उपेक्षामा महिला स्वास्थ्य स्वयमसेविका

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका वडा नं. २ की ४४ वर्षीया यशोदा अधिकारी महिला स्वास्थ्य स्वयमसेविकाको काम गर्दै आएकी छिन् । उनले २०६५ सालदेखि स्वास्थ्य स्वयमसेविकाको रूपमा काम गर्दै आएकी हुन् । विगत १७ वर्षदेखि अधिकारीले निरन्तर गाउँघरमा स्वास्थ्य सेवा दिइरहेकी छिन् ।

टोल–टोलमा पुग्ने नवजात शिशु गर्भवती आमाहरूको जानकारी लिने, परामर्श दिने लगायतका काम उनको दैनिकी जस्तै हुन्छ । हिजोआज टेलिफोनमार्फत् पनि सेवा दिने गरेको उनले सुनाइन् । सुरुसुरुमा घर–घरमा पुग्दा उनले कैयौं पटक परामर्श सेवा दिनेगरेकी थिइन् । पहिलेभन्दा काम गर्न अहिले असहज भएको उनको भनाइ छ । उनले भनिन् ‘सुरुमा समुदायसम्म पुग्नै गाह्रो भयो, पहिलो एक सय घरधुरी हुन्थ्ये, अहिले पाँच सय घरधुरी छन्, त्यसपछि सेवा दिन समस्या, नयाँ कुरा बुझाउन समस्या हुन्छ ।’ आमा समूह बनाएर काम गरिरहेको उनले बताइन् । सामाजिक सेवामा १७ वर्ष सेवा दिइरहेकी यशोदालाई समुदायका मान्छेले पनि उत्तिकै माया गर्छन् । ‘१७ वर्षयताको समयमा कतिका ज्यान बचाइयो हिसाब छैन । अहिले परिस्थिति बदलिएको छ । जनसंख्या बढेको छ काम गर्न समस्या छ’ उनले भनिन् ।

गाह्रो अप्ठ्यारो परेका बेला समुदायले सुरुमा सम्झने पात्र उनै यशोधा हुन् । अहिलेसम्म उनले आफ्नो टोलका बिरामी र धेरै गर्भवती महिलालाई बोकेर स्वास्थ्य चौकी पु¥याएकी छिन् । उनी गाउँमा स्वास्थ्य स्वयमसेविका हुँदासम्म कसैले दुःख पाउँदैनन् भन्ने गाउँका बासिन्दाको सोचाइ छ । समुदायका महिला आफू गर्भवती भएको कुरा श्रीमान्, सासुससुरालाई भन्दा पहिला आफूलाई सुनाउने गरेको स्वयमसेविका अधिकारीले बताइन् । बच्चाले जन्मने वित्तिकै श्वास नफेर्नु वा नरुनु, समयअगावै जन्म तथा कम तौलजस्ता समस्या देखिए जोखिम हुने भन्दै अस्पताल जानुपर्ने सल्लाह दिने गरेको उनले जानकारी दिइन् । त्यसका लागि नियमित गर्भ जाँच गर्न सबैलाई सम्झाउँने गरेको उनी बताउँछिन् । स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी भएपनि धेरैका ज्यान जोगिने अवस्था आउने उनले बताइन् । पछिल्ला दिनमा स्वास्थ्य संस्थामा पनि दक्ष स्वास्थ्यकर्मीबाट मात्रै सुत्केरी सेवा लिनुपर्छ भन्ने जानकारी बढ्दै गएको उनको अनुभव छ ।

यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ की मेनकाकुमारी आचार्यले स्वास्थ्य स्वयमसेविकाको रूपमा काम गर्दै आएको २९ वर्ष पुग्यो । २०५२ असोजबाट उनले सेवा दिन सुरु गरेकी हुन् । ‘मिनि डाक्टर’ को निरन्तर सेवा गरिरहेको भएपनि राज्यको आँखामा पर्न नसकेको उनको भनाइ छ । बेला–बेलामा सरकारको ध्यानाकर्षण गराएपनि सरकारले चासो नदिएको उनले बताइन् । सामाजिक सुरक्षा कोष निर्माण गर्नुपर्ने, अवकांश पाउँदा प्रतिवर्ष ३० हजारको दरले एकमुष्ट रकम दिनुपर्ने आफूहरूको माग रहेको उनले बताइन् । क्षमता विकास तालिम, अन्तरक्रिया लगायतका कार्यक्रम हुनुपर्ने उनीहरूको माग छ । बढ्दो जनसंख्या, न्यून सेवासुविधाका कारण सेवा दिन समेत हम्मेहम्मे पर्ने गरेको आचार्यले सुनाइन् । पहिले ५० घरधुरीलाई सेवा दिइरहेकी आचार्यले अहिले साढे दुई सय घरधुरीलाई सेवा दिनुपर्छ ।

