सान्नानी
शनिवारको दिन थियो । दारी फालौँ कि नफालौँ दोधार मा थिएँ । ‘लौ फोटो खिच्ने मान्छे आइसक्यो ! लुगा लगाउनुस न’ मेरो ढोकामा हतारिएर आएकी सान्नानीले त्यसो भन्दै गएपछि निकै झस्किएँ किनकि उसको हात समाएर फोटो खिच्न मैले कुनै हालतमा सक्दैनथेँ । उसको प्रस्तावमा मैले हुन्छ त्यसरी फोटो खिचाउँला भनेकै हो, त्यो ठट्टा बाहेक केही होइन होला भन्ने बुझाइ थियो । सबैले फोटो खिचिसके पछि फोटोग्राफर लाई संकेतले फुलबारीमा बोलाउने र हात समाएर सुटुक्क फोटो खिच्ने भन्ने उसको प्रस्तावलाई यदि मैले सबेरै बुझेको भए तत्कालै कुनै बहानाले पन्छाइन्थ्यो ।
‘खोइ त लुगा लगाको ? ढिलो हुन्छ के अहिले ।’ नयाँ सारी लगाएर तयार भएकी सान्नानीले ढोकाबाट टाउको हुलेर सासले भनी । छिमेकीहरू पनि आफ्ना नानीहरूलाई सिंगार्दै फुलबारीमा फोटो खिच्न तँछाडमछाड गरिरहेका थिए । तिन्ताका रङ्गिन फोटो खिचेर धुलाउन राजधानी पठाउनु पथ्र्यो र महिना दिनपछि मात्र पाउन सकिन्थ्यो । त्यसकारण अत्यन्त महŒव थियो फोटो । घरीघरी ढोकामा आएर उसले अत्याउनु थालेपछि म हैरान भएँ र सुटुक्क निस्केर चिया पसलतिर लागेँ ।
…
अदालतका डिट्ठा शेरबहादुर कार्कीको घरमा मेरो डेरा थियो । आफ्ना दाजुभाइ नभएका कारण डिट्ठाकी पत्नी ले तिहारमा टीका लगाउने प्रस्तावलाई मैले स्वीकारे पनि दसैँ बिदामा घर गएपछि तिहार सकेर मात्रै फर्कने हुँदा उनको रहर पूरा भैरहेको थिएन । त्यही अपुरो नाताले डिट्ठिनी मलाई भाइ भन्थिन र केटीकेटी मलाई मामा भन्दै हुरुक्क गर्थे त्यसैले ती आफ्ना जस्तै लाग्थे ।
घर बिदा सकेर फर्कंदा दिदी सुत्केरी भएर छोरो पाएकी रहेछिन् । सघाउन गोरो वर्णकि एउटी उमेरदार उज्याली केटी आएकी थिइ । घर पछाडि धारो थियो बिहान दाँत माझेर मुख धुने तरखरमा थिएँ । सानो गाग्री लिएर आएकि उजेली चुपचाप उभिइ ।
‘पानी भर्ने हो ? ल भरे हुन्छ ।’
‘हजुरले सक्नुस न पहिला ।’
‘मलाई त टाइम लाग्छ ।’ मैले त्यसो भनेपछि छिर्लिङ छिर्लिङ चुरा बजाउँदै उसले धारो चलाई ।
‘घरभेटी दिदीको बहिनी हो कि… ?’
‘होइननी वहाँ त मेरी जेठी भाउजू ।’
‘ए । के नाम के होनी ?’
‘सबैले सान्नानी भन्छन् केरे.. ।’ त्यसो भन्दै उसले गाग्री कम्मरमा बोकेर गइ । भेट हुँदा मुसुक्क हाँसेर बोल्ने बानी मन प¥यो । बोलि भाषा र लय पनि मन प¥यो ।
एकदिन बेलुकी अफिसबाट फर्कदै थिएँ सान्नानी चारपाईमा बसेर तरकारी केलाउँदै थिइ, बोली ।
‘राम्रो मान्छेको त साइकल पनि राम्रै हुनि के ।’
‘तिमी पनि कम राम्री छौ र ? दाइने गालामा चिटिक सानो कोठी । केटाहरू त भुतुक्कै हुन्छन् होला ।’
‘अरु केटाका के कुरा आफ्नु कुरा गर्नुनी । कोठी त्यस्तो मन परेको छ भने लगे भैगो त ।’
‘ल मन परेको छ कसरी दिन्छ्यौ भन ?’
