सिम्तामा निःशुल्क स्वास्थ्य शिविर

सुर्खेत: सिम्ता गाउँपालिकाको वडा नं. ८ डाँडाखालीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिम्ता गाउँपालिका ८ नम्बर वडा कार्यालयको आयोजना, नेपाल प्रेस युनियन सुर्खेत, स्वास्थ्य पत्रकार समाज कर्णाली प्रदेश, सुर्खेत उद्योग वाणिज्य संघ र नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशलगायतसँगको समन्वय तथा सहकार्यमा शनिवार शिविर आयोजना गरिएको हो ।

शिविरमा करिब तीन सय जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरणसमेत गरिएको छ । सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले शिविरले सिम्ताका नागरिकलाई गाउँमै विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य सेवाको अवसर दिएको बताए ।

हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठ, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. पारस पौडेल, प्रसूति तथा स्त्री रोग विशेषज्ञद्वय डा. नम्रता भट्टराई र कृतिका थापासहित डा. दिलिपकुमार शाह, डा. अमृत कर्ण, डा. कैलाश सिराले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

 

प्रकाशित मितिः   २१ बैशाख २०८२, आईतवार १६:३७