ह्याङओभर
मास्टर्स सकिएपछि हामीजस्ता मध्यम वर्गीय विद्यार्थीहरूको औपचारिक शिक्षा लगभग सकिन्छ । ज्ञानको भोक मरेको छैन तर पढाई सकियो । एकातिर शैक्षिक बेरोजगार हुनुको छटपटि अर्कोतिर हरेक बिहान कलेज जाने, क्यान्टिनमा बसेर देश–परिवेश र राजनितिक बहस गर्दै चियाको चुस्किसँग सिखर आइसको सर्को उडाउने लतबाट अलिकति मात्रै भए पनि रिल्याक्स हुन साथीहरूको लहलहैमा लागेर नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा एलएलबीका लागि इन्ट्रान्समा फारम भरेँ । भरेँ पनि के भन्नु, साथीहरूले भरिदिए ।
मास्टर्स सकेर कोही ब्याच्लर पढ्न खोज्दै छ भने त्यो म थिएँ । एलएलबी नै गर्नु थियो भने समाजशास्त्रमा मास्टर्स किन गरेको ? प्रश्न साच्चै जटिल थियो । आमिर खानको बलिउड चलचित्र ‘थ्री इडियटस्’को डाइलग चोरेर आफूले आफैलाई भनेँ, ‘गधे ।’
उसै पनि विश्वविद्यालयले के नै पढाउछन् र ? केही वर्ष कलेजको चक्कर लगाएर केही ठक्कर खाएपछि मार्केटमा बिकाउन मुश्किल हुने काजगको पुर्जा दिएर पठाउँछन् । कलेज सकिएपछि सायदै कुनै किताब पढियो होला । नपढेर दिएको इन्ट्रान्स परीक्षाको के भर पर्नु ?
म्यारिट लिष्टभित्र पर्छु जस्तो लागेको पनि थिएन ।
साउनको दोस्रो बिहीवार साझ ७ बजेतिर फेसबुकको भित्तामा महेन्द्र बहुमुखी क्याम्पसले एलएलबी इन्ट्रान्सको रिजल्ट पोष्ट्यायो । इन्ट्रान्स दिनेको भिडबाट म्यारिट लिष्टको पुछारतिर आफ्नो नाम भेटाइसकेपछि आँखा म्याराथुन दौडमा निस्कियो पहिलो नम्बरतिर । भर्खर सुबिन भट्टराईको ‘समर लभ’ पढेर सायाको ह्याङओभर नउत्रिएको मस्तिष्कले सोच्यो, उपन्यासलाई रियलमै प्रयोग गरी हेराँै न के जान्थ्यो र !
संयोग, पहिलो नम्बरमा केटीकै नाम थियो, रिमा चन्द ।
आहा कति राम्रो नाम । मैले साया भेटाएँ ।
वर्षातको अन्त्य र शरदको सुरुवातसँगै केही नयाँ सुरुवात हुनेवाला थियो । असोजमा कलेज एड्मिसन गरेर सुरुका केही क्लास एटेन्ड भएर फर्किने सोचमा थिएँ । पढाइको चिन्ताले होइन, मनमा अंकुरण हुँदै गरेको एउटा काल्पनिक प्रेमको परीक्षण गर्नु जो थियो ।
हामी अरु केही गर्न नसके पनि प्रयास गर्न त सक्छौँ नि । म त्यही प्रयासमा थिएँ । पात्र र पात्र अनि कथा र कथा मिसाएर म एक अनौठो परीक्षण गर्दै थिएँ । सफल भए गज्जप भइगो, नभए असफल हुने छुट हरकोहीलाई छँदै छ ।
