विषादी प्रयोगबारे सचेत बन्दै कृषक
सुर्खेत: रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले पुर्वी सुर्खेतका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । रोग कीरा नियन्त्रण गर्न रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न थालेका हुन् । तरकारीमा कीरा लागेमा रासायनिक विषादी प्रयोग गर्ने किसान आजभोलि स्वास्थ्य, वातावरण र माटो सुरक्षाका लागि सचेत बन्न थालेका छन् ।
तरकारी तथा अन्नबालीमा रोग कीरा लाग्यो की बजारबाट रासायनिक विषादी ल्याएर प्रयोग गर्ने भेरीगंगा नगरपालिका वडा नं. ११ साँदीखोलाका टेकबहादुर घर्ती आजभोलि घरमै जैविक विषादी बनाएर प्रयोग गर्ने गरेको बताउँछन् । ‘बाली बिरुवामा विनाशकारी कीरा, सुलसुले, जुका, चिप्लेकीरा, शंकेकीरा, मुसा, चरा, अवान्छित झार तथा रोग सार्ने सूक्ष्म जीवाणु ढुसी, ब्याक्टेरिया, भाइरसलगायतको समस्या रहन्छ,’ घर्ती भन्छन्, ‘विगतमा यी प्राणीलाई नाश गर्न रासायनिक विषादी प्रयोग गर्ने गरिन्थ्यो, आजभोलि घरमै बनाएर जैविक विषादी प्रयोग गर्ने गरेका छौँ ।’
उनले दश रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् । २०७९ सालदेखि तरकारीमा जैविक विषदीको प्रयोग गर्ने गरेको जनाए । उत्पादनमा वृद्धि हुने र गाउँघरमै पाइने जैविक विषादी प्रयोग गर्दा निकै सहज भएको उनको बुझाइ छ । वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवम् विकास केन्द्र (सिप्रेड) ले जैविक विषदीसम्बन्धी तालिम र उपकरण सहयोग गरेको छ । जैविक विषादीको प्रयोगले माटो सप्रेको र उत्पादनमा समेत वृद्धि भएको उनले जनाए । वार्षिक मौसमअनुसार आलु, काउली, बन्दा, प्याज, सिमी, काँक्रा, करेलालगायतका तरकारी फलाउने गरेका छन् ।
भेरीगंगा–११ कै गंगा खत्रीले रोग कीरा लाग्यो की आफ्नै घरमा बनाएको जैविक विषादी प्रयोग गर्छिन् । ‘रासायनिक विषादीले गर्ने असरबारे जानकार थिइनँ, त्यसैले जथाभाबी प्रयोग गरिरहेकी थिएँँ’, गंगाले भनिन्, ‘आजभोलि विषादी प्रयोगबारे सचेत भएकी छु । विषादी प्रयोगमा सावधानी नअपनाएमा वा उचित रूपमा उपयोग नगरिएमा यसले उपयोगकर्ता, मानिस, घरपालुवा पशु, वन्यजन्तु र लाभकारी कीरालाई समेत हानी पु¥याउँछ भनेर घरमै बनाएको विषादी प्रयोग गर्न थालेकी हुँ ।’
किसानले जैविक विषादीका साथै मोहनी पासोसमेत थापेर कीरा नियन्त्रण गर्ने अभ्यास गरिरहेका छन् । यसले पनि बारीमा लगाएको बाली बचाउन सकिने उनीहरू बताउँछन् । ‘जैविक विषादी तथा विभिन्न किसिमका पासोहरू थापेर कीरा नियन्त्रण गर्न सकिएन भने मात्र अलिकति रासायनिक विषादी प्रयोग गर्छौं, नभए गर्दैनौँ’, सोही वडाकी सिता शाहीले भनिन्, ‘जैविक विषादी प्रयोग गर्नु मानव स्वास्थ्यका लागि राम्रो हो । लामो र स्वस्थ जीवनका लागि जैविक विषादीको प्रयोग गर्नुपर्छ ।’
