अस्पताल स्तरोन्नति
राकम आधारभूत अस्पताल अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्ने भएको छ । सरकारले दैलेखको राकम कर्णालीमा निर्माणको अन्तिम चरणमा पुगेको आधारभूत अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन गर्ने निर्णय गरेको छ । सोही निर्णय अनुरूप प्रतिष्ठानले आफ्नो सेवा सुचारु गर्न लागेको हो । गत माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले राकमको आधारभूत अस्पताललाई ५० शैय्यामा स्तरवृद्धि गरी प्रतिष्ठानले सञ्चालन गर्ने निर्णय गरेको थियो । दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नं. ४ राकमस्थित आधारभूत अस्पतालको सम्पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मेवारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको हो । यो निर्णयसँगै त्यहाँबाट स्वास्थ्य सेवा सञ्चालन गर्ने काम प्रतिष्ठानले अगाडि बढाएको छ ।
करिब नौ लाख जनसंख्या ओगट्ने कर्णालीको केन्द्रबिन्दु दैलेखको राकममा बनेको आधारभूत अस्पतालको स्तरवृद्धि गरी ५० शैय्यामा सञ्चालन गर्ने योजना प्रतिष्ठानको रहेको छ । सरकारको निर्णयले प्रतिष्ठानको विकास र विस्तारसँगै कर्णालीका नागरिकले सहज रूपमा सेवा पाउने अपेक्षा गरिएको छ । अहिले अस्पताल सञ्चालनका लागि काम भइरहेको छ । जनशक्ति व्यवस्थापन लगाएका काम भइरहेका छन् । प्रतिष्ठानले सेवा सुरु गरेको छ, केही व्यवस्थापनका काम भइरहेका छन्, अबको केही समयमा व्यवस्थित सेवा सुरु गर्ने जनाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र आठबिस नगरपालिकाले नागरिकलाई स्तरीय सेवा प्रदान गर्नका लागि १५ शैय्याबाट शिक्षण अस्पतालको सेवा सुरु गर्न लागेका हुन् । एक सय शैय्याका अन्य संरचना निर्माण नहुँदासम्म १५ शैय्याबाट सेवा सुरु गर्नेगरी प्रक्रिया अघि बढाइएको छ ।
प्रतिष्ठानले सेवा सुरुसँगै शिक्षण अस्पताल निर्माणको प्रक्रियासमेत अघि बढाएको छ । ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गर्न लागिएको हो । पाँच वर्षअघि आठबिस नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौताअनुसार एक सय शैय्याको ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइएको थियो । तर निर्माणको काम भने अघि बढ्न सकेको थिएन । सरकारले आवश्यक बजेट विनियोजन नगर्दा अस्पताल निर्माणको काम अघि नबढेको हो । अहिले बजेटको व्यवस्थापन गरेर अस्पताल निर्माणको काम सुरु गर्न लागिएको छ ।
चालु आर्थिक वर्ष २०८१÷०८२ मा संघीय सरकारले अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेसँगै अस्पताल निर्माणको काम अघि बढाउन लागिएको हो । सरकारले चालु आर्थिक वर्षमा अस्पताल निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको छ । यो वर्षदेखि अस्पताल निर्माणको काम सुरु गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । अस्पताल निर्माणका लागि गतवर्ष सरकारले बजेट नै विनियोजन गरेको थिएन । जसले गर्दा निर्माणको काम सुरु हुन सकेको थिएन । यो वर्ष सरकारले बजेट विनियोजन गरेसँगै निर्माणको काम थालिने भएको छ ।
प्रकाशित मितिः ८ चैत्र २०८१, शुक्रबार ०६:०५
सम्पादकीय ।