कलेजको पहिलो दिन ऊ आउछे कि आउदिन होला, सुर्खेतमा बस्ने म नियमित कलेज जान पनि त सक्दैन । ऊ आइन भने त सुरु नहुँदै सकिन्छ मेरो समर लभ ।
बिपी चोकको एक होटलमा बसेको म बिहानै बागेश्वरी मन्दिर पुगेर फर्केपछि पो याद आयो, अहो ऊ कलेज आइदियोस् भनेर माग्नै पो बिर्सिएछु, थुक्क म हुस्सु ।
सुविन दाजुले ठीकै भनेका रहेछन्, लत त यादहरूकै बढी हुने रहेछ । नामसँग पनि यो कस्तो प्रेम हो । आकर्षणमै त यति छटपटि र बेचैनी छ, साच्चै मायाले कति सताउँदो हो । अटो चढेर कलेजको गेटमा पुग्दासम्म समर लभको साया र मेरो कहानीको काल्पनिक रिमा आँखामा नाँचिरहेका थिए ।
क्याम्पसको गेटबाट भित्र छिरेपछि केटीहरू देखिँदा साया यहि हो कि जस्तो लाग्थ्यो । साच्चै साया होइन क्यारे रिमा पो त ।
कक्षा कोठामा पस्दा थोरै उत्सुकता, थोरै नर्भस थिएँ । उसै पनि म झट्ट कसैसँग परिचय गरिहाल्ने र बोलिहाल्ने स्वभावको परिनँ । स्वभाव अन्तरमुखी छ, रहर फेरि नामबाट मान्छे खोजेर प्रेम गर्ने ! उफ ।
कक्षामा थोरै मात्रै विद्यार्थी उपस्थित थिए । बेन्चहरू खाली थिए । म अगाडिबाट तेस्रो लाइनको बेन्चमा गएर बसेँ । बेन्चको कुनातिर बसेको केटो मोबाइलमा घोत्लिएको थियो, उसको पनि होला कुनै कहानी । यहाँ हरेकका आफ्ना–आफ्ना कथा छन् । सबै मै जसरी कहाँ लेख्छन् र !
अक्सर मन यसै पनि डराइरहन्छ, आँखालाई भने हतार थियो, तातै खाउँ जिउँदै जलउँ जस्तो । चोर नजरले एकएक गर्दै उपस्थित प्रत्येकको अनुहार पढ्दै थिएँ । कास, अनुहार हेरेर नाम पत्ता लगाउने कुनै चस्मा हुनपर्ने । वैज्ञानिकहरूले के–के बनाए तर यति जाबो एउटा चस्मा बनाइदिए के जान्थ्यो !
‘कहा हो भाइ घर ?’
ठीक पछाडिको बेन्चबाट कसैले बोलाएपछि म झस्किएँ, कतै डुलिरहेका मेरा चोरी नजर पक्राउ त परेनन् !
बाटुलो गहुँगोरो अनुहारमा हल्का मेकअप, स्टेट गरेको सिल्कि कपाल, आँखामा फिक्का गाजल, खाइलाग्दो ज्यान, निधारमा रातोमाथि केशरी टिका । झट्ट हेर्दा उल्कै राम्री त होइन तर ठीक ठीकै गोलुमोलु टाइप कि केटी मतिर बत्तिस् दात देखाउदै थिइ ।
‘हजुर ?’ म उतिर फर्किएँ ।
‘भाइको घर कहाँ हो भनेको क्या !’
छेउमा बसेको केटाले छुच्चो बोलिमा भनिहाल्यो, ‘आफूसँगै पढ्नेलाई पनि भाइ रे !’
उसले अलि अफ्ठ्यारो मानि । परिस्थिति सहज बनाउन मैले घर बताइदिएँ, ‘सुर्खेत हो दिदी ।’
‘उमेर कति भयो र ? हेर्दा त +२ पढ्ने जस्तो देखिन्छाैँ त ?’
