कर्णालीमा बढ्दो सडक दुर्घटना
सुर्खेत: कर्णालीमा बढ्दो सडक दुर्घटनाले ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ । नागरिकको सहजताका लागि बनाइएका सडकमा भइरहने दुर्घटनामा ठूलो संख्यामा नागरिकले नै ज्यान गुमाउनु परिरहेको हो ।
प्रदेश भौगोलिक रूपमा विकट मानिन्छ । हचुवाको भरमा निर्माण गरिएका सडकले सहज हुनुका साथै क्षति पनि दिइरहेको अनुभव यहाँका नागरिकको छ । प्रदेश प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार सडक दुर्घटना बढ्दो क्रममा रहेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा एक हजार चार सय ४६ वटा सवारी दुर्घटना भए । दुर्घटनामा परेर एक सय १२ जनाको मृत्यु भएको थियो भने चार सय ७२ जना गम्भीर घाइते तथा एक हजार ६ सय पाँच जना सामान्य घाइते भएका थिए ।
चालु आर्थिक वर्षको हालसम्म सात सय ५४ सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा परेर एक सय सात जनाको मृत्यु भइसकेको छ । पाँच सय ४३ जना गम्भीर घाइते भएका छन् भने एक हजार ८७ जना सामान्य घाइते घएका छन् ।
सवारी साधनको प्रयोगलाई व्यवस्थित गराउने उद्देश्यले वि.सं. २०२० मा सवारी ऐन तथा नियम लागू गरियो । सवारी नियमको पालना चालकदेखि पैदलयात्रुसम्मले प्रभावकारी ढंगले नगर्दा धेरै दुर्घटना हुने गरेको पाइएको छ । ट्राफिक संकेतको ज्ञान नहुनु, भएमा पनि त्यसको पालना नगर्नु, जेब्राक्रसिङको प्रयोग नगर्नु, सवारी चापको वृद्धि अनुरूप सडक विस्तार हुन नसक्नु, भएका सडकहरू पनि व्यवस्थित र सवारीमैत्री नहुनुजस्ता कारणहरूले गर्दा सडक दुर्घटनामा व्यापक रूपले वृद्धि भएको ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी निरीक्षक हरिबहादुर विसीले बताए ।
विशेष गरी सवारी चालकले आफ्नो सहयोगी सहचालकलाई सिकाउने क्रममा उसलाई सवारी चलाउन दिँदा धेरै दुर्घटना भएको पाइएको उनको भनाइ छ । त्यसैगरी लामो दुरीमा सवारी चलाउने चालकलाई बाह्रदेखि सोह्र घण्टासम्म एउटैले अनवरत रूपमा सवारी हाँक्दा पनि मानसिक तथा शारीरिक थकावटका कारण पनि दुर्घटना हुने गरेको छ । त्यस्तै अनियन्त्रित गतिमा सवारीसाधन चलाउनेलाई नियन्त्रण गर्न देशका अत्यधिक सडक दुर्घटना हुने स्थान तथा बस्ती छेउछाउको व्यस्त सडकमा सवारीका साधनको गति नाप्ने यन्त्र राडरको प्रयोग व्यवस्था गर्नुपर्ने कुरा पनि सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन् । सडकमा डिभाइडर रिफ्लाक्टर, ट्राफिक सिग्नल, ट्राफिक लाइट, ट्राफिक पोस्ट, आकस्मिक उपचार केन्द्र, सडक, ढल, सडकपेटी, यात्रु प्रतिक्षालय आदिका सुविधामा समेत ध्यान पु¥याउनुपर्ने देखिन्छ । सवारी चलाउँदा कुराकानी गर्ने मोबाइलमा गफ गर्ने, रेडियो वा एयरफोनमा मस्त हुन नपाउने कानुनी व्यवस्था भएपनि त्यसको पालना नहुँदा पनि धेरै दुर्घटना भइरहेका छन् ।
निगरानीमा दुर्घटना क्षेत्र
कर्णालीमा बढी दुर्घटना हुने क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ । प्रदेशभित्र बढी दुर्घटना हुने स्थानका बारेमा चालक र सहचालकहरूलाई सचेतना कार्यक्रम भइरहेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सुरक्षित यात्राका लागि स्मरण कार्यक्रममा प्रदेशका दुर्घटना बढी हुने स्थानको छनोट गरेको हो ।
