सदस्य सचिव नियुक्तिमा ढिलाइ

सुर्खेत: कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव नियुक्ति प्रक्रियामा ढिलाइ भएको छ । गत पुस ६ गतेदेखि सदस्य सचिव विश्वामित्र सञ्ज्यालको कार्यकाल सकिएको हो । तर नयाँ सदस्य सचिव नियुक्तिका लागि भने प्रक्रिया अघि बढेको छैन ।

प्रदेश सरकारले भने सदस्य सचिवको सेवा सुविधा सहितको ऐन जारी गरेर सदस्य सचिव नियुक्ति प्रक्रिया अघि बढाइने जनाएको छ । कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा रहेको छ । उक्त विधेयक जारी गरेर नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया थाल्ने तयारी भएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए ।

यसअघिका सदस्य सचिव सञ्जायलले समेत करिब दुई वर्षको सेवा सुविधा पाएका छैनन् । कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ मा सेवा सुविधा नतोकिएकाले पारिश्रमिक उपलब्ध गराउन समस्या भएको मन्त्री भण्डारीले बताए । खेलकुद विकास ऐन जारी गरेर मात्र नयाँ सदस्य सचिव नियुक्ति प्रक्रिया थाल्ने तयारी गरिएको उनको भनाइ छ । मन्त्री भण्डारीले भने, ‘ऐनमा सेवा सुविधा तोकिएको छैन, त्यसकारण काम गरेकै रकम दिन समस्या छ, अहिले कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६, लाई संशोधन गर्न बनेको विधेयक जारी भए सेवा सुविधा दिन सहज हुनेछ ।’

२०७७ पुस ६ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार सञ्ज्याललाई सदस्य सचिवमा नियुक्त गरिएको थियो । प्रदेश खेलकुद ऐन २०७६ को दफा ६ को उपदफा (२) को खण्ड (च) को व्यवस्था बमोजिम उनी नियुक्त भएका थिए । सञ्ज्यालको चार वर्षे कार्यअवधि सकिएपछि उनको स्थानमा अर्को व्यक्ति ल्याउनुपर्ने हुन्छ । त्यसको निर्णय प्रदेश सरकारले गर्नेछ । प्रदेश सरकारले नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया सुरु भने गरेको छैन । अबको केही दिनमा नयाँ सदस्य सचिव नियुक्तिका लागि प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ । यद्यपि, हालसम्म सिफारिस समिति नै गठन भएको छैन ।

खेलकुद ऐनअनुसार सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्नुपर्ने हुन्छ । जसमा मन्त्रीको सिफारिसमा खेलकुद क्षेत्रका दुई जना विज्ञ सदस्य हुन्छन् । समितिले प्राप्त आवेदनमध्ये केहीको नाम ‘सर्ट लिस्ट’ गर्नेछ । उक्त समितिले नाम मन्त्रालयमा सिफारिस गर्ने र मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले एक जना सदस्य सचिवमा नियुक्त गर्नेछ । तर सामाजिक विकास मन्त्रालयले हालसम्म सिफारिस समिति नै गठन गरेको छैन ।

समिति गठन र सिफारिस प्रक्रिया यसअघि नै सुरु गरिसक्नुपर्ने भएपनि सरकारले सदस्य सचिवको कार्यकाल सकिँदासम्म पनि उक्त कार्य अघि बढाएको छैन । जसले गर्दा आउँदै गरेको दशाँै राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका काम प्रभावित हुनसक्ने चिन्ता गर्न थालिएको छ ।

अहिले एमाले र कांग्रेसको गठबन्धन सरकार छ । यसअघिका सदस्य सचिव माओवादी निकट मानिन्छन् । त्यसैले सकेसम्म नयाँ दरखास्त खोलेर सदस्य सचिव नियुक्त गर्ने सोचमा प्रदेश सरकार देखिन्छ । दर्जनभन्दा बढी आंकाक्षी सदस्य सचिवका लागि देखिएका छन् । एमाले र कांग्रेसमध्ये कसले सदस्य सचिव पाउने भन्ने विषयले समेत थप अन्योलता बढेको जनाइन्छ ।

२०७६ असोज ९ गते प्रदेशसभाबाट पारित भएको ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन’ मा सदस्य सचिवको योग्यता स्नातक तह उत्तीर्ण भइ खेलकुदको क्षेत्रमा अनुभवप्राप्त भएको व्यक्ति हुनुपर्ने उल्लेख छ । सामाजिक विकासमन्त्रीको अध्यक्षतामा गठन हुने नौ सदस्यीय प्रदेश खेलकुद परिषद् उपाध्यक्ष रहने व्यवस्था भएपनि उसलाई कार्यकारी अधिकारी दिइएको छैन । ऐनमा उपाध्यक्षसहित सदस्यको काम, कर्तव्य र अधिकार पनि तोकिएको छैन । २५ वर्ष उमेर पुगेको र खेलकुद क्षेत्रमा योगदान पुर्‍याएको व्यक्तिलाई मन्त्रिपरिषद्ले उपाध्यक्ष र सदस्यमा नियुक्त गर्ने उल्लेख छ । मन्त्रालयका सचिव, समावेशी सिद्धान्तका आधारमा चार जना र अपाङ्गता भएका एक जना गरी पाँच जना सदस्य तथा एक जना सदस्य सचिव रहने व्यवस्था छ ।

 

सदस्य सचिवको काम गर्ने जिम्मा उपाध्यायलाई

अहिले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत रामप्रसाद उपाध्यायलाई कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको रूपमा दैनिक कामकाज सञ्चालन गर्ने जिम्मा दिइएको छ । सदस्य सचिवको पद रिक्त भएसँगै उपाध्यायलाई सदस्य सचिवको रूपमा दैनिक कामकाज गर्ने जिम्मा दिइएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए । ‘सदस्य सचिव नहुँदा खेलकुद प्रतियोगिताका लागि आवश्यक पर्ने दैनिक कामकाज, रंगशाला निर्माणजस्ता कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कर्मचारी आवश्यक परेको थियो,’ मन्त्री भण्डारीले भने, ‘अब अर्को सदस्यसचिव नियुक्त नहुँदासम्म उहाँलाई नै दैनिक कामकाज गर्न मन्त्रालयबाटै खटाइएको छ ।’

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी चैत २३ गतेदेखि दशाँै राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदै छ । तोकिएकै मितिमा दशाँै राष्ट्रिय प्रतियोगित हुनेमा आशंका व्यक्त गर्न थालिएको छ । सरकारले गर्ने सम्पूर्ण तयारी लगायतका कारणले तोकिएकै मितिमा खेलकुद प्रतियोगिता हुनेमा आशंका व्यक्त गरिएको हो । यसअघि मंसिर २ गतेदेखि खेलकुद प्रतियोगिता गरिने जनाइएको थियो । फेरि चैतमा खेलकुद प्रतियोगिता नयाँ मिति तोकिएको छ ।

प्रकाशित मितिः   १९ माघ २०८१, शनिबार ०६:०७