‘हजुरले कसरी लान खोजेको र ?’
‘त्यसै दिए त्यसै, पैसामा दिए पैसामा । अरु त के ?’
‘पैसामा त कल्पना नगरे हुन्छ । लाने नै भए दाजुसँग माग्नुस लैजानुस ।’ त्यसो भन्दै ओंठ टोकेरभित्र गइ ।
अर्को दिन उसले मसँग साइकल सिक्ने इच्छा व्यक्त गरि, सायद मन चोरेकी हो ।
‘गुनियो लगाएर यो साइकल चलाउन मिल्दैननी । महिलाले चलाउने साइकलको यो बीचमा डन्डी हुँदैन ।’
‘सिधै म दिन्न साइकल भन्नुस न, किन बहाना बनाउनु पर्यो ?’
‘तिमीले बुझिनौ मेरो कुरा । यस्तो साइकल सिक्दा तिमी लोट्यौ भने लाज जोगिन्ननी, बुझ्यौ ?’
‘कस्तो फटाहा मान्छे !’ उ लाजले रातोपिरो भएकी थिइ फेरि अर्को कुनै दिन अफिसबाट फर्कंदा झमक्क साँझ प¥यो । बाटातिर टहल्ने बहानाले सान्नानी मेरै प्रतीक्षामा थिइ भन्ने बुझिन्थ्यो ।
‘ओहो कति सबेरै फर्केको अफिसबाट ।’ उसले त्यसो भनेपछि साइकल रोकेँ ।
‘म चाँडै फर्केको भए तिमी मलाई यसरी बाटोसम्म लिन आउन्नथ्यौनी सान्नानी ।’
‘आफ्नै कामले आकोनी म । हजुरलाई लिन हो र ?’
‘ल भनन के काम हो ?’
‘दिनमा साइकल सिक्दा लाज देखिन्छ भनेको होइन ?
अहिले सिकाइदिनुस् कसैले केही देख्दैन । नत्र बिगार्दिन्छु साइकल ।’
समय र परिस्थिति हेरेर खुला रूपमा जिस्किन र चल्न खोज्थी, मानौँ हामी वर्षौंदेखि पिरती बसेका प्रेम जोडी हौँ । बोलीचालीले मात्र होइन उसको सौन्र्दर्यले पनि मलाई खिचिरहेको थियो । मेरो रसिक बानी व्यहोराको गुरुत्वले उसलाई पनि तानिरहेकै हुँदोहो, तब त हामी बीच हाँसो ख्याल ठट्टा व्यंग्य र कटाक्ष निर्बाध रूपमा चल्दै गयो ।
आपसमा धक फुक्दै गयो, केही महिनाहरू बितेर गए ।
म धारामा लुगा धुँदै थिएँ, उ पनि गफिने मेसोमा लुगा धुनु आइ । युवावयमा विपरीत लिङ्गीप्रति मिठो आकर्षणले आपसमा खिचिन्छन सबै ।
‘नाचेर पनि आफ्नो ज्यान पाल्न सक्नीरैछु भन्नी लाग्यो ।’
‘आहा कति राम्रो नाच्न जानेकी सान्नानी । कटक्कै मन खायोनी ।’
‘नाच मात्रै मन परेर के गर्नु नाच्नी मान्छे मन पर्दैन क्यारे हजुरलाई ।’
‘छाती चिरेर देखाउन मिल्ने भए देखाइदिन्थेँ म ।’
‘माया जताउन र घरबार जोड्न केही छाती चिर्न पर्दैन ।’
उसले प्राय घरबार जोड्ने कुरामा महŒव दिन्थी र मलाई नाजवाफ बनाइदिन्थी ।