मोरी भाइ भनेर उमेर सोध्छे, आफूलाई ऊ भन्दा जेठो प्रमाणित गर्देर दाइ भन्न लगाएर हातमै ढोग गराउँ जस्तो ।
होस्, आफ्नै अनुहार छ नै त्यस्तो अनि, उमेरले तिन दशक लाग्दा पनि थोपडा फुच्चे र त कहिलेकाहीँ व्यहोरा पनि केटाकेटीकै देखाउन मन लाग्छ ।
‘होइन नि दिदी, म त एसएलसी फेल भएर यहाँ पढ्न आको’ म अलिक बाङ्गिएँ ।
‘हा..हा..अच्छा मजाक’ उसले नबुझ्ने कुरै भएन ।
भन्नलाई भाइ भने पनि मस्काई चाहीँ दिदीको जस्तो थिएन । केटाहरूलाई के चाहियो र कोही केही बोलि भने पनि मख्ख परिहाल्ने । म पनि आखिर केटै प्रजातिको न परेँ, जता गुलियो उतै भुलियो वाला ।
‘नाम के हो नि क्यूट भाइको ?’ उनले संवाद अझ अघि बढाउन खोजी ।
‘अतित, ए होइन कर्ण ।’
धन्न आफ्नो नामै पो बिर्सेको । प्रेमको तल पनि अजिव हुने र छ । जति ह्याङ मलाई समर लभ र सायाको छ, त्यसको अगाडि रक्सिको ह्याङ त के ह्याङ यार । यो सब उसलाई के थाहा, विचरी म सायाको खोजिमा आएको अतित हो भन्ने ।
‘आफ्नो नाम पनि बिर्सियौ क्या ?’
‘नाम, ठेगाना त नागरिकतामा छँदै छ किन सम्झिराख्न प¥यो र, सम्झिन पर्नेको बिर्सेको छैन ।’
‘हँ ?’ उ छक्क परि सायद ।
‘केहि होइन, केहि होइन ।’
उसले के बुझ्थि म पात्र बनेर कहानीमा बाँचिराछु । एक छिनको मौनता तोड्दै मैले भनेँ, ‘अनि दिदीको घर कता नि ?’
‘दाङ हो भाइ ।’
दाङ भन्ने बितिकै मलाई तुल्सिपुर याद आउँछ, सानोमा कोमल ओलीको ‘तुल्सिपुरमा म जाँदाखेरी…भन्ने गीत खुब सुनिन्थ्यो ।
‘दाङ कहाँ, तुल्सिपुर ?
‘तिमि त ज्योतिषी नै हौ क्या, तुल्सिपुर मेरो माइती घर हो, अहिले देउखुरी ।’
झटपट आँखा मसिनो गरी लगाएको सिउँदोको सिन्दुरमा गयो । यि केही आन्टीहरूलाई सिन्दुर लगाउन किन लोभ लाग्छ हँ ! ठीकै भएछ बिहे भा कि दिदी रैछिन अन्टि नै भने पनि फरक नपर्ने । भन्न पो भएन नत्र केटीले सुरुमै भाइ भनिदिँदा कम्ता मन दुख्छ !
‘अनि नाम के हो नि दिदी ? मैले सोधेँ ।
उसले भनि, ‘रिमा चन्द ।’
लाग्यो, मलाई कसैले सगरमाथाको टुप्पोबाट धकेलिदियो । कोलाहाल कक्षा कोठामा मैले केही सुनिनँ । पहिलो पटक महशुस भयो कि साच्चै आत्माले शरिर छोडेर निस्किने रहेछ । ठूलो भुकम्प गयो अतितको मनमा । नेपालकै बढी गर्मी हुने नेपालगञ्ज, म भने कठ्याङ्ग्रिएँ चिसोले । लाग्यो, मुटु चल्न छोड्यो । प्रेमको ह्याङओभर साच्चै दर्दनाक हुने रैछ ।
प्रिय लेखक सुविन भट्टराई, तिमिले कल्पना गरेर उपन्यास लेखिदियौ, मैले जान्ने भएर दोहोराएर पढेँ । प्रभावित भएँ र यो मुर्खता गर्न पुगेँ । साच्चै भोगेको भए थाहा पाउँथ्यौ पात्रको पीडा । यसरी मेरो समर लभ सुरु नहुँदै विवाहित सायालाई दिदी बनाएर सक्कियो ।
-एक्लो पथिक
प्रकाशित मितिः ९ चैत्र २०८१, शनिबार ०६:०४

एक्लो पथिक ।