बबईमा स्वचालित सिसी क्यामेरा

सुर्खेत: कर्णाली प्रदेश प्रवेशको प्रमुख नाका बबईमा अत्याधुनिक स्वचालित सिसी क्यामेरा जडान गरिएको छ । प्रदेश भित्रने र बाहिरिने सवारी साधनहरूको डिजिटल प्रविधि स्वचालित नम्बर प्लेट पहिचान गर्ने सिसी क्यामरा जोडिएको हो ।

क्यामेरा जोडिएसँगै प्रहरीहरू सडकमा आउनुपर्ने र सवारी साधनहरू रोकेर नम्बर दर्ता गर्नुपर्ने झन्झट हटेको छ । अत्याधुनिक सिसी क्यामराले गाडीको नम्बरसहितको आवश्यक विवरणहरू कम्प्यूटरमा लिपिबद्ध हुनेछ । जसले गर्दा अब बबई नाकामा गाडीहरू नरोकिएरै जाने–आउने गर्दछन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शुक्रवार उद्घाटन गरेका छन् । कर्णाली छिर्ने नाकामा क्यामेरा जडानले सुरक्षित यात्रा र प्रहरीहरू प्रविधिमैत्री भएको मुख्यमन्त्री कँडेलले बताए ।

उद्घाटन कार्यक्रममा कानुन मन्त्रालयका सचिव पुष्पराज शाही, प्रदेश प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख, भेरीगंगा नगरपालिकाका कार्यवाहक नगर प्रमुख, ट्राफिक प्रदेश र जिल्ला प्रमुखहरू, स्थानीय अगुवाहरू सहभागी थिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले भवन र स्वचालित नम्बर प्लेट पहिचान गर्ने सिसी क्यामरासहितको सामाग्री जोडेको हो ।

प्रकाशित मितिः   ९ चैत्र २०८१, शनिबार ०६:०१