बजेट खर्चको गति

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा पनि बजेट कार्यान्वयनको गति बढाउन सकेको छैन । नौ महिना बितिसक्दासम्म पनि विकास बजेट खर्च निराशाजनक नै छ । यो अवधिमा २०.९४ प्रतिशत अर्थात् तीन अर्ब ९३ करोड २४ लाख ७६ हजार रूपैयाँ मात्र विकास बजेट कार्यान्वयन गरेको छ । फागुन मसान्तसम्म १५ प्रतिशत विकास बजेट खर्च गरेको सरकारले पछिल्लो चैत महिनामा थप पाँच प्रतिशत कार्यान्वयन गरेको छ । चैत महिनामा जम्मा ५ प्रतिशतमा अर्थात् एक अर्ब सात करोड ९९ लाख ३७ हजार रूपैयाँ विकास बजेट कार्यान्वयन भएको हो । फागुन मसान्तसम्म १५.१९ प्रतिशत अर्थात् दुई अर्ब ८५ करोड २५ लाख ४० हजार रूपैयाँ मात्रै विकास बजेट कार्यान्वयन गरेको थियो । जुन चैत मसान्तसम्म २०.९४ प्रतिशत पुगेको छ ।

अब प्रदेश सरकारको खातामा १४ अर्ब ८२ करोड २६ लाख ९१ हजार रूपैयाँ मौज्दात छ । चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि सरकारसँग वार्षिक विकास बजेट १८ अर्ब ७५ करोड ५१ लाख ६८ हजार रूपैयाँ छ । नौ महिनामा २० प्रतिशतमात्रै विकास बजेट कार्यान्वयन गर्न सकेको सरकारले बाँकी तीन महिनाको अवधिमा ८० प्रतिशत विकास बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको छ । सरकारको बजेट कार्यान्वयनको गति सुरुवातदेखि नै कमजोर देखिएको छ । यो नौ महिनामा सबैभन्दा बढी विकास बजेट कार्यान्वयन गरेको चैत महिनामै भएको हो । जुन पाँच प्रतिशत छ । १० अर्ब १७ करोड ८२ लाख २४ हजार रूपैयाँ विकास बजेट रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले नौ महिनाको अवधिमा २३ प्रतिशत अर्थात् दुई अर्ब ३४ करोड पाँच लाख १७ हजार बराबर कार्यान्वयन गर्न सक्यो । चैत महिनाभर यो मन्त्रालयले ६ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । भौतिक पूर्वाधारसँग अझै आठ अर्ब बराबर बजेट मौज्दात छ ।

अन्य मन्त्रालयहरूको पुँजीगत बजेट अजस्था झन् कमजोर छ । ऊर्जा तथा जलस्रोत मन्त्रालयले अहिलेसम्म २१.९१ प्रतिशत अर्थात् ५७ करोड १६ लाख ५६ हजार रूपैयाँ कार्यान्वयन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १३.२० प्रतिशत खर्च गर्दा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २२.९३ प्रतिशत कार्यान्वयन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३८.६३ प्रतिशत र आर्थिक मामिला मन्त्रालयले ७९.१९ प्रतिशत पुँजीगत बजेट कार्यान्वयन गरेका छन् । यद्यपि, असार मसान्तसम्म ८० प्रतिशत विकास बजेट कार्यान्वयनमा आउने दाबी सरकारको छ । सरकारले दाबी गरे पनि अहिलेको गति हेर्दा उक्त लक्ष्यअनुसार बजेट कार्यान्व्यन हुने देखिँदैन ।

प्रकाशित मितिः   ५ बैशाख २०८२, शुक्रबार ०६:०३