कथा वाचन अभियान

घटना निर्माण र वर्णन गर्ने कला कथा हो, जसले पाठक या श्रोतालाई सुरुदेखि अन्तिमसम्म बाँध्ने क्षमता राख्छ, जसलाई कौतुहल पनि भनिन्छ । यसमा लम्बाई–चौडाइको कुरा आउँदा कथा एउटा बसाइमा सकिनु पर्छ र गद्य शैलीमा लेखिनु पर्छ भन्ने विद्वानहरूको धारणा छ । पाठक र श्रोताका मनमा कथाले विशिष्ट प्रभाव छोड्न सकेछ भने त्यसलाई सफलता मानिन्छ ।

लेखाइमा गद्य र पद्य शैलीको भेद पाठक वर्गमा अवगत नै होला, छन्द, लय, अनुप्रास आदि मिलाएर लेखिन्छ भने त्यसलाई पद्य भनिन्छ । प्रायजसो काव्य सिर्जना पद्य शैलीमा नै गरिन्छन् । गद्य शैलीमा लेखाइको नियमले कतै बाँधिएको हुँदैन, यो शैली स्वतन्त्र र स्वच्छन्द हुन्छ । कुनै पनि निवेदन, निर्णय, पर्चा, तमसुक, भरपाई, अड्डा–अदालतका काम कारबाहीलगायत दैनन्दिन व्यवहारमा आउने तमाम लेखापढी गद्य शैलीमै हुने गर्छन् ।

अब यहाँ एउटा जिज्ञासा उठ्न सक्छ पद्य शैलीमा लेखिएका रामायण, महाभारत, कृष्ण चरित्र र श्रीस्वस्थानी जस्ता पुराण कथा होइनन् त ? जसलाई हामीले जन्मैदेखि कथाकै रूपमा सुन्दै र स्वीकार्दै आएका छौँ । अवश्य ती कथा नै हुन् । हामीले रङ्गमञ्चमा देखाउने नाटक पनि कथा नै हो । यति हुँदाहुँदै पनि कथा गद्य शैलीमा नै लेखिनुपर्छ भन्ने कारण के हो भने काव्य कथा, नाट्य कथा र निखुर कथा एउटै डालोमा मिसाइदिने हो भने भोलि छान्न–छुट्याउन मुश्किल पर्ने हुन्छ । साहित्य फाँटमा कथा, कविता नाटक र निबन्धको आ–आफ्नै भेग भएकोले यसको शैली र प्रकृतिको आधारमा वर्गीकरण गरिएको हुँदा निखुर कथालाई गद्यमा लेखिने रहेछ भनी बुझ्नु पर्दछ ।

छोटो समयमा वृतान्त–बयान गर्ने आख्यान विधामा पर्ने कथा काल्पनिक र सत्य घटनामा आधारित हुन्छन् । कल्पनाविना कुनै पनि कथा परिपूर्ण बन्न सक्दैन । सत्य घटनामा आधारित कथाहरूमा पनि कल्पना अन्तर्घुलन हुनैपर्छ अन्यथा ती अक्षर र अनुच्छेदहरू बरु खबर, सूचना र अरु लेखापढी बन्न सक्छन् तर कथा बन्न सक्दैनन् । कथा लेख्दा घटना पात्र शब्द वाक्यहरू घरीघरी दोहो¥याउन उचित मानिदैन, किनभने पाठक र श्रोतामा झन्झट थपिँदै जान्छ । हो, कुनै घटना, सन्दर्भ र पात्रलाई जोड दिन मजबुत बनाउन निखार ल्याउनका लागि भने दोहो¥याउनु उचित हुन्छ । दोहो¥याउन र नदोहो¥याउन लागि अनुभवी लेखकले बुझेका हुन्छन् । कथा बस्ती र समाजमा वरिपरि पनि छन तर पाइला पाइलामा छन भन्ने कुरामा पूर्ण सहमत हुन सकिँदैन, किनकि कथालाई त्यति सस्तो पार्न हुँदैन र पाइलैपिच्छे भेटिने सस्ता कथाले आख्यानको मर्म र गाम्भीर्यता भेटाउन सक्दैनन् । अक्षरहरूको थुप्रो कथा होइन, अकथा हुन्छ र साहित्यमा पÞmोहोर थपिदै जान्छ । त्यसकारण कथा लेखन कार्यलाई निखार्दै रहनु पर्दछ ।

 

 

