तेलपानी–भुरीगाउँ सडक: स्तरोन्नति गर्न टेन्डर आह्वान
सुर्खेत: अन्तरप्रदेश सडक निर्माणका लागि टेन्डर आह्वान गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडक निर्माण गर्न टेन्डर आह्वान गरिएको हो । कर्णाली प्रदेश राजधानीलाई अन्तरप्रदेश जोड्ने सबै भन्दा छोटो रानीघाट–तेलपानी – भुरीगाँउ सडक खण्डअन्तर्गत मुलपानी–फलाटे–रानीघाट सडक स्तरोन्नतिसहित कालोपत्रेको लागि टेन्डर आह्वान गरिएको हो ।
बजेटको स्रोत सुनिश्चितता गरेर टेन्डर आह्वान गरिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ । उक्त खण्डमा सात किलोमिटर खडक निर्माण गर्न लागिएको निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजंग शाहीले बताए । उनका अनुसार बहुवर्षीय ठेक्कामार्फत् काम अघि बढाइनेछ । सात किलोमिटर सडक निर्माणका लागि ३२ करोडको स्रोत सुनिश्चितता भएको छ ।
सडक निर्माणको काम तीन वर्षमा गरिसक्नुपर्नेछ । माघ ४ गते टेन्डर आह्वान गरिएको निर्देशनालयले जनाएको छ । ३० दिनभित्र आवेदन दिने समय तोकिएको छ । कर्णाली प्रदेश सरकारले यो सडकलाई प्राथमिकतामा राखेको छ । कर्णाली र लुम्बिनी प्रदेश जोड्ने मुलपानी–रानीघाट–तेलपानी भूरीगाँउ सडक निर्माणलाई प्राथमिकताका साथ राखेको हो ।
यो सडक आयोजना नयाँ भने होइन । प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ देखि सडक निर्माण योजना अघि बढाएको हो । सडक निर्माणको काम भने आर्थिक वर्ष २०७६÷२०७७ देखि सुरु गरियो । दुई खण्डमा विभाजन गरेर सडक निर्माणको काम अघि बढाइएको भएपनि अहिलेसम्म निर्माणको काम सम्पन्न भएको छैन । सरकारले यो वर्ष पर्याप्त बजेट विनियोजन गरेर सडक निर्माणको कामलाई सम्पन्न गर्न लागेको हो । पहिलो खण्डको रूपमा मुलपानी, फलाटे–रानीघाट सडक निर्माणको कामलाई अघि बढाइएको थियो ।
दोस्रो सडक खण्डको रूपमा रानीघाट–तेलपानी–भुरीगाँउ सडक निर्माणलाई अघि बढाइएको छ । २०७७ असार ५ गतेदेखि २०७८ फागुन १६ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाइएको थियो । तर अहिले सार्वजनिक खरिद नियमावलीको १३आँै संशोधन आइसकेपछि म्याद थपिएको हो । एक पटक म्याद थपेर २०८२ माघ २२ गतेसम्म सडक निर्माण गर्नेगरी काम अघि बढाइएको छ । १३ करोड दुई लाखमा निर्देशनालय र थोदुङ्ग जागृती जेभीसँग सम्झौता भएको हो । उक्त निर्माण क्षेत्र वन जंगल निकुञ्जको संरक्षित क्षेत्र भएकाले अहिले निर्माणको काम रोकिएको पूर्वाधार विकास निर्देशनालयले जनाइएको छ ।
पर्यटन प्रवद्र्धन गर्न सडक निर्माण
यसैबीच कर्णाली प्रदेश सरकारले पर्यटन प्रवद्र्धन गर्न सडक निर्माण गर्न लागेको छ । पर्यटकीय स्थल गोठीकाँडा आसपासका सडक निर्माणका लागि टेन्डर आह्वान गरिएको हो । छेडा– गढी– श्रीचौर–कल्याणकाध सडकको पनि स्तरोन्नतिसहित कालोपत्रेको लागि टेन्डर प्रक्रिया सुरु गरिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ । उक्त खण्डमा सात किलोमिटर सडक कालोपत्रे गरिनेछ । माघ ४ गते टेन्डर आह्वान गरिएको निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजंग शाहीले बताए । सडक निर्माणसँगै सुर्खेतको माथिल्लो भेगमा सडक सहज पहुँचका साथै कर्णाली राजमार्ग जोडनेछ ।
कर्णाली प्रदेश सरकारले पुँजीगत खर्च बढाउन रणनीति योजना ल्याएको छ । सोही योजना अनुरूप अहिले बजेटको स्रोत सुनिश्चितता गरेर मात्र टेन्डर आह्वान गर्ने गरिएको छ । जसले गर्दा आयोजना निर्माणमा सहजता हुनेछ भने बजेट अभावका कारण आयोजना अलपत्र पर्ने छैनन् । पूर्वाधार निर्माण गर्दा आवश्यकताका आधारमा मात्र गरिने प्रदेश सरकारले जनाएको छ । बहुवर्षीय र बजेटको स्रोत सुनिश्चितता भएका आयोजनामा मात्र कार्यान्वयन हुनेछन् ।
प्रकाशित मितिः ११ माघ २०८१, शुक्रबार ०६:०६
साझा बिसौनी ।