अघिल्लो दिन साँझ छिमेकीको घरमा छैंटी कार्यक्रमको निम्तो थियो । सान्नानीको नाच हेर्न अति लालयित थिएँ । दोहोर जिउडाल र लचकदर शरिर । अंग प्रत्यङ्गमा कम्पन र लहर अनुहारमा मन्दमुस्कान अहाहा त्यो नाच ! सान्नानीको नाचले साह्रै मोहित बनाइदिन्थ्यो । डिट्ठाले बीस रूपैयाँ नोट झिकी टाउकोमा सिउरिदिए,अर्कोले पनि बीस रूपैयाँ हातमा नचाएर नाच्दै सिउरिदियो । मैले दस रूपैयाँ बिंडी झैं बटारेर सिउरिदिएँ । पैसा दिने व्यक्तिलाई झुकेर आदर गर्ने संस्कार अझै मीठो ।
दस रूपैयाँमा बेरेर भित्रबाट सय रूपैयाँ हालेको पाएपछि सान्नानीलाई खुसीले छोयोहोला । बाह्रसय रूपैयाँ मासिक तलब खानेले नृत्यलाई सय रूपैयाँ नगद पुरस्कर दिनु पनि चानचुने कुरा थिएन । त्यसको पनि केही कारण थियो । कोठा लिप्ने बढार्ने, लाल्टिनको सिसा पुछिदिने, कापी कलम र कागजपत्र चटक्क मिलाइदिने लगायतका काम सघाएर ऋण लगाएकी थिइ । त्यो सदासयता र जाँगरको कदर गरि पटक पटक पैसा दिन नखोजेको होइन तर सधैँ उसको उही भनाइ हुन्थ्यो कि पैसा चाहिँदैन । दिने भए हैसियत दिनुस, सिनेमा हेराउनुस, कतै घुम्न लैजानुस र आफ्नो बनाउनुस । व्यवहारले समाजले र नैतिकताले त्यसो गर्नु सम्भव थिएन । त्यसकारण म कहिले हाँसेर टार्थें भने कहिले मौन भइदिन्थेँ । उसँगका अन्तरङ्ग र आनन्दी क्षणका धेरै सम्झनाहरू थिए मसँग ।
हप्तादिनको फिल्ड काज खटिएको थिएँ, फर्की आउँदा नरमाइलो लाग्यो, घर आँगन सुनसान भयो । वातावरण पनि उजाडजस्तै देखियो, किनकि डिट्ठाले सान्नानीलाई पहाडमा पु¥याउन गएछन् । ती दिनहरू उज्यालै थिए तर ग्रहण लागे जस्तै भैदिए । जुनेली हुँदाहुँदै पनि निष्पट्ट झैं लागे रातहरू । वर्ष दिनसम्म भावनात्मक प्रभावमा थिएँ तब पो सम्झना धेरै छोडेकी रहिछे उसले ।
सम्झना आउँछ । बेलुका फर्कंदा प्रायः चिनी हालेर कागति पानी बनाउँथी सानो कित्लीमा । एउटा लामो गिलासमा भर्दै खान दिन्थी, स्वर्गीय आनन्द लाग्थ्यो ।
एक दिन थप अर्को गिलास पानी खान कहर गर्दै थिइ ।
‘मैले खान्न भन्दै त छु । जबरजस्ती हुन्छ ? खाउ कि फाल मतलब छैन मलाई ।’
‘किन फाल्नु सर्बत पानी ! सस्तो छ र ?’ त्यसो भन्दै उसले त्यही गिलासबाट पानी खाइ ।
‘के तमासा गरेको होला ।’ अरु मैले केही भन्नै सकिन ।
‘जुठो खाएपछि माया बढ्छ भन्छन् । बढ्ने होकि बितडा परी चौधारा रोएर बस्नुपर्ने हो थाहा छैन ।’
‘नहुने कुरामा एकोहोरो ढिपी गरेको छ । अरु कुरा गर्न सकिन्न ?’
‘ढिपी होइन बाबै ! त्यही कोठामा गएर तुर्लुङ्ग झुन्डिन सकिनछु भने त केनि !’
