बुधनीको कथा
मंसिर सकिनै लाग्दा ठण्डीको बैँस उर्लंदो थियो । बुधनीलाई जाडेले आङ चसचसी घोचेझैँ हुन्थ्यो । उसको शरीर पातलो मजेत्रोले छेक्न सकेको थिएन । एक–दुई ठाउँमा प्वाँल परेको लुगा उसले बडो जतनले ओडेकी थिइ । उसमाथि चुलिएको जाडोले आज बुधनीको उमेरसुलभ सौन्दर्य पनि खर्लप्पै निलेको देखिन्थ्यो ।
बुधनीको सलक्क मिलेको गहुँगोरो अनुहार, लाम्चा आँखा, पातला ओठ अनि टम्म मिलेका दाँत र अलकले उसको रूप सौन्दर्य बिछट्ट राम्रो देखिन्थ्यो । ऊ गाउँमा लाग्ने स्थानीय जात्रामेलामा उसका आमा र दिदीहरूसँग मात्र जान्थी । राजीका किशोरीहरू खुबै लजालु स्वभावका हुन्छन् । उनीहरू आफ्नो परिवारसँग मात्र बोल्छन् तर अरूसँग खुलेर कुरा पनि गर्दैनन् । गाउँका युवा केटाहरू बुधनीको रूप स्वरूपको खुबै तारिफ गर्थे तर उसको सौन्दर्य अरू जातिका केटाहरूका लागि आकाशको फल आँखा तरी मर भने झैँ हुन्थ्यो ।
मंसिरे पूर्णिमा पुसको पहिलो साता परेको थियो । सुनपालको पूजा गर्ने तयारी हुँदै थियो । पुसा आफै सुनपालको पुजारी थियो । उसले पूजा गर्न तयारीका लागि केही गाउँले युवाहरूलाई पनि थानको सरसफाइमा लगायो । सबैले मन्दिर वरपर सरसफाइ गर्ने, धजाहरू बाँध्ने, लिङा गाड्ने काम गर्दै थिए । बुधनी पनि बाबुसँग काममा जुटेकी थिइ । उसले फोहर सफा गर्ने, भूमि लिपपोत गर्ने र पूजामा प्रयोग हुने सामान धोइपखाली गर्दै थिइ ।
यसैबेला बुधनीले बाबुसँग सोधी, ‘बाबा हामीले कहिलेदेखि यो पूजा गर्न लागेको हो ?’
पुसालेआफू सानै छँदा उसका बाबुले सुनाएको कुरा दोहोया¥यो । ‘त्यतिबेला जङ्गल खुबै बाक्लो थियो । मान्छेको बस्तीमा बाघ आउन थाल्यो । गाउँघरका गाईवस्तु मारेर दुख दिन थाल्यो । त्यस्तै जङ्गली जनावरको प्रकोप हुँदा किसानले बालीनाली पनि खान पाउँदैन थे । त्यसपछि गाउँलेहरू एक जना बुढा राजीसँग उपाय माग्न गए । ती बुढा राजीले उनीहरूका पशुपाखर र खेतीपातीको सुरक्षाका लागि सुनपाल वनदेवताको पूजा गर्न सल्लाह दिए । गाउँलेहरूले वन देवताको पूजा गर्ने विधि भेउ पाएनन् अनि त्यो पूजा गर्ने काम पनि उनै बुढा राजीलाई जिम्मा दिए ।
प्रत्येक वर्ष मंसिरे पूर्णिमामा हाँस, कुखुरा उठाएर सुनपालको पूजा गर्न थालियो । सुनपालको पूजा गरेवापत पूजारीलाई सबै गाउँलेले वर्षमा एक–एक पाथी अनाज दिने गर्न थाले । किसानका पशुचौपाय र जङ्गली जनावरबाट बालीनालीको पनि सुरक्षा भयो । त्यसपछि सुनपालको नियमित पूजा हुन थाल्यो ।’
पुसाले सुनपालको पूजा गर्ने प्रचलन सुरू भएको कथा सुनायो । पुसाका पुर्खा जमाल राजी नै सुनपालका मुख्य पूजारी हुँदै आए । उनीरूले जामु, राग, घाटगाउँ, गुटु, बिजु, बाबियाचौर सबै तिरको वन बाँधेर राख्थे जुन आजपर्यन्त छ ।
