उपेक्षामा दलित संग्रहालय

सुर्खेत: अर्थ मन्त्रालयबाट बजेट निकासी नहुँदा योजनाको रकम भुक्तानी हुन सकेको छैन । पूर्वी सुर्खेतमा निर्माण भइरहेको दलित संग्रहालयको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको भएपनि भुक्तानी नभएको हो । संघीय सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन नगरेपछि भवन निर्माणको काम सकिनलाग्दासम्म पनि भुक्तानी नभएको भेरीगंगा नगरपालिकाले जनाएको छ । पटक–पटक बजेट माग गरिएपनि बजेट प्राप्त भएको छैन । यसअघिका वर्षहरूमा पनि न्यूँन बजेट विनियोजन हुनेगरेको थियो । यो वर्ष बजेट नै विनियोजन भएन ।
दलित समुदायको ऐतिहासिक संस्कृति तथा पहिचान जोगाउन संग्रहालय निर्माण थालिएको थियो । पहिचान संरक्षणसँगै ग्रामीण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरकारले दलित संग्रहालय निर्माण थालेको हो । अहिले बजेट नहुँदा भवन निर्माणको काम अघि बढाउन नसकिएको नगरपालिकाले जनाएको छ । भवन निर्माणको काम भने अन्तिम चरणमा पुगेको नगरपालिकाका इन्जिनियर सिद्धान्त पाण्डेले बताए । निर्माण कम्पनीले भुक्तानीका लागि फाइल पेस गरेको लामोसमय भइसक्दासमेत भुक्तानी दिन सकिएको छैन । हालसम्म भवन निर्माणको ९० प्रतिशत काम सकिएको छ । अब १० प्रतिशत मात्र काम गर्न बाँकी छ । भवनको फिनिसिङ्गको काम मात्र बाँकी छ ।
चालु आर्थिक वर्षमा सरकारले बजेट विनियोजन नगरेको तथा यसअघि गरेको कामको समेत भुक्तानी दिन नसक्दा काम अघि बढाउन नसकिएको पाण्डेले बताए । भवन निर्माणको बाँकी काम अघि बढाउन तथा भुक्तानीका लागि बजेट माग गरिएको उनको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बजेट मागको फाइल पटक–पटक पेस गरिएको उनले जानकारी दिए । निर्माण कम्पनीले हालसम्म साढे दुई करोड बराबरको काम गरिसकेको छ । अहिलेसम्म करिब एक करोड मात्र भुक्तानी पाएको छ । यसअघि नै गरेको कामको भुक्तानी नहुँदा अहिले अन्य काम ठप्प छन् । विभिन्न समयमा मन्त्रालयमा फाइल पेस गरिएको पाण्डेले बताए । उनका अनुसार यो वर्ष मात्र पाँच पटक फाइल पेस गरिएको छ ।
पुर्वी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. ८ मा संग्रहालयको भवन निर्माणको काम थालिएको हो । दलित समुदायको कला, संस्कृति, परम्परागत रीतिरिवाज झल्काउने उद्देश्यले संग्रहालय निर्माणको काम थालिएको भेरीगंगा नगरपालिकाले जनाएको छ । उक्त संग्रहालयबाट दलित समुदायको बारेमा अध्ययन, अनुसन्धान गर्न र उनीहरूको सीपबाट थप उद्यम सिर्जना गर्न सकिने लक्ष्य राखिएको छ । संग्रहालयलाई औद्योगिक क्षेत्रको रूपमा पनि विकास गर्न सकिने भेरीगंगा नगरपालिकाले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा संग्रहालय निर्माणको काम थालिएको हो । नगरपालिकाको ३५ प्रतिशत लगानी रहनेछ । केही पूर्वाधारका काम नगरपालिकाले गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तीन करोड २० लाख लागतमा संग्रहालयको भवन निर्माण थालिएको हो । २०७८ असोज १० गते बाट संग्रहालयको भवन निर्माणको काम थालिएको हो । २०७८ असोज १० देखि २०८० असार ३० गतेसम्म भवन निर्माण सम्पन्न गर्नेगरी नेपाल मेगा, लामा प्रगति, सुवास जेभी वीरेन्द्रनगरसँग ठेक्का सम्झौता गरिएको थियो । जेभीसँग नगरपालिकाले तीन करोड २० लाख ७३ हजारमा भवन निर्माणको सम्झौता गरेको हो । दुई वर्षमा भवन निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको भएपनि कोरोना महामारीलगायतका कारण ढिलाइ भएको जनाइएको छ । तर अहिले भवन निर्माणको काम ९० प्रतिशत सकिएको छ ।
भवन निर्माणको म्याद थपिएको नगरपालिकाले जनाएको छ । २०८१ पुस मसान्तदेखि २०८२ असारसम्म म्याद थप गरिएको हो । संग्रहालयको, डेकुरेशन, सजावटलगायतका धेरै काम बाँकी नै छन् । एकातर्फ म्याद सकिँदै छ भने अर्कोतर्फ काम गरेकै भुक्तानी दिन सकिएको छैन । संघीय सरकारले पर्यटन पूर्वाधार प्राथमिकतामा राखेको भएपनि पर्याप्त बजेट विनियोजन नहुँदा समस्या भएको हो ।
प्रकाशित मितिः ९ असार २०८२, सोमबार ०६:०६
साझा बिसौनी ।