सुन्नु र सुनाउनु पनि कथाको एक मर्म हो, जो हाम्रो सामाजिक परम्परासँग जोडिदै आएको छ । यसलाई जीवन्त राख्न कथा विधामा कलम चलाउने सर्जकहरूने नै पहल गर्नुपर्ने हुन्थ्यो । त्यसकारण पंक्तिकारसहितका गणेशभक्त गौतम, मीनराज पंत र नारायण विक्रम जिसी चारजना सर्जकले २०७९ साल माघ महिनामा रङ्गमञ्चीय गतिविधि गर्ने संस्था आरङ्ग नेपालको ब्यानरमा वीरेन्द्रनगरमा पहिलो कथा वाचन कार्यक्रम सम्पन्न गरेर अभियानको थालनी गरिएको थियो । सुर्खेतमा यो ऐतिहासिक अभियानको व्यवस्थापन र कार्यक्रम सञ्चालनका लागि सुरुको रूपरेखादेखि नै काव्य विधामा गहिरो दखल राख्ने गजलकार तथा प्रसिद्ध ज्योतिष खगेन्द्र अधिकारी अमृतको साथ र सहयोग रहि आएको छ । कथावाचन अभियानको दोस्रो शृङ्खलाबाट बाङ्गमय चौतारीको ब्यानरमा कार्यक्रम सप्पन्न भैरहेको छ भने पछिल्ला दिनमा कथाकारहरू गणेश बस्नेत, मणि पोखरेल र पृथ्वीवहादुर सिंहलाई क्रमशः अभियानले समेट्दै हिँडेको छ ।

सुन्ने–सुनाउने परम्परालाई समयानुकूल विकास गर्न र कथामा विद्यार्थीहरूको अभिरुचि बढाउन यो अभियान विद्यालयतर्फ सोझ्याइएको छ । साहित्यिक गतिविधिमा आख्यान र नाटक ओझेल पर्दै जाँदा सम्बन्धित विधाका सर्जकहरू अभियानमा जुरमुराउनु स्वभाविक हुन आउँछ ।

समय र संयोग यस्तो आयो कि नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा माघ १६ र १७ गते सुर्खेतमा कर्णाली आख्यान महोत्सव सम्पन्न भयो । कथा र नाटकमा अनवरत कलम चलाएका सर्जकहरूले मैदान भेटाए । बेला–बेला साहित्यिक उत्सव र महोत्सवहरू भैरहे पनि आख्यान महोत्सव सुर्खेतमा सायद यही नै पहिलो पटक होला भन्ने लाग्छ । औपचारिक अन्य कार्यक्रम समेटिए पनि खासमा कथा वाचन र कर्णालीको मौलिकता झल्कने नाटक नै कार्यक्रमका मुख्य आकर्षक विषय थिए । सुर्खेती माटोका बहुचर्चित रङ्गकर्मी तथा अभिनेता गणेशभक्त गौतमले आफ्नो कथा ‘सहिदको सपना’, मानबहादुर चौधरी पन्नाले आफ्नै कथा ‘माने दाइको आशामा चुनाव’ र पंतिmकारले आफ्नै कथा ‘कुरुवा’ वाचन गर्दा नारायणप्रसाद तिमिल्सिना र सत्यदेवी उपाध्यबाट मौलिक लोककथा क्रमशः ‘राजा मनसर’ र ‘मानसिंह’ वाचन भएको थियो । कलिलो उमेर, पहिरन र वाचन शैलीले यमुना थापा बुढाको कथा गजब थियो । साहित्यमा अग्लो उचाइ बनाइसकेका डा. नवराज केसीको एक चर्चित सिर्जनात्मक गैरआख्यान ‘शून्यको मूल्य’बाट कथा तानेकी यमुनाले अनुच्छेद मात्र होइन पानाका पानाहरू पटक्कै नहेरी कण्ठाग्र वाचन गर्न सक्ने अद्वितीय क्षमता देखाएर सबैलाई मुग्ध बनाइदिइन् ।

दोस्रो दिनको प्रस्तुतिमा कर्णाली खस संस्कृति संरक्षण मञ्च (कसम) को नाटक ‘कुटिरो’ प्रदर्शन गरिएको थियो । मुखियाको परिवारले केटा पक्षको कुटिरो खाएर आफ्नी सात वर्षे कलिली छोरी वयस्क भएपछि बिहे गरिदिने वाचा बन्धन स्वीकार गरे । कुटिरो परम्परालाई कुनै समुदायमा दहीठेकी पनि भनिन्छ ।

