परिषद्लाई पूर्णता
कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दुई पटक सरिसकेको छ । गत मंसिरमा आयोजना गर्ने भनिएको प्रतियोगिता पहिलो पटक चैतमा सारिएको थियो भने पछिल्लो पटक आगामी वर्षको जेठसम्म धकेलिएको छ । यसरी पटक–पटक प्रतियोगिता सर्दा सरोकारवालाहरू चिन्तित बनेका छन् । प्रतियोगिता लक्षित तयारी गरिरहेका खेलाडीहरूदेखि सम्बन्धित पक्षहरूले समयमै प्रतियोगिता आयोजना हुनुपर्ने बताइरहेका छन् । लगातार मिति सार्दा प्रतियोगिता माथि नै अन्योलता छाएको भन्दै तोकिएकै मितिमा प्रतियोगिता हुनुपर्ने दबाब बढेको छ ।
पछिल्लो निर्णयअनुसार आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशाँै राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेछ । त्यसका लागि वीरेन्द्रनगरमा रंगशाला निर्माणसहितका अन्य पूर्वाधार तयार पारिएको छ । दश हजार दर्शक अट्ने क्षमताको रंगशाला निर्माण पूरा भएको छ । जुन फिफा मापदण्ड अनुसारको फुटबल मैदानलगायतका अन्य संरचनाहरू बनाइएको छ । रंगशालाभित्र १६ वटा खेल खेलाउन सकिनेछ । दशौँ खेलकुदको लागि २४ खेल खेलाउने तयारी छ । प्रतियोगितालाई लक्षित गरेर कालिञ्चोक क्रिकेट मैदान निर्माण गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको गुरुङचोक र चिसापानीमा फुटबल मैदान निर्माण तयार पारिएको जनाइएको छ । दैलेख र रूकुमपश्चिममा कभर्डहल मर्मत गरिएको छ । हुम्लामा हकी खेल मैदान निर्माण भएको छ । जुम्लामा पनि खेल पूर्वाधार निर्माण भएका छन् । जुम्लामा भलिवल खेल मैदान तथा प्याराफिट निर्माण गरिएको छ । जिल्ला–जिल्लामा खेल पूर्वाधार निर्माण गरिए पनि खेलको मिति अन्योलमा हुँदा समस्या भएको हो ।
एकातिर प्रतियोगिताको मितिलाई लिएर अन्योलता देखिएको छ भने आयोजक प्रदेश कर्णालीको खेल क्षेत्र हेर्ने महत्वपूर्ण निकाय नै पदाधिकारीविहीन अवस्थामा छ । जसले गर्दा थप चिन्ता बढाएको छ । मुलुककै सबैभन्दा ठूलो खेल प्रतियोगिता आयोजनाको तयारी चलिरहँदा कर्णाली प्रदेश खेलकुद विकास परिषद् पदाधिकारीविहीन अवस्थामा छ । गत पुस ६ गतेदेखि उपाध्यक्ष, सदस्य सचिव र सदस्यहरूको कार्यकाल सकिएको हो । तर नयाँ पदाधिकारी नियुक्तिका लागि भने प्रक्रिया अघि बढेको छैन । पदाधिकारी नियुक्तिको जिम्मेवारी प्रदेश सरकारको हो । तर त्यसतर्फ सरकारले तदारुकता देखाएको छैन । समग्र खेलकुद क्षेत्रको विकासका साथै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माण र आवश्यक अन्य तयारीको लागि पनि खेलकुद परिषद्को भूमिका महत्वपूर्ण हुन्छ । तर सोही निकाय अहिले पदाधिकारीविहीन हुनुले पनि प्रदेश सरकार नै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाप्रति संवेदनशील हुन नसकेको टिप्पणी हुन थालेको छ । त्यसैले अब जतिसक्दो छिटो आवश्यक प्रक्रिया पु¥याएर खेलकुद परिषद्लाई पूर्णता दिन सरकारले ध्यान दिनुपर्ने जरुरी देखिन्छ ।
प्रकाशित मितिः २५ चैत्र २०८१, सोमबार ०६:०३
सम्पादकीय ।