 

सरकारसँग माग

यसैबीच विभिन्न मागसहित स्वास्थ्य स्वयमसेविकाहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । मुख्यमन्त्री यामलाल कँडेलसँग भेटेर सरकारको ध्यानाकर्षण गराएका हुन् । स्वयमसेविहरूले ६० वर्ष उमेर पुगेका स्वयमसेवीहरूको जीवनलाई टेवा दिन प्रति वर्षको ३० हजारको दरले एकमुष्ट रकम उपलब्ध गराउनुपर्ने, क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिमको व्यवस्था, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकरण गरी कोषमा रकम जम्मा गरिदिनुपर्ने, चाडपर्व खर्च वापत २० हजार बराबरको रकम उपलब्ध गराउनुपर्ने, मासिक प्रतिवेदन वापत सात हजार रूपैयाँ उपलब्ध गराउनुपर्ने, दैनिक काम गर्ने भत्तामा वृद्धि गर्नुपर्ने लगायतका माग तथा सुझावहरू पेस गरेका छन् ।

बुधवार मुख्यमन्त्री यामलाल कँडेललाई भेटेका स्वास्थ्य स्वयमसेविकाहरूले बिहीवार सामाजिक विकास मन्त्रीलाई भेटेका छन् । सोही माग राखेर सामाजिक विकास मन्त्री घनश्याम भण्डारीलाई भेटेको महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका संघका केन्द्रीय सदस्य भिमु रोकाय रिजालले बताइन् । स्थानीय सरकार र प्रदेश सरकारले निर्माण गर्ने आगामी वर्षको बजेटमा समेट्ने गरी माग राखिएको उनले जनाइन् । यो भन्दा पहिला पनि माग राखिएको भएपनि सम्बोधन हुनसकेको छैन ।

स्वास्थ्य स्वयमसेविकाको सेवालाई कदर हुने गरी बजेट तथा कार्यक्रममा सम्बोधन गरिने सामाजिक विकास मन्त्री भण्डारीले प्रतिवद्धता जनाएका छन् । बिहीवार मन्त्री भण्डारीलाई माग तथा सुझाव पेस गर्न पुगेका नेपाल स्वास्थ्य स्वयमसेवी संघ (नेभा) मा आवद्ध सुर्खेतस्थित स्वयमसेवीहरूसँग प्रतिवद्धता जनाएका हुन् । नागरिकको स्वास्थ्य उपचार तथा प्रवद्र्धनमा स्वयमसेवीहरूको भूमिका उल्लेखनिय रहेको बताउँदै उनीहरूलाई राज्यका निकायबाट कदर हुन नसकेको बारेमा आफू जानकार भएको बताए । त्यसका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा आफ्नो प्रस्तावमा कार्यविधि संशोधन गर्नेबारे छलफल भएको जानकारी गराए । कार्यविधि संशोधन भइ कार्यान्वयनमा आएपछि न्यूनतम् पारिश्रमिक र थप सहुलियत प्राप्त हुने विश्वास व्यक्त गरे ।

कर्णाली प्रदेशस्थित स्वास्थ्यसम्बन्धी कार्यक्रममा स्वयमसेवीलाई सहभागिता गराउँदा न्यूनतम् पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिइएको समेत जानकारी दिए । साथै, नेभाको तर्फबाट दिइएका सुझावलाई ग्रहण गर्दै आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वयमसेवीहरूद्वारा प्रदान गरिने सेवालाई सहज बनाउँदै उनिहरूको सेवालाई कदर हुनेगरी सम्बोधन गरिने प्रतिवद्धतासमेत व्यक्त गरे ।

प्रकाशित मितिः   ५ बैशाख २०८२, शुक्रबार ०६:०६