वीरेन्द्रनगरको पर्यटन योजना: पुराना संरक्षण, नयाँ क्षेत्र विस्तार

 

 

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिएको छ । संरक्षणको अभावमा रहेका ताल, पार्क र चौतारी पुनःर्निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने योजना बनाइएको नगरपालिकाले जनाएको छ ।

बुलबुलेमा ताल संरक्षण, घण्टाघरमा पार्क निर्माण र छहारी बस्नका लागि वर–पिपलसहितका चौतारी संरक्षण गरिएको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । उनका अनुसार अहिले बुलबुले ताल र घण्टाघर पार्क अवलोकन गर्ने नागरिकको घुइचो लाग्ने गरेको छ । बिदाको समयमा बुलबुले तालमा मात्र दैनिक सात सय जनाले अवलोकन गर्ने गरेको जनाइएको छ । त्यहाँको डुङ्गा प्रमुख आकर्षक हो ।

हालै सञ्चालनमा आएको घण्टाघर पार्कमा मात्र दैनिक चार÷पाँच सय नागरिकले अवलोकन गर्ने गरेका छन् । उनीहरूले फोटो खिच्ने र भिडियो बनाउने गरेका छन् । आन्तरिक पर्यटकको पहिलो गन्तव्यको रूपमा वीरेन्द्रनगरका काँक्रेविहार, बुलबुले ताल, सहिद पार्क र घण्टाघर पार्कलाई लिन सकिन्छ ।

नगरपालिकाले जीर्ण अवस्थामा रहेका संरचनाको पुननिर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वर–पिपलसहितका चौतारी निर्माण तथा नयाँ–नयाँ पर्यटकीय संरचनाको निर्माणमा जोड दिएको हो । वीरेन्द्रनगरको अर्को प्रमुख पर्यटक गन्तव्यको रूपमा सहिद पार्कलाई लिन सकिन्छ । पार्क व्यवस्थित बनेसँगै दैनिक पार्क अवलोकन गर्नेको घुइचो लाग्ने गरेको छ ।

 

बुलबुलेमा नयाँ ताल

जिल्लाको प्रमुख पर्यटकीय स्थल बुलबुलेमा नयाँ ताल निर्माण कार्य सुरु गरिएको छ । चरा र पानी संरक्षणको लागि भन्दै वीरेन्द्रनगर गुरुयोजना कार्यान्वयनअन्तर्गत ताल निर्माण गर्न लागिएको हो ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालयको एक करोड १२ लाख ३६ हजारमा ताल निर्माण गर्न लागिएको हो । २०८२ असार १० गतेभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी प्रवीन निर्माण सेवाले निर्माणको जिम्मा लिएको छ । कम्पनीले कम्पाउण्ड वाल, नालालाई व्यवस्थित बनाउनुका साथै ताल वरिपरि मान्छे हिँड्ने फुटपाथ बनाइने लगायतका काम गर्नेछ ।

भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेखर चपाईका अनुसार अहिले पानीको स्रोत भएपनि लिकेज भइरहेको छ । त्यसलाई संरक्षण गर्नु पनि उद्देश्य रहेको छ । यसअघि निर्माणको तालसँगै जोड्ने गरी उक्त ताल निर्माण गर्न थालिएको छ । यसअघिको तालमा डुङ्गा चलाउने गरिएपनि नयाँ बन्ने तालमा डुङ्गा चलाउन पाइने छैन । उक्त ताल शान्त वातावरणमा चराचुरुङ्गीलाई खेल्न र मनोरम दृश्यका लागि मात्र बनाइने छ । बुलबुलेमा तालको सौन्दर्य बढाउनका लागि नयाँ ताल निर्माण गर्न लागिएको हो । ताल चार हजार दुई मिटर क्षेत्रफलमा बनाइने छ । तालमा जथाभावी रूपमा फोहोर जम्मा हुँदा थप दुर्घन्धित हुनुका साथै विभिन्न किसिमका चराहरू विचलित भइरहेका छन् ।

कर्णाली आउने हरेक पर्यटकको रोजाइँमा बुलबुले पनि पर्ने गरेको छ । बुलबुलेमा बिदाका दिनमा बढी पर्यटक आउने गर्दछन् । वि.सं. २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो । बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै संघीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहेको छ । बुलबुलेको मुख्य आकर्षण जमिनमुनिबाट बुलबुल भएर आउने पानीको संकलन गरी बनाइएका कलात्मक धारा र पार्क हुन् । तालको पूर्वतर्फ महिला तथा दक्षिणतर्फ पुरूषका लागि पाँच÷पाँच वटा धारा छन् ।

 

हरितनगर बन्दै वीरेन्द्रनगर

वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरका रूपमा विकास गर्न लागिएको छ । वीरेन्द्रनगरलाई सुन्दर, सफा र हरियालीयुक्त सहर बनाउने दीर्घकालीन सोचका साथ हरितनगरका रूपमा विकास गर्न लागिएको हो । त्यसका लागि नगरपालिकाले ‘एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरभित्र नयाँ घर निर्माण गर्ने घरधनीले आफ्नो आँगनमा दुई बिरुवा वृक्षरोपण गर्नुपर्ने छ भने त्यसको रेखदेख पनि आफैँले गर्नुपर्ने छ ।

नगरपालिकाको यो नीतिले वीरेन्द्रनगरलाई हरियाली र सुन्दर बनाउन सघाउ पुग्ने अपेक्षा लिएको नगरपालिकाले जनाएको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले अब वीरेन्द्रनगरमा नयाँ घर निर्माण गर्नेले दुई बिरुवा रोप्नैपर्ने नीति बनाएको बताउँदै वृक्षरोपण अभियान पनि चलाएको बताइन् । उनका अनुसार विगतभन्दा वीरेन्द्रनगर सुन्दर, सफा तथा हरियाली बन्दै गएको छ ।

सडकछेउमा अहिले फलफूलका बिरुवासमेत रोपिएका छन् । नगरपालिकाले ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गरिरहेको छ । नगरपालिकाले प्लास्टिकमुक्त नगर बनाउने गरी योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्न सबै नागरिक जागरुक हुनुपर्ने उनको भनाइ छ । वीरेन्द्रनगर नगरपालिकामा तीन सय ५० भन्दा बढी टोल विकास समिति छन् । टोल विकास समितिले पनि आफ्नो टोल हरियाली बनाउनु पर्छ भनेर सचेतना र अभियान चलाइरहेको उनले जनाइन् । आकर्षक र सुन्दर वीरेन्द्रनगरको परिकल्पना गरेर पूर्वाधार निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मितिः   १० चैत्र २०८१, आईतवार ०६:०६