‘आर्थिक अवस्था सुदृढ हुन आवश्यक छ’
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानमा लेखिएको सबै मौलिक हक कार्यान्वयन गर्न देशको आर्थिक अवस्था सुदृढ हुन आवश्यक रहेको बताएका छन् । बिहीवार सुर्खेतमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कर्णाली प्रदेशको चौथो अधिवेशनको उद्घाटन गर्दै नेपालको संविधानमा धेरै राम्रो र जनताको प्रतिनिधित्व गर्ने कुराहरू लेखिएको भएपनि अहिलेको देशको आर्थिक अवस्थाले गर्दा सबै कुराहरू पूरा गर्ने अवस्थामा सरकार नरहेको बताएका हुन् ।
सरकारलाई संविधानमा लेखिएका सबै मौलिक हक पूरा गर्ने अवस्थामा पु¥याउन समय लाग्ने भएपनि त्यसतर्फ सरकारले काम गरिरहेको मुख्यमन्त्री कँडेलले उल्लेख गरे । ‘देश हामी सबैको भएकाले हामी सबै मिलेर देशको आर्थिक अवस्था सुधार गर्ने र देशमा नै रोजगारीको सिर्जना गर्ने काममा लाग्नु पर्ने दायित्व हामी सबैको हो’ मुख्यमन्त्री कँडेलले भने ।
देशको विकास सरकार एक्लैले भन्दा पनि निजी क्षेत्रसहित सबै मिलेर गर्नुपर्नेमा उनले जोड दिए । ‘प्रदेश सरकार जिम्मेवारीका साथ शिक्षा क्षेत्रको विकासमा लागेको छ त्यसमा निजी क्षेत्रले पनि शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकारात्मक भुमिका खेल्नु पर्ने हुन्छ’ मुख्यमन्त्री कँडेलको भनाइ थियो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनका केन्द्रीय अध्यक्षसहित शिक्षक तथा विद्यार्थीहरूको सहभागीता रहेको थियो ।
प्रकाशित मितिः १८ माघ २०८१, शुक्रबार ०६:०१
साझा बिसौनी ।