मदन भण्डारी राजमार्ग: पूर्वी सुर्खेतमा २८ किलोमिटर कालोपत्रे

 

 

सुर्खेत: मदन भण्डारी राजमार्गअन्तर्गत सुुर्खेतको पूर्वी क्षेत्रमा पर्ने सडक स्तरोन्नतिको कामले गति लिएको छ । धुलियाबिट–भेडाबारी सडक खण्डमा स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।

राष्ट्रिय राजमार्गको मापदण्डअनुसार सडक निर्माणको काम भइरहेको हो । सडक कालोपत्रेको काम धमाधम भइरहेको छ । ३५ किलोमिटरमध्ये २८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी सात किलोमिटर सडक कालोपत्रे गर्नका लागि काम धमाधम अघि बढाइएको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ । कालोपत्रेका लागि अन्तिम चरणको काम भइरहेको छ । राजमार्गमा कालोपत्रे भइरहेको सडक दुई लेनको बन्नेछ । अहिले औषत चार मिटर चौडाइ रहेको सडकलाई स्तरोन्नति गरेर नौ मिटर बनाउन लागिएको हो ।

धुलियाबिट–भेडाबारी सडक खण्ड निर्माणमा ९० प्रतिशत भौतिक प्रगति भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत उक्त सडक खण्डमा अहिले निर्माण कार्य धमाधम भइरहेको छ । आयोजनाको वित्तीय प्रगति ८५ प्रतिशत रहेको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर रेशम ओलीका अनुसार बाँकी सात किलोमिटर सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ । ओलीले भने, ‘अब बाँकी सात किलोमिटर सडक कालोपत्रे गर्नका लागि तयार भएको छ । थोरै मात्र स्टक्चरको काम बाँकी छ । समयमा नै काम सक्नेगरी तयारीमा जुटेका छौँ ।’ निर्माण कम्पनीले समेत कामलाई तीव्र रूपमा अघि बढाएको उनले जानकारी दिए ।

तोकिएकै मितिमा काम सक्नेगरी निर्माण कम्पनीलाई ताकेता गरिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ । राजमार्गको स्तरोन्नतिका लागि २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । २०८० पुस २७ गतेसम्ममा स्तरोन्नतिको काम सक्ने गरी कालिका (केएस) वेदान्सी जेभी कैलालीले ठेक्का पाएको हो । २०८१ पुष २६ गतेसम्मका लागि म्याद थपिएको थियो । उक्त मितिमा काम नसकिएपछि पुनः म्याद थपिएको छ । अन्तिम पटक २०८२ भदौ २९ सम्म म्याद थप गरिएको छ । तोकिएकै समयमा काम सक्नेगरी तयारी भइरहेको ओलीले बताए ।

११ वटा मोटरेवल पुल बने

उक्त सडक खण्डमा १२ वटा मोटरेवल पुल निर्माण हुनेछन् । १२ वटा पुलमध्ये ११ वटा पुल निर्माण कार्य सकिएको छ । अब एउटा पुल मात्र बन्न बाँकी छ । दुई छुट्टा–छुट्टै ठेक्का सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको थियो ।

पुलको ठेक्का सम्झौता फरक–फरक निर्माण कम्पनीसँग गरिएको छ । सात वटा पुलको ठेक्का हिम सगरमाथा कन्ट्रक्सन कम्पनी चितवनले लिएको थियो । उक्त कम्पनीले सात वटै पुल निर्माण गरिसकेको छ । डिजाइन एण्ड विल्ड ठेक्कामार्फत् सात वटा पुल निर्माण गरिएको हो । मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतले उक्त कम्पनीसँग २६ करोड ५६ लाखमा ठेक्का सम्झौता गरेर काम सम्पन्न गरेको छ । २०७८ फागुन १५ गते ठेक्का सम्झौता भएको थियो । २०८१ भदौ १४ गते निर्माण सकिएको आयोजनाका इन्जिनियर रेशम ओलीले बताए ।

अर्को ठेक्कामार्फत् पाँच वटा पुल निर्माणको थालिएको थियो । के.एस कन्ट्रक्सन कम्पनी धनगडी, कैलालीले उक्त पुल निर्माणको काम गरिरहेको छ । २०७८ फागुन १५ गतेदेखि २०८१ भदौ १४ गतेसम्म पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो । अहिले म्याद थप गरेर काम भइरहेको जनाइएको छ । पाँच वटा पुलमध्ये चार पुल निर्माणको काम सकिएको छ भने एउटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पाँच वटा पुल निर्माणका लागि १३ करोड ७९ लाखमा ठेक्का सम्झौता गरिएको हो । म्याद थप गरेर एउटा पुल निर्माणको काम भइरहेको उनको भनाइ छ । २०८२ साउनसम्म अन्तिम पटक म्याद थपिएको हो । यो सडकले वीरेन्द्रनगरस्थित धुलियाबिटबाट भेरीपारिका बस्ती लेकवेशी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्नेछ ।

हालसम्म राजमार्गको २८ किलोमिटर कालोपत्रे भएको छ भने सात किलोमिटर सडक कालोपत्रेको तयारीमा छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार भेडाबारी सडकखण्डलाई नौ मिटर चौडाइसम्म कालोपत्रे गरिने भएको छ । स्तरोन्नति गर्दा झन्डै ५२ प्रतिशत सडक चौडाइ बनाइने छ ।

प्रकाशित मितिः   २७ चैत्र २०८१, बुधबार ०६:०६