बर्खा नलाग्दै बाढी
सुर्खेत: हुम्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिकाको श्रीनगर बजारमा वर्षासहितको बाढीले ठूलो क्षति पुग्यो । बिहीवार बिहानको वर्षाका कारण श्रीनगर बजार क्षेत्र र मुगुको सोरु गाउँपालिका–३ भिहीस्थित बैन्यामा ठूलो क्षति पुगेको हो । हुम्लाका प्रहरी प्रमुख डीएसपी शंकर पोखरेलका अनुसार केही सरकारी कार्यालय र पसलमा समेत क्षति पुगेको छ ।
करिब १५ मिनेटसम्म परेको मुसलधारे वर्षाले पसलमा क्षति पुगेको छ । यसका साथै बजार क्षेत्रमा रहेका सरकारी कार्यालय, विद्यालय र घरटहरामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । अदानचुली–३ गोरपालीका धर्मराज बुढाको गोठ बाढीसहितको लेदोले पुर्दा २७ वटा बाख्रा मरेका छन् भने २९ वटालाई घाइते अवस्थामा उद्धार गरिएको छ । २० वटा बाख्रा बाढी पहिरोसँगै हराएको डीएसपी शंकर पोखरेलले बताए ।
यस्तै मुगुको बैन्यामा आएको बाढीका कारण कर्णाली नदी केही समय अवरुद्ध भएको थियो । बैन्यामा जमिन चिरा–चिरा परेको छ भने सोरुबाट भिही पुग्ने सडक अवरुद्ध बनेको छ । यता श्रीनगर आउजाउ गर्ने सबै सडक बन्द भएको प्रहरीले जनाएको छ । बेमौसमी बाढीले वितण्डा मच्चाएको छ । कुनैपनि मानवीय क्षति भने नभएको डीएसपी पोखरेलले बताए । उनका अनुसार खाद्यसहितका सरकारी कार्यालय र पसलहरूमा क्षति पुगेको छ ।
कमजोर भूवनोट अनि, भौगोलिक विकटताका कारण कर्णाली विपद्को उच्च जोखिममा छ । वर्षामा बाढी र पहिरोबाट ठूलो क्षति हुन्छ । हिउँदमा आगलागी र हावाहुरीबाट धनजनको नाश भइरहेको छ । जहिल्यै प्राकृतिक विपद्को चपेटामा पर्छ, कर्णाली । राजधानीबाट टाढाको भौगोलिक दूरीमा रहेको कर्णालीको विपद् न्यूनीकरण गर्न न राज्यले प्राथमिकता दिन्छ । न त पीडितले नै समयमै राहत पाउँछन् । पछिल्लो समय बनेका संरचनाका कारण पनि ठूलो क्षति हुनेगरेको छ । सडक पूर्वाधारका कारण बस्ती नै जोखिममा पर्ने गरेका छन् ।
विपद्का घटनामा वृद्धि
यो वर्ष कर्णालीमा तीन सय ७४ वटा विपद्का घटना भएका छन् । प्रदेशभर विपद्का घटनामा १३ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । ५८ जना घाइते भएका छन् । एक सय ६९ परिवारका नौ सय १४ जना विस्थापित भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विस्थापितपछि एक सय ५४ घरधुरीका आठ सय ३८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण पनि गरिएको छ । विपद्का कारण दुई सय ५६ पशुचौपाया मरेका छन् भने ५३ घाइते र ७५ चौपाया बेपत्ता रहेका छन् ।
यसैगरी प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक हेर्दा पछिल्ला चार आर्थिक वर्षमा विपद्का घटनाबाट चार सय १९ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा चार हजार पाँच सय ७९ विपद्का घटना भएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा चार सय १६ विपद्का घटना भएकोमा ८५ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा एक हजार दुई सय १६ विपद्का घटना भए । उक्त वर्षमा ६८ जनाले ज्यान गुमाए ।
यसैगरी आर्थिक वर्ष २०७९/०८० मा दुई हजार दुई सय १४ विपद्का घटना भएका थिए । जसमा ७२ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा सात सय ३३ विपद्का घटना भएकोमा एक सय ९४ जनाको मृत्यु भएको छ । पछिल्लो समय विपद्का घटना कम भएपनि मानवीय क्षति बढी हुनेगरेको छ । उक्त आर्थिक वर्षलाई कर्णालीमा विपद्को वर्षका रूपमा हेरिएको छ ।
विपद्का घटनामा पनि पहिरोको क्षति धेरै छ । आर्थिक वर्ष २०७७/०७८ मा पहिरोमा परेर ५१ जनाको मृत्यु भयो । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १७ तथा आर्थिक वर्ष २०७९/०८० मा ४० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा ६ जनाको पहिरोमा परी ज्यान गएको छ । यसो त कर्णाली भूकम्पबाट पनि उत्तिकै जोखिममा छ । कर्णालीमा आर्थिक वर्ष २०८०/०८१ मा ठूलो विपद् आइप¥यो । धेरैले ज्यान गुमाए भने बाँचेकाहरू पनि पालमुनीको अस्थायी शिविरमा छन् । २०८० कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव चार म्याग्नेच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ७२ घाइते भएका थिए ।
भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरूपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका अनुसार जाजरकोटमा एक सय एक र रूकुममा ५३ गरी एक सय ५४ जनाको मृत्यु भएको हो । घाइते हुनेहरूमा जाजरकोटका एक सय ५८, रूकुमपश्चिमका दुई सय दुई, दैलेखका तीन जना, सल्यानका दुई जना, कालीकोटका एक जना र जुम्लाका ६ जना गरी तीन सय ७२ घाइते भएका छन् ।
प्रकाशित मितिः ६ बैशाख २०८२, शनिबार ०६:०६
साझा बिसौनी ।