‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ उत्पादनसँग जोडिँदै

 

सुर्खेत: कर्णाली प्रदेश सरकारले ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लाई उत्पादनसँग जोड्ने भएको छ । उत्पादनसँग जोडेर कार्यान्वयन गर्दा प्रभावकारी हुने भएपछि सरकारले रोजगार कार्यक्रमलाई उत्पादनसँग जोड्ने भएको हो ।

सरकारले नयाँ कार्यविधि निर्माण गरेर मुख्यमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जनसहित कार्यान्वयन गर्न लागेको छ । कर्णाली रोजगार कार्यक्रम कार्यविधि–२०८१ स्वीकृति भएको छ । शुक्रवार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । आर्थिक भार कम पर्ने तथा रोजगारीमा जोड्नका लागि कार्यक्रमलाई उत्पादनसँग जोड्न लागिएको हो । नयाँ निर्माण गरिएको कार्यविधि अनुसार कृषि तथा उद्यम विकासमा जोडेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । यसअघि सञ्चालन गरिएको कार्यक्रम रोजगारी दिनेगरी कार्यान्वयन भइरहेको थियो । जसले गर्दा लागत धेरै तथा प्रतिफल न्यून आउँने गरेको भन्दै सरकारले रोजगारी सिर्जना तथा आर्थिक लाभ लिनेगरी कार्यक्रम कार्यान्वयनमा जोड दिएको छ ।

सरकारले आर्थिक व्यभार घटाउने तथा रोजगारीमा वृद्धि गर्ने लक्ष्य राखेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यक्रमको प्रभावकारीता बढाउन उत्पादनसँग जोडेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको कार्यालयका योजना, अनुगमन तथा आर्थिक पूर्वाधार शाखाका नविन ढकालले बताए । उनका अनुसार अघिल्ला आर्थिक वर्षहरूमा कार्यक्रमलाई व्यावसायीकतासँग नजोडिदा आर्थिक भार धेरै तथा प्रतिफल न्यून हुने गरेको थियो । गाउँमै रोजगारी दिने तथा कार्यक्रमलाई उत्पादनमुखी बनाउने प्रदेश सरकारको लक्ष्य रहेको छ । योसँगै योजना छनोट प्रक्रियालाई समेत व्यवस्थीत बनाउन लागिएको छ । प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रमलाई सफल कार्यक्रमको रूपमा हेर्ने गरेको छ । सरकारको लोकप्रिय तथा प्रभावकारी कार्यक्रम रहेको दाबी सरकारको छ । पहिल्लो समय आर्थिक भार बढी पर्ने देखिएपछि कार्यक्रमलाई व्यवस्थित गर्न लागिएको हो ।

 

सबै वडामा कार्यक्रम कार्यान्वयन

कर्णालीका सबै वडामा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लागू भएको छ । यसअघि १५ वटा वडामा कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन । चालु आर्थिक वर्षदेखि प्रदेशका सबै वडामा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७६/२०७७ देखि मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गरेको थियो । त्यसयता प्रदेशका सात सय १८ वटा वडामध्ये सात सय तीन वटा वडामा मात्र मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन भएको थियो । कार्यक्रमबाट १५ वटा वडा वञ्चित भइरहेका थिए । चालु आर्थिक वर्षबाट सबै वडामा कार्यक्रम कार्यान्वयन गरिएको प्रदेश सरकारले जनाएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

प्रदेश सरकारले सञ्चालन गरेको सबैभन्दा बढी प्रभावकारी कार्यक्रमका रूपमा उक्त कार्यक्रमलाई लिइएको छ । प्रत्येक वर्षको सरकारको बजेट र कार्यक्रममा समेत प्राथमिकतामा पर्दै आएको छ । यो वर्षदेखि प्रदेशका सबै वडा मुख्यमन्त्री रोजगार कार्यक्रममा जोडिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत् बेरोजगार व्यक्तिलाई रोजगारीको अवसर उपलब्ध गराउन कर्णाली प्रदेशका सवै वडामा कार्यक्रम कार्यान्वयन गरिएको हो । यो कार्यक्रम स्थानीय तहबाट कार्यान्वयन हुन्छ ।

यो वर्ष सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना बनाएको छ । यो वर्ष एक हजार ६ सय व्यक्तिलाई रोजगारीमा जोड्ने लक्ष्य सरकारले राखेको छ । कार्यक्रमबाट प्रत्यक्ष रूपमा एक हजार ६ सय जनालाई आंशिक रोजगारी दिने सरकारको लक्ष्य रहेको छ । त्यसका लागि एक अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ ।

अहिले प्रदेशका सबै वडामा कार्यक्रम कार्यान्वयन भइरहेको मुख्यमन्त्री कार्यालयका योजना, अनुगमन तथा आर्थिक पूर्वाधार शाखाका नविन ढकालले बताए । उनका अनुसार पहिलेभन्दा व्यवस्थितरूपमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । सरकारले तीन जिल्लाका वडाहरूमा २० लाखका दरले बजेट पठाउने गरेको छ । हुम्ला, डोल्पा र मुगु जिल्लाका वडाहरूमा योजना कार्यान्वयनका लागि २० लाख बजेट पठाइएको ढकालले बताए । अन्य जिल्लाहरूमा प्रत्येक वडामा १५ लाखका दरले बजेट पठाउने गरिएको छ ।

प्रकाशित मितिः   १० बैशाख २०८२, बुधबार ११:३३