जनशक्ति व्यवस्थापन

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले जनशक्ति अभाव झेलिरहेको छ । आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय जनशक्ति अभावमा पिल्सिएको हो । ६ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयलाई आवश्यक जनशक्ति नहुँदा काम गर्न समस्या भइरहेको छ । कार्यालयको कार्यक्षेत्रअन्तर्गत सुर्खेत, दैलेख, जाजरकोट, रूकुम–पश्चिम, डोल्पा र हुम्ला पर्छन् । २१ जनाको स्वीकृत दरबन्दी रहेको कार्यालयमा १४ जना मात्र कर्मचारी कार्यरत रहेका छन् । सात जनाको दरबन्दी रिक्त छ । नागरिकका आधारभूत आवश्यकतासँग जोडिएर काम गर्ने कार्यालय भएपनि पर्याप्त कर्मचारी नहुँदा लक्ष्यअनुसारको काम गर्न नसकिएको कार्यालयले जनाएको छ । जनशक्ति अभाव हुँदा अपेक्षित काम गर्न नसकिएको हो ।

अहिले विभिन्न पदमा गरी दश कर्मचारी करारमा कार्यरत छन् । कार्यालयका लागि कम्तीमा दुईवटा चारपाङ्ग्रे गाडी आवश्यक पर्ने भएपनि उपलब्ध छैन । पर्याप्त जनशक्ति नहुँदा बजारमा मापदण्डविपरीत र जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्य पदार्थको बेचबिखन खुलेआम हुने गरेको छ । राज्य संयन्त्रको कमजोरीको फाइदा उठाउँदै खासगरी कतिपय खाद्य उद्योग, होटेल रेस्टुरेन्ट, सडकमा राखेर बेचिने खाद्य पदार्थ, दाना उद्योग, प्रशोधित पिउने पानी उद्योगको गुणस्तरमा उद्योगी व्यवसायीले जनस्वास्थ्यमाथि खेलवाड गर्ने गरेका छन् । प्रदेश सरकार, गाउँ तथा नगरपालिकाहरूबाट बजार अनुगमनमा सहयोगको बारम्बार माग हुन्छ तर पर्याप्त जनशक्ति साधन स्रोत नहुँदा कार्यालयले गर्नुपर्ने जति काम गर्न सकेको छैन । कतिपय अनुसन्धानका कामसमेत हुन सकिरहेका छैनन् । दरबन्दी अनुसारको कर्मचारी नहुनाले सेवा प्रवाहमा कठिनाइ भएको छ । जनस्वास्थ्यसँग जोडिएको कार्यालयलाई माग र आवश्यकता अनुसार जनशक्ति र साधन स्रोत दिने कुरामा सरकारको ध्यान जानुपर्छ ।

यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाले पनि जनशक्ति अभाव झेलिरहेको छ । उक्त कार्यालयले तीन जिल्लामा सेवा दिइरहेको छ । कालीकोट, जुम्ला र मुगुमा कार्यालयले सेवा दिइरहेको हो । चार जनाको स्थायी दरबन्दी रहेको उक्त कार्यालयमा तीन जना कार्यरत रहेका छन् । एक जनाको दरबन्दी रिक्त छ । तीन जिल्ला हेर्ने कार्यालयमा तीन जना कर्मचरी कार्यरत हुँदा एक कर्मचारीको भागमा एक जिल्ला पर्छ । जनशक्ति र साधन स्रोतको अभावमा लक्ष्य अनुसारको काम गर्न सक्ने अवस्था छैन । कार्यक्षेत्र धेरै, कामको चाप अधिक र त्यसअनुसार स्रोत–साधन नहुँदा काम गर्न समस्या भएको देखिन्छ । आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय जनशक्ति अभावसँग जुधिरहेका छन् । आवश्यक संख्यामा जनशक्तिको व्यवस्थापन गर्न सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।

प्रकाशित मितिः   ९ माघ २०८१, बुधबार ०६:०३