लगानी सम्मेलनको आधार

कर्णाली प्रदेश सरकारले ‘आयोजना बैंक’ निर्माण गरेर मात्र लगानी सम्मेलन गर्ने भएको छ । यसअघि आवश्यक तयारी र प्रक्रिया पूरा नहुँदा लगानी सम्मेलन हुन सकेको थिएन । बेला–बेला भइरहने सरकार फेरबदल र योजना आयोगले पूर्णता नपाउँदा लगानी सम्मेलन अन्योलमा पर्दै आएको थियो । यो पटक भने लगानी सम्मेलनका लागि केही आधार निर्माण गरेर मात्र सम्मेलनको मिति तय गर्ने सरकारले जनाएको छ । अहिले आयोजना बंंैक निर्माणको काम अन्तिम चरणमा पुगेको प्रदेश योजना आयोगले जनाएको छ । आयोजना बंैक निर्माणका लागि मापदण्ड र कार्यविधि निर्माण गरिएको छ । आयोजना बंैक निर्माण गरेर मात्र लगानी सम्मेलन गरिने भएकाले आयोजना बंैक निर्माणको कामलाई प्राथमिकतामा राखिएको हो ।

आयोजना बैंक निर्माण गर्ने र त्यसै अनुरूप लगानी सम्मेलन गर्नेगरी तयारी भइरहेको छ । लगानी सम्मेलनबारे यसअघि भएका काम र आयोजनाहरूको सुनिश्चित गरेर मात्र सम्मेलन गर्ने तयारी भएको हो । यसअघिको योजना आयोगले समेत केही तयारी गरेको थियो । सोही बमोजिम काम अघि बढाउन लागिएको हो । तयारी पूरा गरेर मात्र सम्मेलनको मिति तय गर्नेगरी योजना आयोग लागिरहेको छ । यसअघि भएका अभ्यास हेर्दा तयारी नहुँदा काम हुन सकेको थिएन । सम्मेलनका केही आधार तय गरेर मात्र काम अघि बढाउने जनाइएको छ । विषयगत मन्त्रालयसँग आवश्यक तथ्यांक माग्ने, छलफल गर्ने र मन्त्रालयहरूका प्राथमिकताका आयोजनाहरू समावेश गर्ने काम भइरहेको छ । आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीमार्फत् सार्वजनिक गर्न, बजेट तर्जुमा गर्दा प्राप्त सिलिङभित्र प्राथमिकताका आधारमा बजेट प्रस्ताव गरिने छ । प्रदेश योजना आयोगले छनोट गरी निर्धारण गरेको प्राथमिकता क्रमका योजनाहरूबाट प्रदेश गौरवको योजनाहरू, ठूला र बृहत् प्रकृतिका योजनाहरू बजेट दिएर कार्यान्वयनमा जाने जनाइएको छ ।

विशेष गरी भौतिक पूर्वाधारतर्फका योजनाहरू आयोजना बैंकबाट छनोट गरी कार्यान्वयन गरिने प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकार स्थापनादेखि नै कर्णाली सरकारले आयोजना बैंक निर्माणको चर्चा सुरु गरेको थियो । सरकारले विगतदेखि नै नीति तथा कार्यक्रममै समावेश गरी आयोजना बैंक निर्माणको विषय अघि सार्दै आएको थियो । तर, कार्यान्वयन भने हुन सकेको थिएन । यसअघि प्रदेश सरकारले विभिन्न समयमा लगाानी सम्मेलन गर्नेगरी तयारी थालेको थियो । तर सरकारको योजना कार्यान्वयन भएको थिएन । यो पटक भने सरकारले लहडमा भन्दा पनि तयारी पूरा गरेर मात्र लगानी सम्मेलन गर्ने तयारी गरेको छ । हचुवाको भरमा सम्मेलनको मिति तय गर्दा दुविधा उत्पन्न भएको भन्दै तयारी पूरा गरेर मात्र मिति तय गर्न लागिएको हो ।

प्रकाशित मितिः   २१ बैशाख २०८२, आईतवार ०५:०३