शैक्षिक विकास

कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रको बजेट वृद्धि गरेको छ । अघिल्ला आर्थिक वर्षहरूभन्दा चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रको बजेटमा वृद्धि गरेको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३१ अर्ब ४१ करोड ४१ हजार बजेट ल्याएको छ । त्यमध्ये कूल बजेटको शिक्षा क्षेत्रमा पाँच दशमलव आठ प्रतिशत बजेट विनियोजन गरेको छ । यो वर्ष सामाजिक विकास मन्त्रालयको कूल बजेटको ३१ दशमलव नौ प्रतिशत बजेट शिक्षामा विनियोजन गरिएको छ । अघिल्ला पाँच आर्थिक वर्षको तुलनामा यो वर्ष शिक्षामा बजेट सबैभन्दा बढी हो । यो वर्ष शिक्षामा बजेटको आकार बढेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शिक्षामा लगानी वद्धि गर्ने उद्देश्यले सरकारले केही बढाएर बजेट विनियोजन गरेको हो ।

बजेटको आकार केही बढेको भएपनि अझै शिक्षामा पर्याप्त बजेट विनियोजन हुनसकेको छैन । अघिल्ला आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले न्यून बजेट विनियोजन गर्ने गरेको थियो । न्यून बजेट विनियोजन गर्ने तथा शैक्षिक पूर्वाधारमा मात्र बजेट केन्द्रित गर्दा शैक्षिक गुणस्तरमा ध्यान नदिइएको गुनासो आउने गरेको छ । यो वर्ष शैक्षिक गुणस्तर वृद्धि गर्ने लक्ष्यका साथ बजेट प्राथमिकतामा परेको छ । सरकारले आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेशको कूल बजेटको दुई दशमलव पाँच प्रतिशत बजेट विनियोजन गरेको थियो भने सामाजिक विकास मन्त्रालयको कूल बजेटको १६ दशमलव नौ प्रतिशत बजेट विनियोजन भएको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेशको कूल बजेटको चार दशमलव तीन प्रतिशत र सामाजिक विकास मन्त्रालयको कूल बजेटको २५ दशमलव तीन प्रतिशत बजेट विनियोजन गरिएको थियो । यसैगरी आर्थिक वर्ष २०७८÷०७९ मा कूल बजेटको दुई दशमलव पाँच प्रतिशत तथा मन्त्रालयको १४ दशमलव तीन प्रतिशत बजेट थियो । आर्थिक वर्ष २०७९÷०८० मा कूल बजेटको तीन दशमलव नौ तथा मन्त्रालयको २० दशमलव ६ प्रतिशत बजेट विनियोजन भएको थियो । आर्थिक वर्ष २०८०÷०८१ मा कूल बजेटको तीन दशमलव आठ प्रतिशत र मन्त्रालयको कूल बजेटको २१ दशमलव दुई प्रतिशत बजेट शिक्षामा विनियोजन गरिएको थियो । यो वर्ष प्रदेश सरकारले शिक्षा क्षेत्रमा बजेट प्राथमिकतामा राखेको हो ।

बजेटले गुणस्तरीय शिक्षामा आम नागरिकको पहुँच बढाई शिक्षित र मर्यादित समाजको विकास निर्माणमा जोड दिइएको छ । त्यस्तै शिक्षालाई जीवनोपयोगी, आधुनिक, विज्ञान प्रविधिमा आधारित, व्यावसायिक र अनुसन्धानमुखी बनाउँदै लैजाने र प्राविधिक शिक्षामा लगानी तथा गुणस्तर अभिवृद्धि गरिने विषयलाई पनि सरकारले प्राथमिकता दिएको पाइएको छ । यसले कर्णालीकौ शैक्षिक विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   १४ चैत्र २०८१, बिहीबार १३:२१