दशौँ राष्ट्रिय खेलकुदका लागि दबाब

तोकिएकै मितिमा प्रतियोगिता सञ्चालन गर्न सुझाव

सुर्खेत: कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दुई पटक सरिसकेको छ । गत मंसिरमा आयोजना गर्ने भनिएको प्रतियोगिता पहिलो पटक चैतमा सारिएको थियो भने पछिल्लो पटक आगामी वर्षको जेठसम्म धकेलिएको छ । लगातार मिति सार्दा प्रतियोगिता माथि नै अन्योलता छाएको भन्दै तोकिएकै मितिमा प्रतियोगिता हुनुपर्ने दबाब बढेको छ ।

तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनुपर्ने मुख्यन्त्री यामलाल कँडेलले बताए । शनिवार संघीय संसद, प्रतिनिधि सभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र मुख्यमन्त्री कँडेलबीचको तयारी छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । संघीय सरकारले विभिन्न बहानामा प्रतियोगिता सार्न नहुने भन्दै उनले प्रतियोगिता सञ्चालन गर्न सबै पूर्वाधार बनिसकेको जानकारी दिए । उनले भने, ‘पटक–पटक प्रतियोगिता सार्दा नराम्रो सन्देश गइरहेको छ, अब तोकिएकै मितिमा प्रतियोगिता गर्नुपर्छ, नभए प्रदेशलाई जिम्मा दिए हुन्छ ।’ प्रदेशमा पर्याप्त पूर्वाधार बनिसकेकाले योजनावद्ध रूपमा काम अघि बढाउनसमेत उनले संघीय सरकारलाई सुझाव दिएका छन् । प्रदेशलाई कमजोर बनाउने गरी गतिविधि अघि बढेको भन्दै प्रदेश सरकार आफैले पनि विभिन्न समयमा पहल गरिरहेको बताए ।

प्रतिनिधिसभा सदस्य तथा शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरकारको ध्यानाकर्षण गराउने बताए । प्रतियोगिता आयोजनास्थलको स्थलगतको निरीक्षण पछि थापाले प्रतियोगिता सञ्चालनको आधार तय भएको जनाए । प्रदेश सरकारको राय र स्थलगतको निरीक्षण पछि संघीय सरकारकोलाई समितिको तर्फबाट सुझाव दिइने उनले जनाए । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा हुने थापाको भनाइ छ ।

प्रतिनिधि सभा डिगबहादुर लिम्बु, दिपा शर्मा, रामप्रकाश चौधरी, विनिताकुमारी सिंह र ज्ञानु बस्नेत सुवेदीले लगायतको टोलिले आयोजनास्थलको स्थलगत अवलोकन र आयोजनाको तयारी तथा व्यवस्थापनको सम्बन्धमा छलफल गरेका थिए । प्रतियोगिता सञ्चालन गर्न तयारी पुगेको भन्दै उनीहरूले यस विषयमा सरकारको ध्यानाकषर्ण गराउने बताएका छन् । कुनै पनि हालतमा प्रतियोगिता सार्न नहुने उनीहरूको तर्क छ । यस विषयमा सरकारलाई विस्तृतमा जानकारी गराउने र अन्य तयारीका कामसमेत हुनुपर्नेमा उनीहरूको जोड थियो ।

छलफलमा बोल्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेश सरकारले सहजीकरणको कामलाई तिव्रता दिएको बताए । दशौँ राष्ट्रिय खेलकुद मूल आयोजक सचिवालय सञ्चालनमा आएसँगै सोही अनुरूपमा काम अघि बढाइएको उनको भनाइ छ । आयोजना तोकिएकै मितिमा नहुँदा नकारात्मक सन्देश जाने भन्दै उनले आवश्यक तयारी पूरा भएको बताए । सचिवालय स्थापनापछि भने प्रतियोगिता आयोजनाहुने विश्वास बढेको उनले जानकारी दिए ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारी तथा व्यवस्थापनको सम्बन्धमा भएका काम कारबाही र वस्तुगत अवस्थाको बारेमा सुर्खेतस्थित खेल सम्वद्ध संघ, संगठन एवम् संस्थाका प्रतिनिधिहरूसँग समेत छलफल गरिएको थियो । सबैले पूर्वाधार बनिसकेको दुई पटक मिति सरिसकेको भन्दै अब भने तोकिएकै मितिमा आयोजना हुनुपर्नेमा जोड दिएकाथिए ।

 

ठाउँ–ठाउँमा खेलपूर्वाधार

पछिल्लो निर्णयअनुसार आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशाँै राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेछ । त्यसका लागि वीरेन्द्रनगरमा रंगशाला निर्माणसहितका अन्य पूर्वाधार तयार पारिएको छ । दश हजार दर्शक अट्ने क्षमताको रंगशाला निर्माण पूरा भएको छ । जुन फिफा मापदण्ड अनुसारको फुटबल मैदानलगायतका अन्य संरचनाहरू बनाइएको छ ।

रंगशालाभित्र १६ वटा खेल खेलाउन सकिनेछ । दशौँ खेलकुदको लागि २४ खेल खेलाउने तयारी छ । प्रतियोगितालाई लक्षित गरेर कालिञ्चोक क्रिकेट मैदान निर्माण गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको गुरुङचोक र चिसापानीमा फुटबल मैदान निर्माण तयार पारिएको जनाइएको छ । दैलेख र रूकुमपश्चिममा कभर्डहल मर्मत गरिएको छ । हुम्लामा हकी खेल मैदान निर्माण भएको छ । जुम्लामा पनि खेल पूर्वाधार निर्माण भएका छन् । जुम्लामा भलिवल खेल मैदान तथा प्याराफिट निर्माण गरिएको छ ।

प्रकाशित मितिः   २४ चैत्र २०८१, आईतवार ११:४७