‘रमाइलो कुरा गर्नु छैन । जहिले पनि मर्ने र झुण्डिने धक्कु लगायो, सतायो ।’ त्यति भन्दै उसका कुरा नसुनेर म कोठामा गएँ । कहिलेकाहीँ गाउँघरबाट कोही केटाहरू पनि आउँथे, फूल फुलेको ठाउँमा भमरा आउने नै भए । तिनीसँग खुलेर नबोल्ने, ख्याल ठट्टामा झर्कने गरेको पनि मैले बुझिरहेको थिएँ । सबैसँग उसको समान व्यवहार देखिदैनथ्यो । मेरा संगतका साथीहरूको उपस्थितिमा पनि उसको प्रस्तुति भिन्न हुन्थ्यो । खुलस्त बोल्न नचाहने ओझेल पर्ने, कुराकानीमा रूचिको सट्टा आडम्बरी देखाउने जस्ता गतिविधिले उसलाई बुझ्न अलि कठिन लाग्थ्यो ।
सान्नानी छैन तर सम्झनाहरू वरिपरि छन आँखा भरीभरी छन् । यस्तो लाग्यो उसको सम्झनामा लपेटिएको छु ।
छिमेकी प्रेम दाइले एकदिन मलाई पाहुना बोलाएका थिए । उनी पनि म जस्तै सरकारी कर्मचारी थिए, हामी पिउने बहानामा कहिलेकाहीँ जुट्थ्यौँ ।
‘सान्नानी र तपाईंको धेरै हल्ला फैलिएको छ महेशजी !’ प्रेमले एकैचोटि त्यो प्रसंग उठाएपछि अलि अप्ठेरोमा परेँ ।
‘हान्नेको लट्ठी छेक्न सकिन्छ दाइ बोल्नेलाई त के गर्न सकिन्छ र । एउटै घरमा भएपछि हाँस्ने बोल्ने भैहाल्छ कुरा काट्ने मान्छेलाई मसला पुगिहाल्दो रहेछ ।’
‘आ ! बिहा गरे हुन्छ जोडी असाध्यै राम्रो देखिन्छ यार ।’
‘कस्तो कुरा गर्नुहुन्छ दाइ ! एक त म बिहे भइसकेको मान्छे । जीवनभर मेरो बीस ठाउँमा सरुवा होला जहाँ गयो त्यहीँ बिहे गर्ने त ?’
‘ए ! बिहे भैसकेको हो र … ?’
‘मेरो तीन वर्षको छोरो लिएर मेरी आमा मलाई भेट्न यहीँ आउनुभएको थियोनी । दुईदिन बसेर जानुभयो ।’
‘ए हो र ! उमेर कति भयो र तपाईंको ?’
‘बूढो भैयोनी दाइ अब पच्चीसमा टेक्दैछु ।’
‘ए मभन्दा सात वर्ष कान्छो । अनि तपाईंको छोरालाई देखिन र सान्नानीले ?’
‘किन नदेख्नु ! आमासँग चिनजान भयो कुराकानी भयो । फुच्चेसँग हाँसीमजाक चल्यो ।’
सान्नानीले धारामा छोराको सिङान फालेर हातमुख धोइदिएको, वरपरसम्म घुमाउँदै गफिँदै, उसलाई समाउँदै उचाल्दै रत्तिने र माया जताउने गरेको जस्ता कुरा मैले प्रेमलाई भन्दै भनिन् ।
‘छोरा देख्दादेख्दै पनि किन त्यसो गरेकी होली त्यसले ?’
‘मैले सम्झाउँदा झगडा गर्छे हजुरहरूले पनि सम्झाइदिनु होला दाइ ।’
‘बिहा गरेको, बच्चा भएको थाहा पाएपछि त मायाजाल तोडिनुपर्ने हो गाँठे !’ उनले भनेको कुरामा म निकै घोरिएँ मेरो त छोरो नै सशरिर उपस्थित थियो । तर पनि उस लाई कुनै प्रभाव परेन । सबैको मन जितेर चित्त बुझाउन सक्छु भन्ने आफ्नो पुरानो ढिपी छोडिन । म आजित भैरहेको थिएँ ।
शुक्रवार सबेरै अफिसबाट फर्कंदा चकित परेँ । कसैले सरप्रराइजमा उपहार दिए झैं भैरहेको थियो । चार जना छिमेकी महिलाका बीच चारपाइमा उता फर्केर सान्नानी बात मारिरहेकी थिइँ । पछाडिबाट चिन्न पनि कुनै कठिन भएन किनकि देख्नका लागि आँखा तिर्खाइरहेका थिए ।
‘ओहो सान्नानी कहिले आयौँ ?’
‘अघि भर्खरै… !’ मुस्काएर मेरो जवाफ दिँदानदिँदै एक्कासी जरुवा रसाए झैं बरर उसका आँखाबाट आँसु पोखियो । झट्ट उता फर्केर सप्कोले पुछि । म हैरान भएँ, अरु सोधपुछ गर्ने कुनै वातावरण नै भएन, सबै मौन भए ।
‘बा आमाको मायाले सतायो कि के भयो त सान्नानीलाई यहाँ आउने बित्तिकै ?’
