कला–संस्कृति संरक्षण

‘कर्णाली प्रज्ञा–प्रतिष्ठान’ ऐन निर्माणको प्रक्रिया अघि बढेको छ । पुस १९ गते बसेको मन्त्रीपरिषद्को बैठकले ऐन निर्माणका लागि सैद्धान्तिक सहमति दिएसँगै ऐन निर्माणको प्रक्रिया अघि बढेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णालीको भाषा, साहित्य, कला तथा संस्कृतिको अध्ययन, अनुसन्धान र संरक्षण गर्न कर्णाली प्रज्ञा प्रतिष्ठान ऐन निर्माण गर्न लागिएको हो । यो वर्षभित्रैमा प्रदेश सरकारले ऐन निर्माण गर्ने भएको छ । यसअघि पनि ऐनको सैद्धान्तिक सहमति भएको थियो । २०७९ भदौ २२ गतेको मन्त्रीपरिषद्को बैठकबाट सैद्धान्तिक स्वीकृति दिइएको थियो । त्यतिबेला ऐन निर्माणको काम हुन सकेको थिएन । बेलाबेला भइरहने सरकार फेरबदलले गर्दा ऐन निर्माणको काम ओझेलमा परेको थियो । चालु आर्थिक वर्षमा पुनः सैद्धान्तिक सहमति लिएर ऐन निर्माणको काम अघि बढाइएको छ ।

संवैधानिक अधिकार प्राप्त भएपनि अझै कर्णाली प्रदेशमा प्रज्ञा–प्रतिष्ठान गठन हुन सकेको छैन । कर्णाली प्रज्ञा–प्रतिष्ठान स्थापना गर्ने र कर्णालीको संस्कृति संरक्षणका लागि सांस्कृतिक नीति निर्माण गर्ने तथा प्रतिष्ठानको संरचना तय गर्ने उद्देश्यले पहिलो चरणको छलफल समेत गरिसकिएको छ । यसैबीच कर्णाली प्रदेश सरकारले खस भाषा संरक्षण गर्न लागेको छ । खस भाषाको संरक्षण गर्न ‘शब्दकोश’ निर्माण गर्न लागिएको हो । निकै लामो समयसम्म खस भाषा संरक्षणको चर्चा चलेको भएपनि यसले सार्थकता भने पाउन सकेको छैन । संघीयता कार्यान्वयनको पहिलो वर्षमा खस भाषाको संरक्षण गर्ने नीति सरकारको थियो । उक्त योजना पूर्ण हुन सकेको छैन । त्यतिबेला भाषा अध्ययन तथा खोजका केही कामसमेत भएका थिए । चालु आर्थिक वर्षमा प्रदेश सरकारले भाषा संरक्षणको विषयलाई प्राथमिकतामा राखेको छ । खस भाषाको अध्ययन, खोज तथा अनुसन्धान गरेर खस भाषाको ‘शब्दकोश’ लेखन तथा प्रकाशन गर्न लागिको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शब्दकोश प्रकाशनको लागि कर्णाली प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उक्त विषय समावेश गरिएको छ । मन्त्रालयले सूचना प्रकाशित गरेर शब्दकोश निर्माणका लागि आह्वान गर्नेछ । तत्कालिन खस साम्राज्यको राजधानी सिँजा र खस भाषाको उत्पत्ति जुम्लाबाटै भएर अहिले राष्ट्रिय भाषाको रूपमा परिणत भएकाले खस शब्द जोगाई राख्न पछिल्लो महत्वपूर्ण दस्ताबेज खस शब्दकोश हुने अपेक्षा प्रदेश सरकारले लिएको छ । संस्कृति संरक्षणमा प्रदेश सरकारले चासो लिएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक सम्पदा तथा स्थानीय भाषा, कला, संस्कृति, साहित्य, सभ्यता र ज्ञानको संरक्षण तथा प्रवद्र्धन गर्ने नीति प्रदेश सरकारले अबलम्वन गरेको छ । सोही नीति अनुरूप खस भाषाको ‘शब्दकोष’ निर्माण गर्न लागिएको छ ।

प्रकाशित मितिः   १८ माघ २०८१, शुक्रबार ०६:०३