जामुको भेरी नदी हुँदै अछाम, दैलेख, जुम्लासम्मका मानिसहरू तराईका कटासे, राजापुर बजार छिर्न यही नाका प्रयोग गर्थे । उनीहरू बजारको नुन, कपडा, मट्टीलेत, मरमसला लिएर फर्कन्थे ।
पुसाले दिनभर यात्रुलाई नदी तार्ने र फुर्सदको समयमा माछा मारी बिक्री पनि गथ्र्यो । बुधनी बाबुसँगै डुङामा बहना समाएर एक छेउमा उभिन्थी।उसलाई मधेशको हाटबजारबाट फर्किएका यात्रुमध्ये कसैले मिठाई ल्याइदिन्थे त कसैले पैसा पनि दिन्थे । ऊ मिठाइ पाएर मख्ख पर्थी ।
एक दिन बुधनी मामाको छोरीको बिहेमा घाटगाउँ पुगी । मामाको छोरी आइती पनि बुधनीकै छिँवलकी थिइ । आइतीकी दिदी मंगलाको बिहेमा उनीहरू दुवै मिलेर पाहुनाको खानपान सरस्वागतमा जुटिरहे ।
राजीको विवाहमा जन्तीहरूलाई जाँड, रक्सी माछामासुका परिकार खुवाउने परम्परा छ । त्यही कामबुधनी र आइती खटिनु प¥योप । उनीहरूले माछा, कुखुरा, सुंगुरका परिकार तयार पार्नु, जाँडरक्सी बनाउनु, जन्तीलाई खाना खुवाउँथे । बुधनी सत्र अठारकी फुर्तिली केटी भएकाले सबैले उसलाई काममा फुक्र्याउँथे ।
बुधनी र आइती दिनभर पाहुनालाई खाना बनाउने, खुवाउने, भाँडा सफा गर्ने काममा व्यस्त हुन्थे । साँझपख खाली समय भयो भने नदीको किनारमा गएर टहल्ने, माछा मार्ने र पानी ल्याउने काम गर्थे । जन्तीलाई सेवा गर्नु उनीहरूको दैनिकी नै थियो ।
बिहेमा घटाल राजीको छोरो शुक्रे पनि आएको थियो । ऊ मझौला कदको, गहुँ गोरो वर्णको, औसत उचाइ र गोलो अनुहारको, खिस्स हाँस्दा सुन्दर देखिने दाँतका पङ्क्तिले उसको युवासुलभ सौन्दर्य झल्काउँथ्यो । ऊ सेतो धर्के कमिज र नीलो पाइन्टमा सजिएको थियो । खाना खान दिने बेला बुधनीले उसको अनुहार कर्के आँखाले नियालेकी थिइ । उसको छेवैमा बसेको लैके राजीले शुक्रेलाई बुधनीले एक टक लगाएर हेरेको कुरा सुनायो । शुक्रेले पनि साँझ खाना खाने बेलामा बुधनीलाई राम्ररी नियाल्यो । दुवैका आँखा जुधे । ती दुवैका अन्तरमनमा युवा सुलभ वासनाका तरङ्ग कुदे । शुक्रेले मनमनै उसलाई बिहे गर्ने विचार बनायो । अर्को दिन शुक्रेले बुधनीलाई भागी विहा गर्न प्रस्ताव राख्यो तर बुधनीले बाबुआमाको मञ्जुरीबिना बिहे नगर्ने भनी ।
बिहेको अन्तिम दिन थियो । बुधनी घर जाने तरखरमा थिइ । एक्लै जङ्गलको लामो बाटो हिँडेर घर पुग्न ऊ सक्दिनथी । शुक्रेले आफू काम विशेषले जामु जाने कुरा बुधनीलाई सुनायो । बुधनीले शुक्रेसँगै जान उचित हुने ठानी ।
बुधनी अघि अघि हिँडी; शुक्रे पछि पछि लाग्यो । दुवै जना दिउँसो दुई बजे घाटगाउँबाट हिँडे । डेढ घण्टा हिँडेपछि उनीहरू चैतिरुवाको झनझने पहरामा पुगे । त्यो ठुलो पहरोमा टाँसिएर ससाना अखेटा टेकी हातखुट्टाका नंग्राले बोटका जरा अखेटा समाउँदै एक सय मिटर जति गहिरो ठाडो खोलामा झर्नुपथ्र्यो । खोलामा झरेपछि फेरि पारिपट्टिबाट एक सय मिटर नै ठाडै उकालो त्यस्तै रुखका जरा, झारपात समाउँदै उक्लनुपथ्र्यो । तर त्यहाँ एक दिन पहिलेदेखि बाटो बन्द भएको रहेछ । अब उनीहरूलाई झण्डै तीन घण्टाको घुमाउरो बाटो छिचोल्दै गाउँ पुग्नुपर्ने भयो ।
