कर्णालीका ७२ पालिकामा ‘फोरजी’ सेवा
सुर्खेत: कर्णालीका ७२ पालिकामा नेपाल टेलिकमले फोरजी सेवा विस्तार गरेको छ । ७९ वटा स्थानीय तह रहेको प्रदेशका अधिकांश पालिकामा फोरजी सेवा पुगिसकेको छ । अब सात वटा पालिका बाँकी छन् ।
डोल्पा र हुम्ला जिल्लाका गरी सात वटा पालिकामा फोरजी सेवा पुग्न बाँकी छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको सरकारी स्वामित्वको कम्पनीले कर्णालीका ७२ पालिकामा सेवा विस्तार गरेको हो । सेवा क्षेत्र विस्तारको काम धमाधम भइरहेको नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेतले जनाएको छ । प्रदेशका दशवटै जिल्लामा सरकारी स्वामित्वको फोरजी सेवा पुगेको छ । सुर्खेत क्षेत्रभरी ७० ठाउँमा मोबाइल सेवाका लागि फोरजी सेवाका टावर निर्माण गरिएको प्रादेशिक कार्यालयका प्राविधिक प्रमुख मधुसुदन दाहालले बताए ।
दैलेखमा ३०, डोल्पामा १०, हुम्लामा ६, जाजरकोट र जुम्लामा २१÷२१ कालिकोटमा २२, रूकुमपश्चिममा १९, सल्यानमा ४० ठाउँमा फोरजी सेवाका लागि टावर निर्माण गरिएको छ । जिल्ला–जिल्लाको जनसंख्याको आधारमा फोरजी सेवा विस्तार गरिएको दाहालले जानकारी दिए । अब बाँकी रहेका सात वटा पालिकामा फोरजीका एक सय वटा टावर निर्माण गरिने उनले बताए । विकास र उत्पादनमा प्रविधिको प्रयोगका रूपमा फोरजी सेवालाई विस्तार गर्न लागिएको जनाइएको छ । प्रयोगकर्ता बढेसँगै फोरजी सेवा विस्तारको काम तिव्रगतिमा अघि बढेको हो ।
सेवा सुधार गर्न सुझाव
नेपाल टेलिकमको सेवा विस्तार गर्दै सुधार गर्नुपर्नेमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रमका सहभागीले सुझाव दिएका छन् । नेपाल टेलिकमले बुधवार गरेको पत्रकार सम्मेलनमा सहभागीहरूले टेलिकमको सेवा सुधारमा ध्यान दिन सुझाव दिएका हुन् । कार्यक्रममा पत्रकार महासंघका सुर्खेतका अध्यक्ष सुशिलराज शर्माले नेपाल टेलिकमलाई जनताकाबीचमा पु¥याउने र सुधार गर्ने उद्देश्यका साथ अघि बढाउनुपर्ने सुझाव दिए । उनले सुगम र दुर्गम स्थानमा भएको पनि मोबाइलका फोन नटिप्ने समस्या भएको गुनासोलाई तत्काल समाधान गर्नुपर्ने सुझाव दिएका हुन् । सरकारी निकायका बिचमा प्रभावकारी समन्वयको अभावमा सरकारी सेवामा अवरोध आउने गरेको उल्लेख गर्दै त्यस्तो बेलामा जनप्रतिनिधिसँग छलफल गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
पत्रकार महासंघ सुर्खेतका पूर्व अध्यक्ष ललित बसेलले नेपाल टेलिकमले निर्माण गर्ने संरचनाले जोखिम बढेको बताए । सडक छेउछाउमा अनुमानका भरमा संरचना निर्माण गरिएकाले दुर्घटनाका जोखिम बढेको उनको भनाइ छ ।
यस्तै नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका प्रमुख कमल लामिछानेले नेपाल टेलिकमले आफ्नो सेवा विस्तार र सुधार गर्दै लगेको बताए । अहिले पनि विविध कारणले जनताले चाहे अनुसारको काम हुन नसकेको बताउँदै सेवा सुधारका लागि बजेट र कार्यक्रमको व्यवस्थापन भइरहेको जानकारी दिए । डिजिटल कर्णाली निर्माण गर्नेगरी काम अघि बढाइएको उनको भनाइ छ । केन्द्रसँगको परनिर्भरता हटाउने गरी काम सुरु भएकाले प्रतिफल आउन समय लाग्ने बताए । एडिएसएल, इभिडिओ, थ्रिजी डाटा, वाइम्याक्स, फाइबर इन्टरनेट, डिएसएल इन्टरनेट, स्काइडाटा, जिपिआरएस, डाइअफ इन्टरनेटलगायत सेवा उपलब्ध गराउँदै आएको टेलिकमले आगामी दिनमा यी सबै सेवालाई थप गुणस्तरीय बनाउँदै प्रदेशभर विस्तार गर्ने योजना बनाएको छ ।
कर्णालीका अधिकांश स्थानमा अहिलेपनि टेलिफोनले काम गर्दैन । नेटवर्कको सिग्नल भएपनि फोनले काम नगर्ने गरेको गुनासो बढिरहेको छ । सेवा विस्तारसँगै सबैक्षेत्रसँग छलफल गरेर सेवालाई प्रभावकारी बनाउन लागिएको निर्देशनालयले जनाइएको छ ।
प्रकाशित मितिः १४ चैत्र २०८१, बिहीबार १३:३४
साझा बिसौनी ।