त्यसो भन्दै म आफ्नो कोठामा पसेँ । उ दुब्लाएकि थिइ । अरुका अगाडि उसले त्यसरी आँसु बगाएपछि मलाई पनि अफ्ट्यारो लाग्यो । ती देख्नेहरूले अवश्य मनमा केही सोचे होलान् तर हृदय पग्लेर झर्ने आँसु निसंकोच हुन्छ अनायासै झरिदिन्छ ।
त्यसरी मलाई अप्ठ्यारो पार्ने गरि किन रोएको भनी सान्नानीलाई सोध्नेनै छु । ‘कोही कोही छोरीमान्छेको मन कमलो हुन्छ कसैलाई देख्ने बित्तिकै आँसु झरिहाल्छ ।’
उसको जवाफ यस्तै किसिमको हुनेछ किनभने उसँग सवाल जवाफ गरेर भुक्तभोगी भएको छु । सान्नानी फर्की आउँदा मन जसरी रमाएको थियो त्यसैगरी घबराएको पनि थियो । उ धक फुकाउँदै झ्यामिदै निसंकोच कुरा गर्न खोज्छे मलाई संकोच लाग्छ । कुरा थपेर मान्छे बदनाम गर्न तुलिन्छन् कि भन्ने डर पस्छ । धोका दिए झुन्डिदिन्छु भन्ने रटान लगाउँछे । धोका र इमानदारीको यो परिभाषा कसरी सम्झाउनु ! कहिलेकाहीँ तनावमा निराशा पनि थपिन्छ र दिकदार बनाउँछ ।
…
फोटो नखिचेको निहुँमा उ मसँग निकै रिसाएकी थिइ । म बिहान आगनामा निस्कँदा बोल्नु त परै जाओस् हेर्दा पनि हेरिन । नहेरेर पानी भर्न गइ, नहेरेरै आँगन बढारी , नहेरेरै पानी छम्किइ । यस्तो लाग्यो मानौं उसले मौनव्रत लिएकी छ । हेर्न त व्रतले पनि रोक्दैन तर मानौँ हेर्नू हुँदैन हेरेपछि मैले लतार्छुकी तब त छेउछाउमा उभिएको छु ।
बेलुका म अफिसबाट फर्कंदा सदा झैं उ चारपाईमा बसेर तरकारी केलाइ रहेकी थिइ । टिर्लिङ् टिर्लिङ् मैले घण्टी बजाएँ । हान्ने भैंसीले झैं मर्लक्क पारेर मेरो साइकललाई आँखा तरि । त्यसोगर्दा पनि राम्री देखिएकी थिइ किनकि उ सुन्दर थिइ ।
खाना खाएर आउँदा ठूलोसाँझ ढलिसकेको थियो । हातखुट्टा धुन धारामा थिएँ, उ पनि सानो बाल्टी लिएर पानी भर्न आइ ।
‘भर पारेर धोका दिनी धोखेबाज काठा…. ।’ सासले बोलेर आक्रोश पोख्दै मलाई झम्टिइ । साँझको मौका पारेर यस्तो एकान्त खोजेकी रहिछ रिस पोख्नलाई ।
‘भालुले झैं झम्टिन लाज मान्दिस् उत्ताउली । छोड् मलाई ।’
‘तँ काठाले रुवाउनी मैले लाज मान्नी !’ बल्लतल्ल उसको आक्रमण बाट उम्केर म कोठामा पसेँ ढोका ढप्काएर चुकुल ठोकेँ ।
ऐना हेरेको त बिजोग पारिछ । कपाल ठाउँ ठाउँमा पोको परेको थियो किनकि दुईहातले कपाल कुइँयाएकी थिइ ।
