अध्यक्षमा खड्का निर्विरोध

 

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा हर्षविक्रम खड्का निर्विरोध निर्वाचित भएका छन् । सोमवार भएको मनोनयन दर्तामा उनको एकल उम्मेदवारी परेको हो । अध्यक्ष पदका आकांक्षी धेरै भएपनि अन्ततः सबै आकांक्षीले खड्कालाई समर्थन गरेका हुन् ।

खड्का नेपाली कांग्रेस निकट व्यवसायी हुन् । सुर्खेत उद्योग वाणिज्य संघमा विगत लामो समयदेखि कांग्रेस निकट व्यवसायीहरूले नै नेतृत्व गर्दै आएका छन् । अघिल्लो पटक कांग्रेस निकट व्यवसायीहरूकै दुई वटा प्यानलले चुनावी प्रतिस्पर्धा गरेका थिए । अघिल्लो पटक अध्यक्षमा नै प्रतिस्पर्धा गरेर पराजित भएका खड्का यसपटक निर्विरोध भएका हुन् ।

संघको निर्वाचन वैशाख ६ गते तोकिएको छ । एकल उम्मेदवारी परेपछि अध्यक्षमा खड्का निर्विरोध भएपनि अन्य पदमा भने निर्वाचन हुनसक्नेछ । अध्यक्षबाहेकका पदमा दुई वटा प्यानलले उम्मेदवारी दिएका छन् । बरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेत, दीपेन्द्र ढकाल, कलाधर उपाध्याय ‘केदार शर्मा’ र प्रेमबहादुर रावतले मनोनयन दर्ता गराएका छन्  ।

वाणिज्य उपाध्यक्षमा भद्र भण्डारी, सिंहराज बम र रामप्रसाद पाण्डेको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा तारा रावत र कृति गुभाजु शाक्यको उम्मेदवारी परेको छ । त्यसैगरी उद्योग उपाध्यक्षमा पूर्णप्रसाद जैशी पाण्डे र प्रेम पाण्डेले उम्मेदवारी दिँदा महासचिव पदमा रामप्रसाद जैसी (राजु पाण्डे) र ज्ञानेन्द्र विश्वकर्माको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पदमा अर्जुनजंग शाही र लक्ष्मण देवकोट तथा उप–महासचिवमा सन्देश रावत, पूर्णदेव अधिकारी र पहलसिंह बस्यालको उम्मेदवारी परेको छ । सह–कोषाध्यक्षमा जनकबहादुर थापा र गणेश खड्काको उम्मेदवारी परेको छ ।

नौ जना पदाधिकारी पदमा २१ र १५ सदस्यमा २७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनएको छ । उम्मेद्वारहरूको प्रारम्भिक नामावली प्रकाशन चैत २७ गते गरिनेछ भने उम्मेदवारी उपर दाबी विरोध चैत २७ र २८ तथा उम्मेदवारी फिर्ता लिने समय चैत ३० र ३१ गते तोकिएको छ ।

दाबी विरोध उपर छानबिन र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत ३१ गते, निर्वाचन प्रचारप्रसार वैशाख १ देखि ४ र मतदान वैशाख ६ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म जिल्ला समन्वयन समितिमा गरिने निर्वाचन कार्यतालिका छ ।

प्रकाशित मितिः   २६ चैत्र २०८१, मंगलवार ०८:३६