गढी पुर्निर्माण
सुर्खेत जिल्लामा भएका अनेक पर्यटकीय स्थलमध्ये एक हो बयलकाँडा गढी । वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ मा रहेको गढी ऐतिहासिक र पुरातात्विक महङ्खवको छ । वर्षौदेखि भग्नावशेषको रूपमा रहेको गढीलाई अब भने पुनर्निर्माण गर्न थालिएको छ । पुरातत्व विभागको क्षेत्राधिकारमा पर्ने गढीलाई हेर्न लायक बनाउन पुनर्निर्माण सुरु गरिएको हो । विभागले चालु आर्थिक वर्षमा गढी पुनर्निर्माणका लागि सात लाख बजेट विनियोजन गरेको छ । छरपष्ट रहेको गढीलाई अन्तिम स्वरूप दिन अहिले निर्माणको काम थालिएको हो । नेपाली सेनाको कपासे ब्यारेकले हाल निर्माण व्यवसायीलाई जिम्मा दिएर काम थालेको छ । आर्थिक वर्ष २०८१÷०८२ को जेष्ठ मसान्तसम्म काम सक्नेगरी सेनाले याम जी कन्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको छ ।
गढी समुन्द्री सतहदेखि एक हजार पाँच सय २२ मिटर उचाइमा अवस्थित छ । बयलकाँडा गढीमा कुनै समय सुर्खेतको सदरमुकाम थियो । २०१९ सालमा औलो उन्मुलनका लागि कार्यालय स्थापना भएको र गढीमा रहेका सरकारी कार्यालयमा २०२३ मा वीरेन्द्रनगर उपत्यकामा सारिएको थियो । बाइसे–चौबिसे शासनकाल, राणाकाल र पञ्चायतको प्रारम्भमा बाक्लो बस्ती, मानिसहरूको चहलपहल रहेको गढी क्षेत्र जब सुर्खेतमा औलो उन्मुलन भयो तब क्रमशः सुनसान बन्दै गयो । सुर्खेत उपत्यकामा २०२२ सालमा औलो उन्मुलन घोषणा भएको थियो । २०२३ को मंसिरतिर गोठीकाँडा क्षेत्रका प्रशासनिक कार्यालयहरू पनि उपत्यकामा स्थानान्तरण भए । कट्कुवा, कपासे क्षेत्रको पुरै बस्तीलाई स्थानान्तरण गरी त्यहाँ वृक्षारोपण कार्यक्रम सञ्चालन गरियो । बयलकाँडा टाकुरामा ऐतिहासिक गढीमा लामो समयदेखि भग्नावशेष रहेको थियो । यो पाँच कट्ठा १३ धुर क्षेत्रफलमा फैलिएको छ । गढी बाइसे–चौबिसे राज्यकालमा बनेको अनुमान छ । गढीको केही दुरीमा फाटफुट अक्षर देखिने ढुंगाका खम्बाहरू गाडिएका छन् ।
अब उत्खननसँगै हेर्न लायक गढी निर्माणको काम भइरहेको छ । गढीको एकिन लिखित संरचना नभएकाले विभागले भनेअनुसारकै गढीको काम भइरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकसमेत गढीको अवलोकनका लागि त्यहाँ पुग्ने गरेका छन् । त्यसको संरक्षण नहुँदा गढीको अस्तीत्व संकटमा पर्दै गएको छ । सरकारले यो वर्ष केही निर्माणको काम भने थालेको छ । पहिलेका संरचना क्षतविच्छेद बनेका छन् । अन्य संरचनाको समेत सोधखोज गरेर संरक्षण गर्नुपर्ने देखिएको छ । पुरातात्विक गढीको संरक्षणले यहाँका पर्यटन प्रवद्र्धनमा पनि सघाउ पु¥याउनेछ । सूर्योदयदेखि सूर्यास्तसम्म बयलकाँडा गढीबाटै देख्न सकिन्छ । हिउँदमा पारिलो घाम ताप्न पाइने र गर्मी याममा चिसो हावा चल्ने हुँदा वीरेन्द्रनगरबाट गर्मी छल्न अधिक मानिसहरू त्यहाँ पुग्ने गर्छन् ।
प्रकाशित मितिः ११ जेष्ठ २०८२, आईतवार ०५:०३
सम्पादकीय ।