नाकमा कोतरिएको थियो सायद नङले होला किनकि उसले चिथोरेकी थिइ । माटोले लिपिएको भित्तामा फेरि आँख डुलाएँ, जहाँ लेखिएको थियो, राम्रो मान्छेको सुत्ने कोठा । मायाको संसार । काँ छ माया जोख्ने तराजु । के साइनो गास्नी । यी भित्ते लेखनका बारेमा कोठामा आउने साथीहरूले घरीघरी जिज्ञासा नराखेका पनि होइनन्, तर सान्नानीले लेखेकी हो भनी ठाडै भन्न नमिलेर छिमेकबाट केटाकेटी आइरहन्छन् तिनले लेखेका हुन भन्ने किसिमको झुट कुराले ढाकिन्थ्यो सत्य व्यहोरा । व्यर्थका जस्तै लाग्ने ती अक्षर मेट्न मनले मानेन । कोठा लिप्न र बढार्नका लागि एउटा साँचो घरभेटीलाई दिनुपर्ने यता तिरको परिपाटी रहेछ । सान्नानी आएपछि मेरो कोठा संधै सफा रहन्थ्यो ओत्छ्यान र गुन्द्रीमा छरिएका लुगा समेटिएर झोकमा राखिन्थे । धेरैचोटि त्यसो नगर्नु है भने पनि मेरो आग्रह कहिल्यै टेरिन, कसले काट्न सक्ला मेरो मायाको जाल भन्ने जवाफ दिन्थी । नाकमा घाउ चह¥याउन थाले पछि मल्हम दलेँ । दूध दिने गाइको लात्ती सहनुपर्छ भन्ने उखान मेरो नाकमा चरितार्थ भएको थियो ।
झुलुङ्गोमा बच्चा सुताएर नन्द भाउजू एउटा चारपाईमा गफिएका थिए । होटलमा खाना खानुपर्ने हुँदा अफिसको लागि म बिहान अलि सबेरै हिंड्थेंं ।
‘दिदी यो पैसा राख्नुस त ।’ घरभाडा बुझाएँ ‘ए । ओहो नाकमा के भयो भाइ ?’ पैसा बुझिन् ।
‘हिजो लुगा उठाउँदा थाँक्राले कोतर्यो दिदी ।’
‘धन्न आँखामा चोट लागेन छ… ।’
‘थाँक्राले त आँखै निकाल्न खोजेको थियोनी दिदी ।’
‘देखिने ठाउँको घाउ, अफिसमा सबैले सोध्छन् आज ।’
‘सोधेछन् भने बोक्सीले चिथोरेको भन्दिन्छु सबैलाई ।’
मैले त्यसो भन्दा चोरआँखाले पुलुक्क हेरि मलाई । म साइकल चढेर अफिस हिंडे टिर्लिङ् टिर्लिङ् घण्टीको आवाजले उसलाई गिज्याउँदै ।
अर्को साँझ धारामा गएँ बाल्टी नै थिएन घोर अचम्म लाग्यो । डोरी र बारतिर पनि कसैले लुगा सुकाएको देखिएन । नबोल्ने सान्नानीलाई सोध्नु पो कसरी ! बिदा परेकोले बाल्टिमा लुगा भिजाएको थिएँ, साथीहरू आएर फिल्म हेर्न जाने प्रस्ताव राखे । लुगा धुनु त्यत्तिकै भयो ।दिदीलाई सोध्नुपर्ला भनी ढोका खोलेको थिएँ कि लुगा धोएर मात्र होइन सुकाएर पनि झोकमा राखिएको थियो ।
भित्तामा अर्को ठाउँ पनि कोरेर लेखिएको थियो अक्षर ।
बोक्सीले चिथोरेको नाकको घाउ
धेरै च्यातेर दुनियाँलाई नदेखाउ ।
एकछिन स्तब्ध भएँ । उ पोल्ने मात्रै होइन सेक्ने हितकर आगो पनि भैरहेकी थिइ, एकातर्फ न्यानो दिइरहेकि थिइ ।
कतिपय कुरा यस्ता हुन्छन् कि शोभाव मनपर्छ भनेर कसैसँग मुखले बोल्नै पर्दैन । व्यवहार बोलिरहेको हुन्छ, मौनता बोलिरहेको हुन्छ, आँखा बोल्छ, आँसु बोल्छ र आवेग पनि बोलिदिन्छ । त्यसरी सान्नानीले धौबिर्सनु बनाइदिएकी थिइ समय परिवेश । उसको मोहले मेरो मन भत्किन्छ कि भन्ने डर पनि थियो मभित्र । पछिल्ला दिनमा नजिकबाट झ्यामिन थालेपछि कसैले देखेर कुरा काट्छन कि बदनाम हुन्छकी भन्ने जलत्राही पनि छँदै थियो ।
‘सेती गाई पानी खान गइ राती भएर आइ के हो ?’
