अन्योलमा राष्ट्रिय खेलकुद
निर्धारित मितिमै सञ्चालन गरिएको भए दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ६ महिनाअघि नै सम्पन्न भइसक्ने थियो । तर तीन पटक म्याद सारिएको प्रतियोगिता अब कहिले हुने भन्ने टुँगो नै छैन । प्रतियोगिता नै अन्योलमा परेको छ । अहिले त प्रतियोगितालाई लिएर चर्चा हुन समेत छोडेको छ । २०७९ कार्तिक ३ गते पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदले दुई वर्षपछि कर्णालीमा भेट्ने वाचा गर्दै विश्राम लिएको थियो । त्यसबेला दशाैँ राष्ट्रिय खेलकुदको मिति २०८१ मंसिर २ देखि ९ गतेसम्म तोकिएको थियो, तर अहिलेसम्म दशाँै संस्करण हुन सकेको छैन । यसबिच तीन पटक मिति तय भएर पनि राष्ट्रिय खेलकुद सरेको सरैकै छ ।
तीन पटक स¥यो तर फेरि कहिलेलाई तोकिने हो टुँगो छैन । अझ हुन्छ कि हुन्न भन्ने अन्योल पनि कायमै छ । नेपाली खेलकुदको सबैभन्दा ठुलो प्रतियोगिता राष्ट्रिय खेलकुदमा व्यक्तिगत, समूहगत खेलका खेलाडी, प्रशिक्षक र खेलकर्मी यो महोत्सवमा समेटिन्छन् । देशभरिका खेलाडीको जमघट हुने भएकाले राष्ट्रिय खेलकुद नजिकिँदा नेपाल खेलकुदको उत्साह हेर्नलायक हुन्छ । २०३८ सालमा पहिलो पटक आयोजना भएको राष्ट्रिय खेलकुद प्रत्येक दुई वर्षमा आयोजना गर्ने प्रावधान रहेको छ । यस हिसाबले अहिलेसम्म राष्ट्रिय खेलकुदको २२ संस्करण हुनुपर्ने हो । यद्यपि, निर्धारित समयमा कहिल्यै गर्न नसक्ने विद्यमान समस्याका कारण अहिले कर्णाली प्रदेशमा हुने भनिएको राष्ट्रिय खेलकुदको बल्ल दशाैँ संस्करण हुँदैछ । त्यसको पनि मिति तय गर्न सकिएको छैन ।कर्णालीमा गर्ने भनेर पोखराबाट तोकिएको मिति सुरुवातमै अलपत्र प¥यो । दोस्रो पटक तोकिएको चैत २३ देखि ३० गतेसम्म पनि नहुने भयो । त्यसपछि २०८२ जेठ ३ देखि १० गतेसम्म घरेलु खेलकुदको महाकुम्भ हुने भनी अर्को मिति तोकियो । त्यो मितिमा पनि भएन । यसअघि मिति सर्दा अर्को मिति तोक्ने गरिन्थ्यो । अहिले नयाँ मिति पनि तोकिएको छैन । प्रतियोगिताका लागि लोगो र मस्कट पनि अनावरण भइसकेका छन् । विभिन्न उपसमिति गठन भइसकेका थिए । तयारीलाई तीव्रता दिन वीरेन्द्रनगरमा दशाँै राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको सचिवालय पनि स्थापना भइसकेको थियो तर पनि प्रतियोगिता हुन सकेन ।
सरकारले अन्तिम समयमा पूर्वाधार तयार नभएको, बजेट अभाव, छनोट चरण नसकिएको, मौसमको प्रतिकूलता, जेठ महिनामा सुर्खेतमा गर्मी हुने, खानेपानीको अभाव, विद्युत आपूर्तिमा समस्या रहने, आवासको समस्या हुने, खेलाडी, प्रशिक्षक र निर्णायकको संख्या निर्धारित हुन नसकेको लगायतका कारण देखाएर तेस्रो पटक राष्ट्रिय खेलकुदको मिति सारेको हो । विभिन्न बहाना देखाएर राष्ट्रिय खेलकुद सार्नुले खेलकुदप्रति सरकारको गम्भिरता नभएको देखाउँछ । त्यसैले पुनः मिति निर्धारण गरेर प्रतियोगिता आयोजनामा ध्यान दिन जरुरी छ ।
प्रकाशित मितिः ९ असार २०८२, सोमबार ०६:०३
सम्पादकीय ।