बजेटमा कर्णाली
संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँ बराबरको बजेट ल्यायो । अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गरिसकेका छन् । जसमा चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६०.१ प्रतिशत हो । पुँजीगततर्फ चार खर्ब सात अर्ब ८९ करोड विनियोजन भएको छ । यो कुल बजेटको २०.८ प्रतिशत हो । त्यसैगरी वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर्ब २४ करोड विनियोजन भएको छ । यो कुल बजेटको १९.१ प्रतिशत हो । आगामी आर्थिक वर्ष सरकारले प्रदेश र स्थानीय तहमा चार खर्ब १७ अर्ब ८३ करोड रूपैयाँ हस्तान्तरण गर्दैछ ।
बजेटमा कर्णाली प्रदेशका महङ्खवपूर्ण आयोजनाहरू समावेश गरिएको छ । आगामी वर्षभित्रै दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण कार्य सम्पन्न गरेर नमुना परीक्षण प्रतिवेदनका आधारमा व्यावसायिक उत्पादन सुरु गरिने जनाइएको छ । सरकारले रारामा पर्यटन पदमार्ग विकास गर्नुका साथै बर्दिया–रारा पदयात्रा सुरुवात गर्ने समेत जनाएको छ । पर्यटन विकासकै लागि कर्णाली र भेरी नदीमा ¥याफ्टिङसहित पर्यटन गतिविधि गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ । बजेटमा उल्लेख भएअनुसार सुर्खेतमा स्तरोन्नतिसहित प्रादेशिक विमानस्थल विकास गरिने छ । आगामी आर्थिक वर्षमा त्यसका लागि आवश्यक पूर्वतयारी सम्पन्न गरेर निर्माण कार्य थालनी गरिने जनाइएको छ । सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नतिको योजना विगत लामो समयदेखि चर्चामा रहँदै आएको छ । तर अघि बढ्न सकेको छैन । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न ५४ करोड बजेट विनियोजन गरिएको छ । गत वर्ष नै आयोजना हुनुपर्ने खेलकुद प्रतियोगिता तीन पटक सरिसकेको छ । प्रतियोगिता आयोजना गर्न सुर्खेतमा प्रादेशिक रंगशालासहितका पूर्वाधार निर्माण भइरहेका छन् ।
कर्णालीको अर्को महङ्खवपूर्ण आयोजनाका रूपमा रहेको कोहलपुर–सुर्खेत–जुम्ला १३२ केभी प्रसारण लाइन विस्तारलाई पनि बजेटले प्राथमिकता दिएको छ । आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ३३ केभी प्रसारण लाइनलाई स्तरोन्नति गरेर १३२ केभी बनाउने कार्य आरम्भ भने भइसकेको छ । यस्तै भेरी–बबई डाइभर्सन आयोजनाको हेडवक्र्स र पावर हाउस निर्माण गर्न दुई अर्ब सात करोड विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ सडक आयोजनाहरू पनि सरकारको प्राथमिकतामा परेका छन् । कर्णाली करिडोर स्तरोन्नति गर्न एक अर्ब २७ करोड विनियोजन गरिएको छ । यसरी कर्णाली प्रदेशका ठूला आयोजनाहरूलाई संघीय सरकारले आगामी वर्षको बजेटमा समेटेको छ ।
प्रकाशित मितिः १९ जेष्ठ २०८२, सोमबार १०:३९
सम्पादकीय ।