बजेटको सुनिश्चितता गर
बजेट विनियोजन नहुँदा वीरेन्द्रनगर सिटी हल (सभागृह) निर्माण कार्य अघि बढ्न सकेको छैन । सिटी हल निर्माणको दोस्रो चरणको काम अन्योलमा परेको छ । सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको छैन । बजेटको स्रोत सुनिश्चित नहुँदा सिटी हल निर्माणको बाँकी काम अघि बढाउन समस्या भएको हो । गत आर्थिक वर्षमा बजेट विनियोजन गरेको सरकारले चालु आर्थिक वर्षमा बजेट नै विनियोजन गरेन । गत आर्थिक वर्ष २०८०÷०८१ मा सरकारले तीन करोड ७५ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेट कार्यान्वयन नहुने भएपछि कार्यालयले बजेट फिर्ता पठाइदिएको थियो । उक्त समयमा सर्वोच्च अदालत काम नगर्न भनेको थियो । तर अहिले काम गर्ने बाटो खलेको भएपनि बजेट विनियोजन नगरिँदा काम अघि बढाउन समस्या भएको हो ।
सर्वोच्च अदालतले यसअघि ठेक्का पाएको निर्माण कम्पनीलाई कामको भुक्तानी दिन अन्तिरिम आदेश दिएसँगै नयाँ ठेक्का सम्झौताको बाटो खुलेको छ । २०८० चैत २० गते सम्झौता रद्द भएको निर्माण कम्पनीले गरेको कामको मूल्यांकनका आधारमा भुक्तानी दिन सर्वोच्चले भनेको छ । चालु आर्थिक वर्षमा बजेट विनियोजन नहुँदा कामको भुक्तानी दिन र नयाँ ठेक्का सम्झौताको काम अघि बढाउन नसकिएको देखिन्छ । २०७८ मा मजदुर पी.एस. जेभी सुर्खेतले दोस्रो चरणको कामका लागि चार करोडमा ठेक्का सम्झौता गरेको थियो । २०७९ असारसम्म निर्माण सम्पन्न गर्नेगरी जिम्मा पाएको कम्पनीसँग ठेक्का रद्द गरिएको हो । सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले २०८० भदौमा ठेक्का तोडेको हो । ठेक्का रद्द गरिएपछि बाँकी रहेको काम अलपत्र परेको छ । चालु आर्थिक वर्षमा सरकारले बजेट नै विनियोजन नगरेपछि निर्माण कम्पनीले भुक्तानी पाएको छैन भने नयाँ ठेक्का सम्झौता गरेर काम अघि बढाउन सकिएको छैन । ठेक्का तोडिएको एक वर्ष बितिसक्दा समेत नयाँ प्रक्रिया अघि बढ्न सकेको छैन । सम्झौता रद्द हुनुअघि उक्त कम्पनीले ५५ प्रतिशत काम भने गरिसकेको छ । अहिले सर्वोच्चले निर्माण कम्पनीले गरेको कामको भुक्तानी पाउनुपर्ने निर्णय गरिसकेको छ ।
पहिलो चरणको काम २३ करोड रूपैयाँको लागतमा सम्पन्न भएपनि दोस्रो चरणको काम अलपत्र परेको छ । पहिलो चरणको काम सम्पन्न गरी भवन डिभिजन कार्यालय सुर्खेतले २०७७ फागुनमा वीरेन्द्रनगर नगरपालिकालाई सिटी हल हस्तान्तरण गरेको थियो । नगरपालिकाको मातहतमा आइसके पनि पालिकाले त्यसको संरक्षण र व्यवस्थापनमा चासो नदिएको पाइएको छ । एकतर्फ सिटी हल निर्माण सम्पन्न भएको छैन भने अर्कोतर्फ बनेका संरचना जीर्ण बन्दै गएका छन् ।
प्रकाशित मितिः ११ माघ २०८१, शुक्रबार ०६:०३
सम्पादकीय ।