राजमार्गको स्तरोन्नति

कर्णाली प्रदेशको प्रवेशद्धारका रूपमा रहेको रत्न राजमार्ग स्तरोन्नतिको योजनाले पूर्णता पाउन सकेको छैन । दुई लेनको बनाउने योजना कार्यान्वयन हुन सकेको छैन । बाँकेको जमुनाहादेखि सुर्खेतको बाङ्गेसिमलसम्म जोड्ने राजमार्ग बरु दिनप्रति दिन जीर्ण बन्दै गएको छ । दोहोरो गाडी चल्न सक्नेसम्म कालोपत्रे नहुँदा यात्रु तथा सवारीसाधनले सास्ती खेप्दै आएका छन् । चार दशकभन्दा पुरानो सडक साँघुरो छ । ‘वान–वे’ कालोपत्रे गरिएको छ, साढे पाँच मिटर मात्रै । सडकैभरी खाल्डाखुल्डी छन् । तर सुधार र स्तरोन्नति हुन सकेको छैन । समयमै मर्मत नगर्दा जीर्ण बन्दै गएको छ । सवारी साधनको चाप बढिरहेको बेला सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम समेत बढेको छ ।

‘वान–वे’ कालोपत्रेका कारण यो सडकमा सवारी ठोक्किने, पल्टने र आवतजावतमा समस्या हुने गरेको छ । दुर्घटनाको जोखिमका साथसाथै सवारी साधन छिटो बिग्रने समस्यासमेत निम्त्याउने गरेको छ भने पैदल यात्रुहरूलाई समेत त्रसित बनाउने गरेको छ । थुप्रै स्थानमा कालोपत्रे नै उप्किएको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले रत्न राजमार्गलाई स्तरोन्नति गर्दै दुई लेन बनाउने घोषणा गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणमा सिद्धार्थ राजमार्ग र रत्न राजमार्गलाई ‘डेडिकेटेड डबल लेन’मा स्तरोन्नति गर्नका लागि सात अर्ब बजेट विनियोजन भएको थियो । यसले यहाँका नागरिकमा उत्साह थपिएको थियो । तर उक्त योजना कार्यान्वयन हुन सकेन । बजेट कार्यान्वयन नभएरै फ्रिज भयो । त्यसपछिका वर्षहरूमा पनि सरकारले दुई लेनको बनाउने योजना आफ्ना बजेट भाषणसहित नीति तथा कार्यक्रममा छुटाउँदैन । तर कार्यान्वयनमा पनि आउँदैन । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि उक्त कुरा अटाएको छ ।

दुई लेन योजना कार्यान्वयन नभएपनि सडक सुधारका लागि बेलाबखत काम भने हुने गरेका छन् । तर निकै सुस्त । बाँकेको जमुनाहादेखि सुर्खेतको हर्रेसम्म ६८ किलोमिटर सडक विस्तारका लागि सडक डिभिजन कार्यालय नेपालगञ्जले काम गरिरहेको छ । यता हर्रेदेखि सुर्खेतको बाङ्गेसिमलसम्म ४४ किलोमिटर सडक विस्तारको काम सडक डिभिजन कार्यालय सुर्खेतको जिम्मामा छ । कार्यालयहरूले सामान्य मर्मत गरी कामचलाउ बनाउने गरेका छन् । आर्थिक वर्ष २०४८÷०४९ मा तीन मिटर सडक कालोपत्रे गरिएको थियो भने आर्थिक वर्ष २०५४÷२०५५ मा बढाएर साढे पाँच मिटर पु¥याइएको हो । त्यसपछि भने सामान्य मर्मतबाहेक सडक विस्तारको काम भएको छैन । अहिले राजमार्गअन्र्तगतका सडकमा आवधिक मर्मतको काम सञ्चालन गरिएको छ ।

प्रकाशित मितिः   २० असार २०८२, शुक्रबार ०५:०३