खेलाडी उत्पादन गर्न ग्रासरुट कार्यक्रम
सुर्खेत: फुटबल खेलाडी उत्पादन गर्न सुर्खेतमा ग्रासरूट कार्यक्रम सञ्चालन गरिएको छ । सुर्खेत जिल्ला फुटबल संघ र कर्णाली प्रदेश फुटबल संघको आयोजनामा ग्रासरूट फुटबल कार्यक्रम सञ्चालन गरिएको हो ।
फुटबलमा स्थानीय प्रतिभाको पहिचान गरेर उनीहरूलाई अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष दिलीप बस्यालले बताए । उनका अनुसार ८ देखि १३ वर्ष उमेर समूहका दुई सयभन्दा बढी खेलाडीहरू ग्रासरुट कार्यक्रममा सहभागी भएका थिए । जसमध्ये प्रारम्भिक प्रशिक्षणबाट ८० जनालाई छनोट गरिएको छ ।
छानिएका ८० जना अहिले प्रशिक्षणमा छन् । प्रशिक्षकहरू गणेश खड्का, असिम खड्का, भोज खत्री र कुम्भकर्ण बुढाले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणमार्फत् खेलाडीहरूमा खेल कौशल विकास गर्ने र त्यसपछि ८० जनालाई चार वटा समूहमा विभाजन गरेर लिग सञ्चालन गरिने संघका अध्यक्ष बस्यालले जानकारी दिए । लिगमा उत्कृष्ट प्रदर्शन गर्नेहरूमध्येबाट २० जना छनोट गरेर जिल्लाको टिम तयार गरिनेछ । उक्त टिमले ग्रासरूट कार्यक्रमबाट नै छनोट गरिएको लुम्बिनीको दाङसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
यो कार्यक्रमले सुर्खेतमा नयाँ खेलाडी उत्पादनमा सघाउ पुग्ने अध्यक्ष बस्यालले बताए । ‘स्थानीय प्रतिभाहरूलाई फुटबलमा नयाँ अवसर दिने यो अभियानले सुर्खेतको फुटबल विकासमा ऐतिहासिक भूमिका खेल्ने छ’ उनले भने, ‘हाम्रो लक्ष्य भनेको भविष्यका राष्ट्रिय खेलाडीहरूलाई यहीँबाट तयार पार्नु हो ।’ ग्रासरुट कार्यक्रमको समन्वय प्राविधिक निर्देशक सुन्दर पोखरेलले गरेका छन् ।
साझा बिसौनी ।