‘विद्युत विस्तारमा विलम्ब नगर’

सुर्खेत: कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन विस्तारमा भएको विलम्बप्रति नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले आपत्ति जनाएको छ । अध्यक्ष सुशीलराज शर्माले सोमवार एक प्रेस वक्तव्य जारी गर्दै आयोजना अघि बढाउन सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् ।

कर्णाली प्रदेशको ऊर्जा व्यवस्थापनमा ऐतिहासिक महत्त्व राख्ने विद्युत विस्तार कार्यमा विलम्ब हुनु चिन्ताजनक विषय भएको वक्तव्यमा बताइएको छ । अदालतले समेत आयोजनाको पक्षमा फैसला गरिसकेको भएपनि अवरोध कायम रहनु र निर्माण कार्य नै अवरुद्ध हुनु सिँगो कर्णालीको विकासप्रति अन्यायपूर्ण रहेको भन्दै अध्यक्ष शर्माले नेपाल विद्युत प्राधिकरण, कर्णाली प्रदेश सरकार, राजनीतिक दल, जनप्रतिनिधिसहित सबै सरोकारवालाहरूलाई आवश्यक पहलकदमीका लागि अपिल गरेका छन् । ‘यो कानुनी शासन र विकासप्रति असहिष्णुता देखाउने गम्भीर संकेत हो । त्यसैले स्थानीय नागरिकसँग संवाद र सहजीकरण गरी समस्या समाधान गर्नेतर्फ सबै सरोकारवालाहरूको पहलकदमी जरुरी देखिएको छ,’ वक्तव्यमा भनिएको छ ।

अहिले उपलब्ध ३३ केभी विद्युतले यहाँको औद्योगिक उत्पादन, सञ्चारमाध्यम, स्वास्थ्य सेवा, शैक्षिक गतिविधिका साथै आमनागरिकको दैनिक जनजीवन प्रभावित भएकोतर्फ पनि महासंघले सचेत गराएको छ ।

‘अहिले सञ्चालनमा रहेको ३३ केभी विद्युत् प्रसारण लाइनले सुर्खेतसहित सिँगो कर्णालीको माग र आवश्यकता धान्न सक्ने अवस्था छैन । त्यसमाथि पुराना उपकरण र सीमित संरचनामार्फत सेवा दिइँदै आएको विद्युत् प्रणालीले बारम्बारको अवरोध र अस्थिरता झेल्नुपरेको छ । अर्कोतर्फ नागरिकले अनियमित लोडसेडिङको मार खेप्नुपरिरहेको छ । विद्युत् अनियमितताले सञ्चारगृह र सञ्चारकर्मीहरू अझ बढी मारमा परेका छन्,’ वक्तव्यमा भनिएको छ ।

प्रकाशित मितिः   २६ चैत्र २०८१, मंगलवार ०८:२९