्कीले जानकारी दिए । आगामी आर्थिक वर्षमा पनि अन्य स्थानमा लाइट जडान गरिनेछ । मूलपानीचोक र दैलेख रोडमा आगामी वर्षमा लाइट जडान गर्नेगरी नगरपालिकाले योजना बनाएको छ ।
यस्तै वीरेन्द्रनगरमा आगामी आर्थिक वर्ष २०८२/०८३ देखि नगरबस सञ्चालन हुने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले नगरवासीको सहजताका लागि नगरबस सञ्चालन गर्ने भएको हो । नगरपालिका क्षेत्रभित्र सर्वसुलभ नगर यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गरी यसै वर्षदेखि नगरबस सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । बढ्दो सहरीकरणसँगै व्यवस्थित सार्वजनिक यातायातको अभाव झेलिरहेका नगरवासीलाई राहत दिन नगरपालिकाले यो महŒवपूर्ण योजना अघि सारेको हो ।
नगरबस सञ्चालन तथा खरिदका लागि दुई करोड विनियोजन गरिएको उपप्रमुख निलकण्ठ खनालले बताए । नगर क्षेत्रभित्र सर्वसाधारणलाई सुलभ, भरपर्दो र व्यवस्थित यातायात सेवा प्रदान गर्ने उद्देश्यले नगरबस सञ्चालनको तयारी थालिएको हो । यसअघि निजी क्षेत्रबाट नगरबस सञ्चालन भएपनि केही समयमै बन्द भयो ।
आगामी आर्थिक वर्षमा नगरपालिकाले सहरी पूर्वाधार र सौन्दर्यतर्फ राजधानी केन्द्रित पूर्वाधारहरूजस्तै ट्राफिक लाइट, रोड मार्किङ, फुटपाथ व्यवस्थापन, सीसी क्यामरा र हाईमास्ट लाइट जडानका लागि १२ करोड रूपैयाँ विनियोजन गरिएको छ । साथै, घण्टाघर पार्कलगायत अन्य पार्क निर्माण र क्रमागत आयोजनाका लागि २२ करोड ३४ लाख बजेट राखिएको छ ।
उपमहानगरको मार्गमा वीरेन्द्रनगर
२०३३ सालमा उपत्यका क्षेत्रभित्र पर्ने कटकुवा, गोठीकाँडा र जरबुटा गाउँ पञ्चायतभित्र पर्ने केही भागलाई मिलाएर बनेको वीरेन्द्रनगरले ४८ वर्षपछि उपमहानगरपालिकाका लागि आवश्यक पर्ने सबै मापदण्ड पूरा गर्न सक्षम भएको छ । वीरेन्द्रनगर नगरपालिका प्रमुख ढकालले भनिन्, ‘नगरपालिकाको आन्तरिक स्रोत, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली, सञ्चारलगायतका महŒवपूर्ण पूर्वाधारको विस्तार भएसँगै वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउन आवश्यक प्रक्रिया अघि बढाइएका छौँ ।’
केही दिनअघिको नगरसभाले उपमहानगरपालिका घोषणाका लागि कर्णाली प्रदेश सरकारमार्फत् केन्द्र सरकारलाई अनुरोध गर्न सार्वजनिक महत्त्वको प्रस्ताव पारित गरेको छ । नगरसभाबाट पारित उपमहानगरपालिका बनाउने एजेण्डा कर्णाली प्रदेश सरकारमार्फत संघीय सरकारमा जानेछ । उपमहानगरपालिकाका लागि आवश्यक मापदण्ड दुई लाख जनसंख्या, २५ करोड आन्तरिक राजश्व र आवश्यक प्रशासनिक संरचना हुनुपर्छ । वीरेन्द्रनगरलाई उपमहागरपालिका घोषणा गर्ने पर्याप्त मापदण्ड पूरा भइसकेको प्रमुख ढकालले बताइन् ।
२०७८ को जनगणनाअनुसार वीरेन्द्रनगरमा एक लाख ५३ हजार आठ सय ६३ जना बसोबास गर्छन् । राजधानीको नगरपालिका भएकाले वीरेन्द्रनगरमा अस्थायी बसोबास गर्नेको संख्या समावेश गर्ने हो भने यो संख्या पाँच लाखभन्दा बढी छ । उपमहानगर बन्नका लागि नगरपालिकाको आन्तरिक वार्षिक औसत आम्दानी २५ करोड हुनुपर्छ । नगरपालिकाले गत वर्ष नै लगभग यो मापदण्ड पूरा गरिसकेको छ । यो वर्ष मात्रै नगरपालिकाले ४३ करोड आन्तरिक राजश्व उठाउने लक्ष्य राखेको छ ।
प्रकाशित मितिः २० असार २०८२, शुक्रबार ०५:०५
साझा बिसौनी ।