पर्यटन प्रवर्द्धन
वीरेन्द्रनगर नगरपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिएको छ । संरक्षणको अभावमा रहेका ताल, पार्क र चौतारी पुनःर्निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने योजना बनाइएको नगरपालिकाले जनाएको छ । बुलबुलेमा ताल संरक्षण, घण्टाघरमा पार्क निर्माण र छहारी बस्नका लागि वर–पिपलसहितका चौतारी संरक्षण गरिएको छ । अहिले बुलबुले ताल र घण्टाघर पार्क अवलोकन गर्ने नागरिकको घुइचो लाग्ने गरेको छ । बिदाको समयमा बुलबुले तालमा मात्र दैनिक सात सय जनाले अवलोकन गर्ने गरेको जनाइएको छ । त्यहाँको डुङ्गा प्रमुख आकर्षक हो । हालै सञ्चालनमा आएको घण्टाघर पार्कमा मात्र दैनिक चार/पाँच सय नागरिकले अवलोकन गर्ने गरेका छन् । उनीहरूले फोटो खिच्ने र भिडियो बनाउने गरेका छन् । आन्तरिक पर्यटकको पहिलो गन्तव्यको रूपमा वीरेन्द्रनगरका काँक्रेविहार, बुलबुले ताल, सहिद पार्क र घण्टाघर पार्कलाई लिन सकिन्छ ।
नगरपालिकाले जीर्ण अवस्थामा रहेका संरचनाको पुननिर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वर–पिपलसहितका चौतारी निर्माण तथा नयाँ–नयाँ पर्यटकीय संरचनाको निर्माणमा जोड दिएको हो । वीरेन्द्रनगरको अर्को प्रमुख पर्यटक गन्तव्यको रूपमा सहिद पार्कलाई लिन सकिन्छ । पार्क व्यवस्थित बनेसँगै दैनिक पार्क अवलोकन गर्नेको घुइचो लाग्ने गरेको छ । पर्यटन क्षेत्र विस्तार योजनाअनुसार जिल्लाको प्रमुख पर्यटकीय स्थल बुलबुलेमा नयाँ ताल निर्माण कार्य सुरु गरिएको छ । चरा र पानी संरक्षणको लागि भन्दै वीरेन्द्रनगर गुरुयोजना कार्यान्वयनअन्तर्गत ताल निर्माण गर्न लागिएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालयको एक करोड १२ लाख ३६ हजारमा ताल निर्माण गर्न लागिएको हो । २०८२ असार १० गतेभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी प्रवीन निर्माण सेवाले निर्माणको जिम्मा लिएको छ । उक्त ताल शान्त वातावरणमा चराचुरुङ्गीलाई खेल्न र मनोरम दृश्यका लागि मात्र बनाइने छ । बुलबुलेमा तालको सौन्दर्य बढाउनका लागि नयाँ ताल निर्माण गर्न लागिएको हो । ताल चार हजार दुई मिटर क्षेत्रफलमा बनाइने छ । तालमा जथाभावी रूपमा फोहोर जम्मा हुँदा थप दुर्घन्धित हुनुका साथै विभिन्न किसिमका चराहरू विचलित भइरहेका छन् ।
त्यसो त वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरका रूपमा समेत विकास गर्न लागिएको छ । वीरेन्द्रनगरलाई सुन्दर, सफा र हरियालीयुक्त सहर बनाउने दीर्घकालीन सोचका साथ हरितनगरका रूपमा विकास गर्न लागिएको हो । त्यसका लागि नगरपालिकाले ‘एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरभित्र नयाँ घर निर्माण गर्ने घरधनीले आफ्नो आँगनमा दुई बिरुवा वृक्षरोपण गर्नुपर्ने छ भने त्यसको रेखदेख पनि आफैँले गर्नुपर्ने छ । नगरपालिकाको यो नीतिले वीरेन्द्रनगरलाई हरियाली र सुन्दर बनाउन सघाउ पुग्ने अपेक्षा लिएको छ ।
प्रकाशित मितिः ११ चैत्र २०८१, सोमबार ०६:०३
सम्पादकीय ।