कुटिरोकै नैतिक घेरामा परेकी नाटकीय पात्र कल्पना समयसँग उमेर बढ्दै गयो । एकदिन घाँसपात जाँदा दुईजना अपरिचित पुरुषहरूले टिपि लगे । अपहरण शैलीमा त्यसरी टिपी लाने प्रथालाई कतै लतार्ने पनि भनिन्छ । टिपी लाने पक्षबाट मुखिया पक्षले बलपूर्वक कल्पनालाई फिर्ता लगे । कल्पना परिपक्व उमेरमा चढ्दै जाँदा अन्यत्र उसको बिहे भयो । नयाँ घरमा कुटिरो खाएको मात्रै होइन कसैले टिपी लगेको कुरा पनि खुल्दा हेलाहोचो गरियो । घरबाट निकालिएपछि कल्पना माइतीकै शरणमा पुग्न बाध्य भइन् । पानी पँधेरा, मेलापात जताततै उनकै टिकाटिप्प्णी गरिन्छ, कुरा काटिन्छ । केही उपाय नलागेमा भाइको रेखदेख गरेर माइतीमै जुनी काट्न आमाले ढाडस दिइन् । तर सिँगो जीवन माइतमै चढाउन के सहज होला ? एक्लै मेलामा झार गोडेकी कल्पनाको मनमा विरह भाव खेल्दा दुखारी कल्पनाले लय हालेर मर्म गाइन् । कुन जुनी हारे हुँला, कुन वैरीको रिन खाए हुँला भन्दै व्याकुल भइन् । गीत मात्र होइन वेदना गाइन्, दर्द र आर्तनाद गाइन् । सारा जीवन गाइन् । गलामा पीडा अड्कदा हिक्क–हिक्क गर्दै हिक्का छोडिन् । दुःख र कष्टले थिचेको मन पग्लेर आँखामा जलमग्न भएको थियो । न्याय खोज्दै सजल आँखाले दर्शकदीर्घमा हेरिन् । स्तब्ध वातावरणमा दर्शक मौन थिए, बिल्कुल मौन ।

भानुभक्त उपाध्यायले लेखेर रन्नीबहादुर घर्तीले निर्देशन गरेको यो दमदार नाटक, दीपेन्द्र उपाध्यायको कुशल व्यवस्थापन र पहलकदमीमा सिंजा जुम्लाबाट रङ्गमञ्चमा बाजा बजाउन मात्रै होइन तहल्का मच्चाउन पनि सुर्खेत आएको थियो ।
मदन पुरस्कार प्राप्त ‘सेतो धरती’का सर्जक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ अमर न्यौपाने र हरेक विषयमा कथा नै कथा देख्ने चिकित्सकको पेशासँगै सामाजिक सेवामा जोडिदै भाषा साहित्यलाई पनि काँध हाल्ने डा. नवराज केसीको साझा प्रयासमा यो कार्यक्रम सप्पन्न भएकोमा दुई मत छैन । सुरुवाती चरणको छलफलमा सबै साहित्य विधाका सर्जकलाई समेट्नका लागि जुन प्रयत्न गरियो त्यो अनुकरणीय थियो । साझा समन्वय र सहकार्यमा संस्था वा सर्जकले सजिलै अपनत्व भेटाउँछन् । मोफसललाई समेट्दै केन्द्रसँग जोडिने कर्म र पवित्र भावना अतुलनीय छ ।

भविष्यमा कुनै दिन सुर्खेतमा आख्यान महोत्सव हुनेछ भन्ने चाल पाएर कथा वाचन अभियान सुरु भएको होइन, त्यस्तै सुर्खेतमा केही आख्यानका सर्जकले कथा वाचन अभियान चलाइरहेका छन् भन्ने बुझेर नेपाल प्रज्ञा प्रतिष्ठानले पनि यो कार्यक्रम आयोजना गरेको अवश्य होइन । समयले मिसाएर एउटै यात्रा बनाइ दियो । जसरी दोभानमा भेट हुन्छन् खोला र नदी, अनि बग्छन् सँगसँगै सागर पुग्न । समय बलवान् हुन्छ, यसले रात र दिन मात्र होइन, कहिले कसो संयोग र अवसर पनि बोकेर ल्याउँछ अनि बटुलिदिन्छ छरिछिट्यान सिर्जनशील मनहरूलाई एउटै परिवेशमा । साहित्यमा सबै विधाको बराबर कदर भए अवश्य फुल्छन् रङ्गिबिरङ्गी सिर्जनाका फूलहरू । भाषण र आश्वासनमा भन्दा कर्ममा देखाउनु पर्छ कर्णालीको कला र साहित्य ।

– उमालाल आचार्य

प्रकाशित मितिः   १९ माघ २०८१, शनिबार ०६:०५