‘सेलरोटी हालेको ।’
एउटा साँझ भान्जी पार्वतीसँग मेरो गाउँखाने कथा चली रहेको थियोे । हाते पंखाले हावा हम्किदै आएकी सान्नानी पल्लो चारपाईमा बसेर पंखा मतिर हुत्याई । मैले कुनै वास्ता गरिन त्यो पंखा बरु पार्वतीले उठाएर हम्किइन् ।
‘तेरो मामालाई हम्किदे तातो रिस अलि सेलाउँछ कि ।’
‘उसकै छ सितलो रिस ! आतंककारी !’
‘कति जाति व्यहोरा छ धोका दिनिको । फोटो खिच्नी मन्छे कस्तो रिसायो मसँग । जहिले पनि तर्किन खोज्नी, मैले भनेको केही नहुनी । जात जान्थ्यो र ?’ उ फेरि बाझ्न थाली ।
‘किन हो के बुझी बुझी पनि बुझ पचाउने ?’
‘त्यसोभए मेरो इज्जतमाथि किन खेलाँची गरेको ?’
‘के खेलाँची गरेँ मैले ?’
‘लाज लाग्दैन के गरेँ भन्न ?’ उसको भनाइ गमेंर हेरेँ, मेरो कोठा र धारातिर झमक्क साँझमा र झिसमिसे बिहानीमा भेट्न खोज्थी । हात समाउने अंगालो मार्ने र चुम्बन गर्न खोजेपछि म निर्जीव ढुंगो मुढो होइन, पुरुष मन भएको व्यक्ति हुँ । मेरा हातहरू काबुमा रहेनन् होला तर होश फालिएन । क्रियाको प्रतिक्रिया अवश्य भयो होला तर विवेकहीन हुन सकिएन । त्यसलाई नै इज्जत माथिको खेलाँची भन्दिने हो भने कसको के लाग्छ !
कुनै दिन धाराको कब्जा फुत्केको हुँदा मर्मतमा जुटि रहेकोे थिएँ । बाँटामा कपडा लिएर सान्नानी आइ पाखा लागेका कारण अलि अलग्गै बसि ।
‘सान्नानी सुत्केरी भइछन् की के हो !’ मेरो जिस्कने बानी ।
‘सुत्केरी हुने गराइयाथ्यो र ?’ त्यसो भन्दै आँखीभौँबाट हेरि मलाई । हेराइमा लज्जाबोध थिएन बरु थियो चुनौती र लल्कार । जवाफ मसँग नभएको होइन, विषय लम्बिदै जान्छ उ झन् झन् हाबी हुन्छे । त्यसकारण मलाई आफ्नै बोली फाँसो भैरहेको थियो । मनमा कहिले अनावश्यक कुरा खेल्थे निकैबेर सम्म ।
पछिल्लो पटक साँझ खाना खाएर आएपछि मलाई डिट्ठाले भित्र बोलाए । कहिलेकाहीँ उनले पनि पिउन बोलाउने गर्थे । म भित्री जाँदा डिट्ठा खाटमा थिए, सान्नानी भूइँमा गुन्द्रीमाथि घोसो मन्टो पारेर रोइरहेकी थिइ । केही बुझ्न सकिएको थिएन ।
‘के हो महेश शर्माको यो तरिका ? जसको काँक्रा खाने उसैको थाङ्क्रा भाच्ने ? यो पटक्कै ठीक भएन ।’
‘कुरा बुझाउनुस न भिनाजु किन तातिनुहुन्छ ?’
‘छोराछोरी भएका मान्छेले अर्काकी छोरी बहिनी ताक्ने ?
