अघि बढ्दै आयोजना
वीरेन्द्रनगर उपत्यकामा खानेपानी ल्याउने बृहत आयोजनाका रूपमा अघि सारिएको भेरी लिफ्टिङ आयोजनाको पहुँच मार्ग विस्तार गर्न बाटो खुलेको छ । सरकारले जग्गा भोगाधिकार गर्न अनुमति दिएसँगै पहँुचमार्ग विस्तारको बाटो खुलेको हो । मन्त्रिपरिषद्को बैठकबाट आयोजनाको मुख्य क्षेत्र जोड्ने पहुँचमार्ग निर्माणपूर्वको जग्गा भोगाधिकारको अनुमति दिने निर्णय गरिएको छ । संघीय सरकारले आयोजनाको मुहान तथा पानी प्रशोद्धन केन्द्रसम्म पहुँच मार्ग विस्तार गर्न लेकवेशी नगरपालिका वडा नंं. १० स्थित राष्ट्रिय वनको १.१५ हेक्टर जग्गा प्रयोग गर्न अनुमति दिएसँगै आयोजनाले निकास पाएको हो । उक्त निर्णय अनुसार जग्गा भोगाधिकारको बाटो खुलेको हो । जग्गा भोगाधिकारको अनुमति प्राप्त भएसँगै फिल्डस्तरमा मुआब्जा लगायतका आवश्यक प्रक्रिया पूरा गरी रुख कटान प्रक्रिया सुरु हुने छ ।
यसअघि आयोजनालाई वीरेन्द्रनगर नगरपालिका वडा नं. ८, ११ र १२ तथा लेकवेशी नगरपालिका वडा नं. १० मा पर्ने ३.२ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग अनुमति प्राप्त भइसकेको छ । नगरपालिकाले मुआब्जाको रकम वन मन्त्रालयलाई तिनुपर्ने छैन । हालै संघीय सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई प्रयोग गर्न दिइने जग्गाको शुल्क तिर्नु नपर्ने निर्णय गरेपछि मुआब्जावापतको रकम तिर्न नपर्ने भएको हो । भेरी लिफ्टिङ आयोजना अन्तर्गतका सुरुवाती चरणका काम धमाधम भइरहेका छन् । ट्याङकी निर्माण र पाइपलाइन विस्तारको सर्वेको काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनाअन्तर्गत पाँचवटा ठूला ट्यांकी निर्माण गरिनेछ । सुरुवाती चरणका काम धमाधम अघि बढेको छ । पाइपलाइन विस्तारको प्रि–फिजिविलीटी अध्ययनको काम धमाधम भइरहेको छ । भेरी नदीको पानी लिफ्टिङ गरेर तीन वर्षभित्रैमा वीरेन्द्रनगर उपत्यकामा ल्याउने गरी निर्माण कार्य अघि बढाइएको छ । त्यसका लागि त्रिपक्षीय सम्झौता भइ काम अघि बढेको हो । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना इकाई कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेशनल इकोनमी एण्ड टेक्निकल को–अपररेसन कम्पनी लिमेटेडबीच ठेक्का सम्झौता भएको हो ।
वीरेन्द्रनगर नगरपालिकाले ‘ड्रिम प्रोजेक्ट’ को रूपमा अगाडि सारेको भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माण प्रक्रियामा प्रवेश गरेको हो । संघीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीबाट भेरी लिफ्टिङ खानेपानी आयोजन बन्न लागेको हो । भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि कूल लागतको ७० प्रतिशत खर्च विश्व बैंकले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ । भेरी लिफ्टिङ आयोजना अघि बढ्ने भएसँगै वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मितिः २५ जेष्ठ २०८२, आईतवार १०:१३
सम्पादकीय ।