सुरक्षा योजना

पछिल्लो समय वीरेन्द्रनगरमा सुरक्षा चुनौती बढ्दो क्रममा छ । चोरी तथा सवारी दुर्घटनाको जोखिम उच्च हुँदै गएको छ । संघीयता कार्यान्वयनसँगै प्रदेश राजधानी वीरेन्द्रनगरको जनघनत्व बढ्दो अवस्थामा छ । सोही अनुपातमा सवारी साधनको चाप पनि बढ्दै गएको छ । बढ्दो सवारी चाप र सहरीकरणका कारण दुर्घटना, चोरी, लुटपाट र विभिन्न अपराधका घटनाको चुनौती बढेको प्रहरीको तथ्यांक छ । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै अनुसन्धानमा सहयोगी मानिएको सीसी क्यामेरा न्यून रहँदा समस्या भएको छ । घटनाको छानबिन तथा अनुसन्धानमा सार्वजनिक ठाउँमा राखिएका सीसी क्यामेरा निकै प्रभावकारी हुने प्रहरीको भनाइ छ । तर, वीरेन्द्रनगरमा पर्याप्त मात्रामा सीसी क्यामेरा नहुँदा शान्ति सुरक्षामा चुनौती बढिरहेको छ ।

वीरेन्द्रनगरको मुख्य सडक, चोक र राजमार्गहरूमा पर्याप्त सीसी क्यामेरा नहुँदा र भएका सीसी क्यामेरा पनि बिग्रिएका कारण शान्ति सुरक्षामा चुनौती देखिएको हो । वीरेन्द्रनगरमा ९२ वटा सीसी क्यामेरा छन् । तर तीमध्ये अधिकांश बन्द अवस्थामा छन् । ५७ वटा सिसी क्यामेरा प्रयोगविहीन बनेका छन् । ३५ वटा मात्र सञ्चालनमा छन् । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी सहर भएकाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ९२ वटा स्थानमा सिसी क्यामेरा राखिएका थिए । विभिन्न चरणमा गरी मुख्यचोक र बजार क्षेत्रमा जडान गरिएका अधिकांश क्यामेरा भने लामो समयदेखि बिग्रिएका छन् । यसैबीच बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गरेर कर्णाली प्रदेश सरकारले सुरक्षा योजना निर्माण गरेको छ । संघीय सरकारसँगको सहकार्यमा प्रदेशभित्रका सुरक्षा निकायको भौतिक पूर्वाधारको सुदृढीकरण गर्न लागेको हो । मुख्य सीमा नाकामा अपराध नियमन्त्रण गर्न डिजिटल गेट र प्रदेश राजधानी वीरेन्द्रनगरलगायत संवेदनशील स्थानमा सिसी क्यामेरा जडान गर्न लागिएको छ । प्रदेश सुरक्षा योजनाअन्तर्गत कर्णाली प्रदेश प्रवेशको प्रमुख नाका बबईमा अत्याधुनिक स्वचालित सिसी क्यामेरा जडान गरिएको छ । प्रदेश भित्रने र बाहिरिने सवारी साधनहरूको डिजिटल प्रविधि स्वचालित नम्बर प्लेट पहिचान गर्ने सिसी क्यामरा जोडिएको हो । क्यामेरा जोडिएसँगै प्रहरीहरू सडकमा आउनुपर्ने र सवारी साधनहरू रोकेर नम्बर दर्ता गर्नुपर्ने झन्झट हटेको छ ।

प्रदेश सरकारले सुरक्षा योजना निर्माण गरेर काम गरिरहेको छ । तर यतिले मात्र पर्याप्त छैन । दुर्घटनाको जोखिम बढ्दो छ । जीर्ण सडक, चालकको लापरबाही र यात्रुले सावधानी नअपनाउनु दुर्घटनाको प्रमुख कारक हुन् । अनुमति नदिइएका सडकमा सवारी चलाउनु, मर्मतमा सम्बन्धित निकायले चासो नदिनु तथा ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखिम कम हुन नसकेको हो । सडकमा पैदल यात्रु र सडक यात्रुलाई छुट्टाछुट्टै सडक छैनन् । यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जानुपर्ने देखिन्छ ।

प्रकाशित मितिः   २७ चैत्र २०८१, बुधबार ०६:०३