बाटो सुनसान र एकान्त थियो । अचल्तीको बाटो भएकाले कहीँ त डोरेटो पनि भेटिँदैनथ्यो । बाटोमा आउजाउ गर्ने कोही भेटिँदैन थे । उनीहरू दुवै बाटोभरि रमाइला कुरामा गफिँदै हिँडे । एउटा अग्लो डाँडोमा पुगेपछि बुधनी भेरीको मन्द ध्वनि सुनेर आनन्दित भइ । शुक्रे उसको नजिक गएर उभियो । बुधनी निकै लजाइ । उनीहरू केही बेर त्यहीँ भुले । लगभग सात बजेतिर साँझ परेपछि दुवै जना जामु पुगे । यतिबेला बुधनीले शुक्रेको भागी बिहे गर्ने प्रस्ताव ठिक ठानी । उसले शुक्रेसँग भागी बिहे गर्न सहमत भइ । त्यपछि उनीहरू दुवै जना छाप्रेतर्फ सोझिए ।
बुधनीका बाबुले छाप्रेका एक जना बाहुनसँग मित लगाएको थियो । दुवै जना बुधनीको मितबाको घरमा पुगे । बुधनीले साथमा आएको केटालाई मामाको छोरो भनी परिचय गराई । औषधीका लागि मजिटाको जरा लिन बाबुले उनीहरूलाई पठाएको कुरा सुनाइ । मितबाले मजिटाका जरा बारीका कान्लाबाट खनेर सफा गरी झोलामा हालिदिए । उनले केही खानेकुरा मितलाई नासो पठाउन खोजे । तर बुधनीले आफूहरू भोलिपल्ट मात्र जाने कुरा उनलाई सुनाइ ।
छाप्रे डाँडो पश्चिम सुर्खेतको अग्लो महाभारत श्रृंखला हो । यहाँबाट दक्षिणतर्फको मनोरम दृश्य देखिन्छ । साँझको खाना खाइवरी बुधनी र शुक्रे घरदेखि केही पर पुगे । जेठको महिना चिसो छँदै थिएन । गर्मी हुने कुरै भएन । क्या आनन्दको मौसम ! उनीहरूले दक्षिणतिर फर्किएर हेरे ।चेपाङदेखि लमतन्न परेर सुतेको भेरी नदी घाटगाउँ र कुइनेको दोभानमा पुगेर कर्णालीमामिसिएको देखे । बुधनीले शुक्रेको हात समाउँदै नजिकिइ । उनीहरूले नदीलाई परसम्म हेर्दै सुन्दर दृश्यको आनन्द लिए । उनले छाप्रेदेखि सोझै तल देखिने बिजु, बाबियाचौर, साल्कोट, जामु, कुइने, गाइनेकाँडा, सोल्टा, राजकाँडा, धुलीकोट, घाटगाउँ, सुनकाँडा, गुटु, तोस्रा, बिजौरा, एक–एक गरेर बस्ती नियाले । यही ठाउँबाट पूर्वमा वीरेन्द्रनगरको तल्लो छेउ र बड्डीचौर दक्षिणतिर फर्केर हेरे, रातको समय भएकाले बर्दियाको राजापुर, भारतको कतर्निया र तिकुनियासम्म झलमल्ल बत्ती बलेको सुन्दर दृश्य देखियो ।
शुक्रेले औँला सोझ्याएर आफ्नो गाउँ देखायो । बुधनीले पनि चन्द्रमाको उज्यालोमा लमतन्न परेको भेरी नदीको तिरमा आफ्नो घर देखाइ । उनीहरू केही घण्टा आँखाले हेरेर कहिल्यै नअघाइने विचित्र सौन्दर्यमा डुबे ।
– यामलाल घिमिरे
प्रकाशित मितिः १९ माघ २०८१, शनिबार ०६:०३

यामलाल घिमिरे ।