तपाईंलाई त मतलब भएन । छोरी मान्छेको भविष्य बर्बाद हुंँदैन ? तपाईंले डेरा सार्नुपर्छ ।’
‘डेरा सरौंला, तपाईंको घर फोकटमा बसेको होइननी ।’
‘दुई तीन दिनमा मेरो घर खाली गर्दिनुस् । अरु कुरा चाहिँदैन ।’
मेरो केही दोष छैन, अनयासै मलाइ समाउने, टाँसिने बाटो छेक्ने तिम्रै बहिनीले हो । बिहे गर भनेर कचकच गर्ने पछि लाग्ने, मरिहत्ते गर्ने पनि तिम्रै बहिनी हो भनेर मेरो मनमा उम्लेका कुरा मैले भन्न सकिन । किनकि द्वन्द्वको आगोमा उसलाई झोसेर उम्कन मनले मानेन । त्यसकारण म मौन भएँ, तर मौनताले मलाई अपराधी साबित गरिरहेको थियोे ।
‘मलायको लाहुरे माग्न जाँदा भागेर आउने ? लाज घिन पचेकी, नकचरी कुकुर्नी… ।’ डिट्ठाले सान्नानीमाथी पनि आक्रोश पोखिरहेका थिए ।
म सान्नानीलाई माया गर्छु बिहे पनि गर्छु भन्ने बित्तिकै यो मामिला ठेगान लाग्छ । तर मैले कुनै हालतमा त्यसो भन्न सक्दैनथेँ । डिट्ठाको खप्किले मलाई चार दिन सताउला तर दुई वटा बिहा गरेपछि परिस्थितिले जीवनभर सताउँछ ।
कचहरी छोडेर म कोठामा गएँ । लालटिनको साँचो घुमाएर बत्ती चहकिलो पारेँ । श्रीमतीले पठाएको पछिल्लो चिठी सिरानीमुनि थियो झिकेर फेरि पढेँ ।
….
खेतीपाती राम्रै छ । पानीको अलिकति दुख्ख छ काम पनि चलेकै छ । काखकी छोरी हाँस्ने खेल्ने भैसकी मुखमा हेरि मुसुक्क हाँस्दा हजुरकै झल्को आउँछ । आजभोलि किन होला नजाती सपना मात्रै देखिन्छन् ।
सपना पनि पापी हुन्छन् रुवाउँछन् बेसरी
शिरका श्रीमान परदेश मन बुझाउँ कसरी !
साह्रै सौंराइ लागेको छ, छोराछोरी पनि आत्तिरहेका छन सम्झेर छिट्टै आउनुहोला । छोराले यो तल हजुरलाई चिट्ठी लेखेको अरे राम्ररी पढ्नुहोला ।
छोराले लेखेको चिठी अक्षरमा होइन बाङ्गाटिङ्गा रेखाहरू मा थिए । पिता हुनुको नाताले रेखाको अर्थ बुझ्ने सामथ्र्य थियो मसँग । बुवा हजुर झट्टै आउनुहोला, मलाई कस्तो माया लागेको छ । बहिनी पनि ठूली भइसकी मलाई दादा भन्छे । मलाई र बहिनीलाई राम्रो नाना पनि ल्याइदिनु होला… । लिपीविनाका धर्साले हिउँसरि पग्लियो मेरो मन । त्यही चिठीले आँखा छोपेर आँसु थाम्न खोजेँ, सकिएन भेल छेक्न । धारातिर गएर मुख धोएँ, कालो आकाशमा छरिएका तारा हेरेँ । कुन साइतमा जागिर खान आएछु र दुर्दान्त दिनका पासोमा परेछु । नखाएको बिषले भाउन्न पारेको थियो । जीवन सिकाउने कुनै पाठहरू कति कठोर हुँदारहेछन् ! अपमान सहेर बस्नुपर्दो रहेछ, भित्र गहिरो दुख्ने अदृश्य घाउ बोकेर हिँड्नु पर्दोरहेछ ।
रातभर निन्द्रा परेन । तयार पारेको भिर्ने झोला बोकेर म झिसमिसेमा निस्किएँ । अलि पर पुग्दा कसैले मुलढोका खोलेको सुनेर फर्कि हेरँ । सायद सान्नानी उठेर धारातिर जाँदैहोली त्यतै कतै उसले मेरो उपस्तिथि खोज्नेछे ।
‘तिम्रो माया र समर्पण बुझेको छु सान्नानी, माया बाँडे पनि जीवन बाँड्न असमर्थ छु भन्दाभन्दै तिमीले व्यर्थमा ढिपी ग¥यौ र पो झन गहिरो खाडल खन्यौँ ।’
उज्यालो डाक्न घर घरमा भालेहरू बासिरहेका थिए । उज्यालो छलेर नेटो काट्न मेरा पाइलाहरू निरन्तर लम्की रहेका थिए । यो ठाउँ र सान्नानीलाई छोडेर जति टाढा गए पनि बिर्सन सक्ने छैन जीवनभर । सम्झनाले छोड्ने छैन सताउन बाँचुञ्जेल ।
– उमालाल आचार्य
प्रकाशित मितिः २१ असार २०८२, शनिबार ०८:५३
उमालाल आचार्य ।