बढी दुर्घटना हुने ४७ स्थानको तस्विरहरू सार्वजनिक गर्नुका साथै एक हजार दुई सय ४३ जना चालक–सहचालकहरूलाई सचेतना कार्यक्रममार्फत् दुर्घटना नहोस् भनेर देखाइएको छ । कर्णाली प्रदेशमा बढी दुर्घटना हुने स्थानहरूको तस्विरसहित दुर्घटना जोखिम न्यूनीकरण गर्न चालक र सहचालकहरूसँग सचेतना कार्यक्रम राखिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी निरीक्षक हरिबहादुर विसीले बताए ।
दशवटै जिल्लामा जिल्ला ट्राफिक कार्यालय, अस्थायी ट्राफिक प्रहरी पोष्टहरूले सचेतनाका कार्यक्रम गरिरहेको उनले बताए । कर्णाली प्रदेशमा हुने सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम राख्ने उद्देश्यले आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ भन्ने मूल नाराका साथ सुरक्षित यात्राका लागि स्मरण कार्यक्रम प्रदेशभर ट्राफिक प्रहरीले गरिरहेको छ । ट्राफिक प्रहरीले जिल्ला–जिल्लामा सचेतना अभियानहरू बर्सेनि गर्दै आए पनि चालकहरूले नियमहरू पलना गरेको पाइँदैन । जसका कारण क्षमताभन्दा बढी यात्रु राख्ने, ओभर स्पिटमा गाडी चलाउने, गाडी चलाउँदा मदिरा खानेलगायतका समस्याहरू देखिँदै आएको छ ।
राजमार्गहरूमा बढी सडक दुर्घटना हुनेगरेको प्रवक्ता बि.सी.ले बताए । सबैभन्दा धेरै कर्णाली राजमार्गमा दुर्घटना हुने गरेका छन् । भौगालिक विकटताका कारण उक्त सडक खण्ड बढी जोखिममा रहेको छ । कर्णाली राजमार्गको दैलेख कालीकोट र जुम्ला खण्डमा बढी जोखिम देखिएको जनाइएको छ । दैलेखको गुराँस गाउँपालिका वडा नं. २ स्याउली, कालीकोटको खाँडाचक्र गाउँपालिका वडा नं. १ विद्युत मोड र तिला गाउँपालिका वडा नं. १ गडगुडेनी जुम्ला खण्डमा सडक दुर्घटनाको जोखिम रहेको प्रवक्ता विसीले बताए । रत्न राजमार्गअन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिकाको सानो हर्रे, वीरेन्द्रनगर नगरपालिका नगरपालिका वडा नं. ११ को ठूलो व्ययुरेनी दुर्घटना हुने स्थानमा पर्ने गरेका छन् ।
राप्ति राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका सडक दुर्घटनाको क्षेत्र मानिन्छ । यसैगरी भेरी करिडोरअन्तर्गत बनगाड कुपिन्डे नगरपालिकालाई पनि दुर्घटनाको जोखिम क्षेत्रको रूपमा राखिएको छ । भेरी करिडोरअन्तर्गत जाजरकोटको भेरी नगरपालिका वडा नं. ४ बोहोरा मोड दुर्घटनाको रेड जोनमा रहेको छ । मुगुको नाग्मा–मुगु सडकखण्डअन्तर्गत छाँयानाथ रारा नगरपालिका वडा नंं. ७ को सात मोड पनि दुर्घटनाको उच्च जोखिममा रहेका छन् । भेरी करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नंं. ५ दुले ओडार पनि दुर्घटनाको जोखिममा रहेको पाइएको छ । र हुम्लाको सल्ली–सल्ला हिल्सा सडकखण्ड अन्तर्गत सर्केगाड गाउँपालिका वडा नंं. ४ थाहा भन्ने स्थानलाई समेत उच्च दुर्घटना हुने स्थानका रूपमा दिइएको छ ।
प्रकाशित मितिः २१ बैशाख २०८२, आईतवार ०५:०५
रजनी याेगी ।