‘निर्भीकतापूर्वक काम गर्छु’

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जिम्मेवारीमा रहँदा निर्भीकतापूर्वक काम गर्ने बताएका छन् । मंगलवारे वीरेन्द्रनगरमा आयोजना गरिएको अन्तरपालिकास्तरीय उत्तम अभ्यास आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफूले जिम्मेवारी पाएको समयमा निर्भीकतापूर्वक जनताको काम गर्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो । सुशासन कायम गर्न सरकारले काम गरिरहेको उनको दाबी थियो । ‘कर्णालीको प्रमुख समस्या भनेको सुशासन नहुनु हो’ उनले भने, ‘स्रोत र साधनको सही प्रयोग गरेर योजना छनोटलाई पारदर्शी बनाउन सरकार लागिरहेको छ ।’

सरकारको कामप्रति जनता पनि आशावादी देखिएको कँडेलले जनाए । ‘अहिले जनतामा केही हुन्छ, केही भएको छ र विकास गति लिन्छ भन्ने भावना बढेको पाएको छु’ उनले थपे, ‘बाँकी कुरा जनताले मूल्याङ्कन गर्ने हो ।’

र्कााली प्रदेशलाई संघीय सरकारले प्राथामिकता दिएर बजेट दिनु पर्ने भए पनि त्यस्तो हुन नसकेको गुनासो उनले गरे । कर्णाली प्रदेश सम्भावनाको खानी भएको भन्दै कर्णालीको विकासका लागि संघीय सरकारले ध्यान दिनु पर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो ।

प्रकाशित मितिः   ९ माघ २०८१, बुधबार ०६:०१