जैविक विषादी खर्चका हिसाबले पनि कम, मानव स्वास्थ्यलाई पनि हानी नगर्ने हुँदा जैविक विषादी प्रयोग गर्ने गरेको किसान चित्रबहादुर जिसीको भनाइ छ । ‘मोहनी पासो र फेरोमन ट्रयापलगायतका प्रविधि कीरा नियन्त्रणमा प्रयोग गरिरहेको छु’, जिसीले भने, ‘तरकारीमा किसानले नजानेर धेरै विषादी प्रयोग गर्ने रहेछन्, यसबाट मानव स्वास्थ्य संकटमा पर्छ ।’ उनको तरकारी खेतीबाट वार्षिक आम्दानी १३ लाख हुन्छ । उनले दश रोपनीमा तरकारी खेती गरिहेका छन् ।
साँदीखोलाकै किसान परे रानाले पनि २०७२ सालदेखि तरकारी खेती गरिरहेका छन् । उनले पहिले तरकारी तथा फलफूल खेतीमा रोग, कीरा लागेमा रासायनिक विषादी किनेर प्रयोग गर्थे । तर अहिले उनले जैविक विषादीबाहेक आफ्नो बारीमा अरु विषादी प्रयोग गर्दैनन् । ‘घर वरिपरि पाइने झारपातको प्रयोग गरेर विषादी बनाउँछु’, राना भन्छन्, ‘गाउँघरमा अहिले किसानले रासायनिक विषादी प्रयोग गर्न थाले यो नराम्रो हो भनेर सिकाउनसमेत थालेको छु । रासायनिक विषादी प्रयोगले फाइदाको साटो बेफाइदा गरिरहेको छ ।’
भेरीगंगा नगरापालिकाले पनि रासायनिक विषादीको साटो जैविक विषादी प्रयोगमा किसानलाई प्रोत्साहन गरिरहेको छ । जैविक विषादीबारे पालिकाका सबै किसान जानकार भएमा सहज हुने कृषि शाखा प्रमुख सुरज बिसीले बताए । रासायनिक विषादीका असर धेरै रहेकाले किसानलाई सचेत गराउन थालिएको उनी बताउँछन् । ‘पालिकाले रासायनिक विषादीको साटो जैविक विषादीमा जोड दिइरहेको छ । जैविक विषादीको फाइदा धेरै भएकाले यसको प्रयोग बढाउन किसानलाई सुझाव छ’, उनी भन्छन्, ‘जैविक विषादी शत्रुजीवलाई मार्न प्रयोग गरिने जैविक वस्तु हुन् । जैविक वस्तुमा विभिन्न उपयोगी जीव, मित्रजीव एवम् सूक्ष्म जीवहरू पर्नुका साथै विभिन्न जीव तथा वनस्पतिको तत्व, उत्पादन वा सक्रिय तत्वहरू मिसाएर बनाइन्छ ।’
सामुदायिक सिकाइ केन्द्र
कर्णाली प्रदेश सरकारले अर्गानिक उत्पादनलाई बढाउन सामुदायिक सिकाइ केन्द्र निर्माण गर्ने भएको छ । दशवटै जिल्लामा सिकाइ केन्द्र स्थापना गरेर जैविक विषदीको उत्पादनमा जोड दिने लक्ष्य लिएको हो । विषदीरहित उत्पादनमा जोड दिनेगरी सिकाइ केन्द्रमा सहजीकरण गरिनेछ । यो वर्ष सिकाइ केन्द्र स्थापनाका लागि ५० लाख बजेट विनियोजन गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । प्राङ्गारिक मल उत्पादन गरेर तरकारी खेती विस्तार गर्ने उद्देश्यले सिकाइ केन्द्र स्थापना गर्न लागिएको मन्त्रालयका कृषि प्रसार अधिकृत बखतबहादुर खड्काले बताए ।
अन्तरपालिका सिकाइ
भेरीगंगा नगरपालिका वडा नं. ११ को सिकाइ केन्द्रले गरेको जैविक विषादीको प्रयोगबारे विभिन्न स्थानीय तहले अनुगमन गरेका छन् । त्यहाँ भएको जैविक विषादीको प्रयोगबारे उनीहरूले जानकारी लिएका हुन् । दैलेखका चार, सल्यानका तीन, सुर्खेत, रसुवा र खोटाङ एक/एक पालिकाले जैविक विषादीको प्रयोगबारे जानकारी दिएका हुन् ।
एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) र वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवम् विकास केन्द्र (सिप्रेड) सँगको साझेदारीमा ग्रेप परियोजनाले सुर्खेतको भेरीगंगा नगरपालिका–११ साँदीखोेलामा सामुदायिक सिकाइ केन्द्र स्थापना गरिदिएको हो । यो परियोजना अन्र्तगत सुर्खेतका भेरीगंगासहित वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकामा एक–एक वटा सिकाइ केन्द्र स्थापना गरिएको छ । जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा देखिएको समस्या न्यूनीकरण गर्न र सरल तथा किफायती प्रविधिबाट अनुसन्धान गर्ने उद्देश्यले सिकाइ केन्द्र स्थापना गरिएको सिप्रेड र इसिमोडको साझेदारीमा संचालित हाईरिप परियोजनाका संयोजक शङ्कर न्यौपानेले बताए । यसमा जलवायु उत्थानशील कृषि अभ्यास एकै ठाउँमा अभ्यास गरी प्रदर्शन गरिने उनले जानकारी दिए । सबै सामुदायिक केन्द्रमा झोल मलको उत्पादन तथा प्रयोग, गँड्यौले मलको उत्पादन तथा प्रयोग, भर्मीवासको उत्पादन तथा प्रयोगलगायत विधिको प्रयोग गरी प्रदर्शन हुने गरेको छ । प्रकृतिमा आधारित कृषिमा देखिएका समस्या समाधान गर्नेगरी काम गरिरहेको सिप्रेडका कार्यकारी निर्देशक जय मुकुन्द खनालले बताए । उनका अनुसार कर्णालीमा यो कार्यक्रम प्रभावकारी देखिएको छ । इसिमोडका डा. कमल अर्यालले कृषकको आवश्यकताका आधारमा कार्यक्रम छनोट गरिने बताए । बढ्दो विषादी न्यूनिकरणका लागि सामुदायिक सिकाइ केन्द्र मार्फत सचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ छ ।
मुख्यतया सामुदायिक सिकाइ केन्द्रमा माटो व्यवस्थापन, पौष्टिक तŒव व्यवस्थापन तथा पानी व्यवस्थापनसम्बन्धी प्रशिक्षण तथा प्रदर्शन गरिन्छ । साँदीखोला सिकाइ केन्द्रमा भेरीगंगाका एक सय ७९ कृषक लाभान्वित छन् । त्यसमध्ये अहिले विषादी न्यूनीकरण कृषक समूहले सिकाइ केन्द्रको नेतृत्व गरिरहेको छ । यो परियोजना कर्णालीका सुर्खेतसहित दैलेख र सल्यान जिल्लाका विभिन्न दश स्थानीय तहमा सञ्चालित छ । परियोजनाले जलवायु परिवर्तन तथा जोखिमका कारणले कृषि क्षेत्रमा देखा परेको समस्याहरूको पहिचान, जलवायुमैत्री प्रविधिहरूको पहिचान र अनुसन्धान, रासायनिक विषादीका वैकल्पिक विधिहरूको पहिचान र अनुसन्धान गर्ने, थोरै खर्च, घरेलु र समुदायमा पाइने सामग्रीहरूको प्रयोग गरी उत्पादन गर्ने विधिहरूको पहिचान र अनुसन्धान, जैविक र अर्गानिक उत्पादन गर्ने कार्य उद्देश्य छ । जलवायु परिवर्तनले कृषि क्षेत्रलाई निकै असर परिरहेकाले विभिन्न स्थानीय र सरल प्रविधिको परिक्षण गरी समुदायस्तरमा पु¥याउन जरुरी छ जसले गर्दा उत्पादनमा वृद्धि गरी जीविकोपार्जनमा थप टेवा पुग्ने परियोजनाको विश्वास छ ।
रजनी याेगी ।