‘राजतन्त्र फर्कने सम्भावना छैन’

सुर्खेत: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताएका छन् । मंगलवार वीरेन्द्रनगरमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले आफ्नो वंश बचाउन नसक्नेबाट देश चलाउने कुरा दिवा सपना मात्र हुने टिप्पणी गरेका हुन् ।

तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुँदा ज्ञानेन्द्रको परिवारका सबै कसरी जोगिए भन्ने प्रश्नसमेत उनले गरे । महासचिव पोखरेलले वीरेन्द्रका छोरा दीपेन्द्रलाई मृत्यु भएपछि मात्रै लोकलाजका कारण राजा घोषणा गरिएको बताए । ‘त्यसबेला नारायणहिटी राजदरबारमा जनता जान पाउँदैन थिए, अधिराजकुमार धीरेन्द्रको समेत वंशनाश गरियो, दीपेन्द्रले बिहे गरेका थिएनन्’, पोखरेलले भने, ‘अहिले केही मण्डलेहरू राजा चाहियो भन्दै आन्दोलित छन्, उच्छृङ्खल बनिरहेका छन्, उतिबेला राजा वीरेन्द्रको वंशनाश हुँदा ज्ञानेन्द्रका कोही पनि त्यसमा किन परेनन् ? जनतालाई अबुझ नसम्झन म मण्डलेहरूलाई अनुरोध गर्दछु ।’

जनताको लामो त्याग र बलिदानपछि प्राप्त गरेको प्रजातन्त्रलाई कुल्चने कुरा सोच्न पनि नसकिने बताए । राजसंस्था जनताको आन्दोलनबाट सधैंका लागि बिदा गरिसकेकोले उसले सत्कर्म गरेको रहेनछ भन्ने प्रमाणित भइसकेको जनाए । ‘कर्णाली प्रदेशलाई अँध्यारोमा राखेका राजावादी मण्डलेहरू गणतन्त्रले के दियो भन्छन् ?,’ उनले भने, ‘गणतन्त्रले दियो । एक पोका नुन बोक्नका लागि हेलिकप्टरको प्रतिक्षा गर्नुपर्ने कर्णालीवासीलाई आज मोटरबाट सामान पुग्न थालेको छ । गणतन्त्रले के दियो भन्नेहरूले यो कुरा देख्नसक्नुपर्छ । दशँैका बेलामा एक माना चामल पायो भने टीका लगाउन पाइन्न भन्ने अवस्थाबाट कर्णालीवासी आज चामलको भात खान सक्ने भएका छन् ।’

प्रकाशित मितिः   २७ चैत्र २०८१, बुधबार ०६:०१