आगलागीको जोखिम
कर्णाली प्रदेशमा बर्सेनि आगलागीका घटना हुन्छन् । पछिल्लो समय ‘सर्ट सर्किट’ले धेरै आगलागी हुने गरेको छ । विद्युत ‘सर्ट सर्किट’ भएर कर्णालीमा सानातिना आगलागी दैनिकजसो हुन थालेका छन् । मानवीय त्रृटिका कारण ‘सर्ट सर्किट’ का घटना हुनेगरेको बताइन्छ । बिजुलीका तार ‘लुज’ भएर, विद्युतीय उपकरण जथाभावी प्रयोग गरिँदा, नियमित मर्मतसम्भार नहुँदा, घरको भान्छामा प्रज्वलनशील वस्तु राख्दा विद्युत सर्ट हुने गरेको छ । विद्युत ‘सर्ट’का कारण हुने दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको छ ।
पछिल्लो समय कर्णाली प्रदेशमा आगलागीबाट ठूलो मानवीय क्षति हुने गरेको छ । घरमा आगलागी हुँदा मानवीय क्षति हुने गरेको हो । अधिकांश घटना विद्युत सर्ट भएर हुने गरेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार आगलागीका घटनाबाट मानवीय क्षति बढ्दो क्रममा रहेको पाइएको छ । चालु आर्थिक वर्षको हालसम्ममा प्रदेशभर एक सय २२ आगलागीका घटना भएका छन् । आगलागीबाट पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७८÷०७९ मा एक सय ३१ आगलागीका घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७९÷०८० मा एक सय १४ वटा आगलागीका घटना भएका थिए । उक्त वर्ष आठ जनाको मृत्यु भएको थियो भने २२ जना घाएते भएका थिए । आर्थिक वर्ष २०८०÷०८१ मा सबैभन्दा बढी तीन सय ४२ वटा आगलागीका घटना भएका थिए । जसमा १८ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए ।
अधिकांश आगलागीका घटना विद्युत सर्ट भएर हुनेगरेको पाइएको छ । केही घटना विद्युत सर्ट भएर र केही घटना आगलागी भएपछि विद्युत सर्ट हुने गरेका छन् । अन्य लागलागीबाट विद्युत सर्ट भएर घटना हुन्छन्, विद्युत सर्ट भएर पनि आगलागी भएका घटना भएका छन् । कतिपय घटना विद्युत सर्ट भएर होकी आगलागी भएर विद्युत सर्ट भएको भनि एकिन गर्न समस्या हुनेगरेको छ । अर्थिङ नगरेर विद्युत जडान गर्दा ‘सर्ट सर्किट’ हुने गरेको छ । कर्णाली प्रदेशमा विद्युत जडान गरेका एक सय जनामध्ये एकजनाले अर्थिङ गरेर मात्र विद्युत जडान गर्नेगरेको बताइन्छ । आवश्यक जानकारी नहुँदा कमैले मात्र अर्थिङ जडान गर्नेगरेको देखिछ । अहिले विद्युत जडान गर्नेबेलामा नागरिकलाई सचेत गराउने गरिएको छ । विशेष गरेर गाउँघरमा यस्ता धेरै घटना हुनेगरेका छन् । त्यसैले अनिवार्य अर्थिङ गर्ने र सर्ट सर्टिटबारे नागरिकलाई सचेत गराउन जरुरी छ ।
प्रकाशित मितिः १० चैत्र २०८१, आईतवार ०६:०३
सम्पादकीय ।