स्थापना दिवसमा अध्ययन गोष्ठी
सुर्खेत: नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को ५१औँ स्थापना दिवसको अवसरमा अध्ययन गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेमकिपा जिल्ला समिति सुर्खेतले पार्टी साहित्य अध्ययन गोष्ठी आयोजना गरेको हो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले सचेत मानिस मात्र स्वतन्त्र र सिर्जनशील हुने भएकोले नेमकिपाले कार्यकर्ता तथा समर्थकको अध्ययन संस्कृतिको विकासमा जोड दिएको बताए । उनले नेमकिपाले इमानदारी तथा सत्यनिष्ठाको राजनीति गरेको जनाए ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सचिव दिनेश खड्गीले हिजोको विद्यार्थी आन्दोलनले आजको पार्टी कार्यकर्ता तयार पारेको बताए । कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे (रोहित) ले लेखेको ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका खोटा विचारको खण्डन’ पुस्तकको अध्ययन अन्तरक्रिया गरिएको थियो ।
नेमकिपा सुर्खेत जिल्ला अध्यक्ष हरिबहादुर बोहराको सभापतित्वमा सम्पन्न कार्यक्रममा तिलक आचार्य, इन्द्रप्रसाद न्यौपाने, गोविन्दनाथ योगी, निरकबहादुर शाही, गणेश खड्का, शेरबहादुर शाही, धनेन्द्र विक, प्रेमकुमार थापा, लालबहदुर थापा, चेतन पौडेललगायतले आफ्ना भनाइ राखेका थिए ।
प्रकाशित मितिः ५ माघ २०८१, शनिबार ११:३३
साझा बिसौनी ।