‘सर्ट सर्किट’ले हुन्छ धेरै आगलागी

सुर्खेत: बुधवार रुकुमपश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँमा आगलागी भयो । सुरक्षाकर्मीसहितको उद्धार टोलीले आगो नियन्त्रणमा लिएकाले ठूलो मानवीय क्षति हुनबाट भने जोगिएको छ । यद्यपि, आगलागीबाट करिब १८ लाख बढीको क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ । विद्युतको तार सर्ट हुँदा स्थानीय कृष्ण बुढाको दुई तले कच्ची घरमा आगलागी भएको थियो । उक्त आगलागीबाट घर पूर्ण रूपमा ध्वस्त भएको छ भने घरमा रहेका सबै सामान जलेर नष्ट भएका छन् । विद्युतको तार सर्ट हुँदा घरमा लागलागी भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रमेश विष्टले बताए । उनका अनुसार कुनैपनि मानवीय क्षति भने भएन ।

यस्तै फागुन २६ गते वीरेन्द्रनगरको एक फेन्सी पसलमा आगलागी भयो । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ बिच बजारमा रहेको फेसन हबमा आगलागी हुँदा धनमाल जलेको थियो । आगलागीबाट पसलको डेकोरेसन, फेन्सीमा रहेको सामान जलेर नस्ट भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको थियो । वीरेन्द्रनगर नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रण गरिएकाले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्र विश्वकर्माले बताए ।

पछिल्लो समय ‘सर्ट सर्किट’ले धेरै आगलागी हुने गरेको छ । यी घटना कर्णालीमा बढ्दो आगलागीका उदाहरण मात्र हुन् । विद्युत ‘सर्ट सर्किट’ भएर कर्णालीमा सानातिना आगलागी दैनिकजसो हुन थालेका छन् । मानवीय त्रृटिका कारण ‘सर्ट सर्किट’का घटना हुनेगरेको विद्युत प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख जीतेन्द्र झाले बताए । उनका अनुसार बिजुलीका तार ‘लुज’ भएर, विद्युतीय उपकरण जथाभावी प्रयोग गरिँदा, नियमित मर्मतसम्भार नहुँदा, घरको भान्छामा प्रज्वलनशील वस्तु राख्दा विद्युत सर्ट हुने गरेको छ । झाले विद्युत ‘सर्ट’का कारण हुने दुर्घटना न्यूनीकरणमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । ‘विद्युत सर्ट भएर हुने दुर्घटना न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम गरिरहेका छौँ,’ उनले भने, ‘घरधनीले नियमित रूपमा विद्युतको मर्मतसम्भार तथा चेकिङ गर्नुपर्छ, जसले ‘सर्ट सर्किट’बाट हुने दुर्घटनाबाट जोगाउन सकिनेछ ।’

अर्थिङ नगरेर विद्युत जडान गर्दा ‘सर्ट सर्किट’ हुने गरेको झाले बताए । कर्णाली प्रदेशमा विद्युत जडान गरेका एक सय जनामध्ये एकजनाले अर्थिङ गरेर मात्र विद्युत जडान गर्नेगरेको उनले जानकारी दिए । आवश्यक जानकारी नहुँदा कमैले मात्र अर्थिङ जडान गर्नेगरेको उनले बताए । अहिले विद्युत जडान गर्नेबेलामा नागरिकलाई सचेत गराउने गरिएको छ । विशेष गरेर गाउँघरमा यस्ता धेरै घटना हुनेगरेका छन् ।

आगलागीबाट बढ्दो मानवीय क्षति

पछिल्लो समय कर्णाली प्रदेशमा आगलागीबाट ठूलो मानवीय क्षति हुने गरेको छ । घरमा आगलागी हुँदा मानवीय क्षति हुने गरेको हो । अधिकांश घटना विद्युत सर्ट भएर हुने गरेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार आगलागीका घटनाबाट मानवीय क्षति बढ्दो क्रममा रहेको पाइएको छ । चालु आर्थिक वर्षको हालसम्ममा प्रदेशभर एक सय २२ आगलागीका घटना भएका छन् । आगलागीबाट पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
आर्थिक वर्ष २०७८/०७९ मा एक सय ३१ आगलागीका घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७९÷०८० मा एक सय १४ वटा आगलागीका घटना भएका थिए । उक्त वर्ष आठ जनाको मृत्यु भएको थियो भने २२ जना घाएते भएका थिए । आर्थिक वर्ष २०८०÷०८१ मा सबैभन्दा बढी तीन सय ४२ वटा आगलागीका घटना भएका थिए । जसमा १८ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए ।

अधिकांश आगलागीका घटना विद्युत सर्ट भएर हुनेगरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए । उनका अनुसार केही घटना विद्युत सर्ट भएर र केही घटना आगलागी भएपछि विद्युत सर्ट हुने गरेका छन् । उनले भने, ‘अन्य लागलागीबाट विद्युत सर्ट भएर घटना हुन्छन् विद्युत सर्ट भएर पनि आगलागी भएका घटना भएका छन् ।’ कतिपय घटना विद्युत सर्ट भएर होकी आगलागी भएर विद्युत सर्ट भएको भनि एकिन गर्न समस्या हुनेगरेको श्रेष्ठले बताए ।

प्रकाशित मितिः   ८ चैत्र २०८१, शुक्रबार ०६:०६