विद्युतको समस्या
कर्णाली प्रदेशमा विद्युतको समस्या छ । सबै ठाउँमा विद्युत लाइन पुगेको छैन । पुगेको ठाउँमा पनि पर्याप्त छैन । अनियमित लोडसेडिङको मारमा नागरिक छन् । तर यसको सुधार र स्तरोन्नतिको काममा भने ढिलाइ भइरहेको छ । विद्युतको सहज पहुँच नहुँदा यहाँ विकासका अन्य पूर्वाधार निर्माण र विस्तारमा समेत समस्या भइरहेको छ । जसका कारण कर्णाली प्रदेशको विकास पछि परेको छ । यति हुँदाहुँदै पनि कर्णालीको विद्युतिकरणमा गति आउन सकेको छैन । ढिलाइ भइरहेको छ । राज्यले गम्भिरतापूर्वक लिएको छैन । कर्णालीमा विद्युतीकरणको गति बढ्न नसक्नु यहाँको विडम्बना हो । यसले यहाँको विकासलाई थप पछि धकेलिरहेको छ । गर्मीयामसँगै सुर्खेतसहित कर्णालीका जिल्लामा अघोषित विद्युत कटौती र भोल्टेज कम हुँदा उद्योग व्यवसाय सञ्चालनमा समेत समस्या हुन थालेको छ ।
विद्युत अनियमित हुँदा नागरिक मर्कामा छन् । पूर्वजानकारीविना नै विद्युत कटौती हुने गरेको छ । दिनमै दर्जनौं पटक विद्युत जाने गरेकाले समस्या भइरहेको गुनासो आम नागरिकको छ । विद्युतिकरणका लागि प्रयास नै नभएका भने होइनन् । तर त्यस्ता प्रयासहरू प्रभावकारी भइरहेका छैनन् । विद्युतीकरण विस्तार गर्ने र अहिले विद्युतको पहुँच पुगेको ठाउँमा नियमित गर्नेतर्फ ध्यान दिन जरुरी रहेको सरोकारवाला बताउँछन् । सुर्खेतसहित कर्णालीका अन्य जिल्लाहरूको विद्युत समस्या हल गर्न एकमात्र विकल्प ठानिएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन विस्तार योजना अघि सारेको धेरै वर्ष बितिसक्यो । तर अझैसम्म उक्त योजना कार्यान्वयन हुन सकेको छैन । निर्माणको काम थालेको लामो समय भइसक्दा पनि आयोजनाले अपेक्षित प्रगति गर्न सकेको छैन । प्रशारण लाइनको काम भने भइरहेको छ । बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध गर्दै आएका छन् । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिका–१, गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्ने छ तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् ।
पछिल्लो पटक विवाद समाधान गर्नका लागि प्रदेश तथा संघीय सांसदसमेत प्रभावित क्षेत्रमा पुगेर स्थानीयसँग छलफल गरेका छन् । स्थानीयले भने कुनै पनि हालतमा बस्तीबाट विद्युत विस्तार गर्न नहुने बताइरहेका छन् । गृह मन्त्रालयले सुरक्षा घेराबाट विद्युत विस्तारको काम अघि बढाउन भनेपछि केही काम भएका छन् । विवाद नै विवाद हुँदा आयोजनाले अपेक्षित रूपमा काम गर्न सकेको छैन । कर्णाली प्रदेश विद्युत कटौतिको मारमा परिरहेको छ ।
प्रकाशित मितिः ११ असार २०८२, बुधबार ०६:०३
सम्पादकीय ।