एमालेले सुर्खेतमा जागरणसभा गर्ने

सुर्खेत: नेकपा (एमाले) सुर्खेतले जागरणसभा गर्ने भएको छ । यही चैत २६ गते वीरेन्द्रनगरमा बृहत् जनप्रदर्शनसहित जागरणसभा आयोजना गरिने भएको हो । आइतवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी जागरणसभा गर्न लागिएको जानकारी गराइएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, स्थायित्व र जनअधिकारको सुदृढीकरणका लागि देशभर जागरण अभियान सञ्चालन गरिरहेको एमालेले गणतन्त्र, संविधान र जनताको अधिकारमाथि भइरहेको प्रतिगामी षड्यन्त्रविरुद्ध जनजागरण गर्न लागेको एमाले सुर्खेत जिल्ला कमिटिका अध्यक्ष कुलमणी देवकोटाले बताए ।

कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, प्रदेश इञ्चार्ज गोरख बोगटीलगायतका नेताहरूकोसम्बोधन रहने जनाइएको छ । जिल्ला कमिटी सुर्खेतको आयोजनामा र कर्णाली प्रदेश कमिटीको संयोजनमा हुन लागेको उक्त कार्यक्रममा १२ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । अध्यक्ष देवकोटाले जागरणसभामा सहभागिता जनाउन अपिलसमेत गरेका छन् ।

गणतन्त्र पक्षधरहरूको कार्यक्रम भएपनि एमाले सुर्खेतले भने एक्लै कार्यक्रम गर्ने भएको हो । पछिल्लो समय चर्चा भइरहेको राजावादीको गलत विषयको भण्डाफोर गर्ने र नागरिकलाई सुशिचित गराउने उद्देश्य राखिएको छ ।

प्रकाशित मितिः   २५ चैत्र २०८१, सोमबार ०६:०१