स्रोत खोजेर पूर्वाधार
आन्तरिक स्रोत कमजोर रहेका स्थानीय सरकारले बाह्य लगानी जुटाएर पूर्वाधार निर्माणलाई अघि बढाउन थालेका छन् । जनचाहनाअनुसारका पूर्वाधार विकासका लागि पालिकाहरूले लगानीको खोजी र परिचालन गर्न थालेका हुन् । वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षमा ठूला पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । यो वर्षमा चार अर्बभन्दा बढी बाह्य लगानी जुटाएर पूर्वाधार निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यो वर्ष बहुचर्चित भेरी पम्पिङ आयोजनाको निर्माण थालेको छ । भेरी नदीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर उपत्यकामा ल्याउने यो आयोजना लामो समयपछि कार्यान्वयनमा आएको हो । आयोजना सम्पन्न गर्न संघीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले २० प्रतिशत लगानी जुटाउनुपर्ने छ । उक्त आयोजना सम्पन्न गर्न तीन अर्ब ५० करोड आठ लाख १५ हजार रूपैयाँ लागत लाग्ने छ ।
नगरपालिकाको आफ्नै विकास बजेट भने न्यून छ । चालु आर्थिक वर्षमा नगरपालिकाको विकास बजेट ८३ करोड मात्र रहेको छ । नगरपालिकाले यो वर्ष चार अर्ब हाराहारीमा बाह्य लगानी जुटाएको छ । एक दर्जनभन्दा धेरै ठूला आयोजना बाह्य लगानी जुटाएर निर्माण थालिएको छ । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब ४० करोड हाराहारीमा बाह्य लगानी जुटाएको छ । नगरपालिकाको आफ्नै वार्षिक विकास बजेट न्यून छ । पालिकाको चालु आर्थिक वर्ष २०८१÷०८२ को विकास बजेट २२ करोड हो । अघिल्लो वर्षभन्दा विकास बजेट घटेको छ । गत आर्थिक वर्षमा ३० करोड विकास बजेट थियो । हरेक वर्ष कुनै न कुनै निकायबाट गरी गुर्भाकोट नगरपालिकाले अर्बौ बजेट जुटाएर विकासमा खर्चने गरेको छ । बाह्य स्रोतबाट आउने सहयोगलाई भौतिक पूर्वाधार, सडक, भवन निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिमा लगानी गरिरहेको छ । गुर्भाकोट नगरपालिकाले प्रदेश र संघीय सरकार तथा गैरसरकारी संस्थाहरूसँग विकासका लागि साझेदारी गर्ने प्रस्ताव गर्दै आएको छ ।
सुर्खेतका अधिकांश पालिकाले बाह्य लगानी जुटाएर पुर्वाधार निर्माण गर्ने गरेका छन् । प्रि–फिजिविलिटी अध्ययनका आधारमा मात्र काम गर्ने पालिकाहरूले प्रतिवद्धता जनाएका छन् । सोही अनुरूप पूर्वाधार निर्माण गर्दा दिगो र आवश्यकताका आधारमा हुने जनाइएको छ । स्थानीय तहहरूको आन्तरिक आम्दानी न्यून छ । पुँजीगत बजेट पनि कम हुँदा विकास निर्माणका कामलाई अघि बढाउन समस्या हुनेगरेको हो । तर स्थानीय तहहरूले बाह्य लगानी जुटाएर विकास निर्माणका काम अघि बढाएका छन् ।
प्रकाशित मितिः ६ माघ २०८१, आईतवार ०६:०३
सम्पादकीय ।