औषधी खरिद
प्रदेश सरकारले औषधी खरिदका लागि तीन करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा औषधी खरिदका लागि आवश्यक बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले ४१ प्रकारका औषधी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत् खरिद गर्दै आएको छ । बर्सेनिरूपमा बजेट विनियोजन गरेर आफ्नो दायित्वमा पर्ने औषधी खरिद गर्ने गरिएको हो । आपूर्ति व्यवस्थापन केन्द्रले खोप तथा खोपजन्य सामग्री प्रदेशका दश वटै जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई उपलब्ध गराउँदै आएको छ । गतवर्षको औषधी खपतको अवस्था र यो वर्षको मागका आधारमा औषधी खरिद गर्ने गरिएको केन्द्रले जनाएको छ । औषधी खरिदका लागि बोलपत्र आह्वान गरिएको छ । यस्तै, यो वर्ष संघीय सरकारले एक करोड ८० लाख ५० हजार बजेट आपूर्ति केन्द्रमा पठाएको छ । गर्त वर्षमा पनि संघीय सरकारले सोही हाराहारीमा बजेट विनियोजन गरेको थियो ।
जिल्ला–जिल्लाबाट माग भएको औषधीको विवरणका आधारमा खरिद प्रक्रिया सुरु गरिने केन्द्रले जनाएको छ । केन्द्रले टेण्डरमार्फत् औषधी खरिद गर्ने गरेको छ । आपूर्ति व्यवस्थापन केन्द्रले जिल्ला स्वास्थ्य सेवा कार्यालयहरूमा खरिद गरिएको औषधी पठाउने गरेको छ । जिल्लास्थित ती कार्यालयले पालिका र पालिकाले सम्बन्धित स्वास्थ्य केन्द्रमा औषधी उपलब्ध गराउँदै आएका छन् । तीन तहका सरकारले गरी ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्दै आएका छन् । तीन तहका सरकारले छुुट्टाछुुट्टै रूपमा खरिद ऐनमा रहेर औषधी खरिद गर्ने गरेका छन् । सोहीअनुरूप पालिका र प्रदेशलाई संघीय सरकारले बजेट पठाउने गरेको छ । केही स्थानीय सरकारले आफूले समेत बजेट विनियोजन गरेर औषधी खरिद गर्ने गरेका छन् । भवन निर्माणमा ढिलाइ हुँदा भने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र भाडाको घरबाट सञ्चालन भइरहेको छ । मासिक ४० हजार तिरेर भाडाको घरबाट आपूर्ति केन्द्र सञ्चालन भइरहेको हो । भवन नभएकै कारण आपूर्ति केन्द्रको औषधी नेपालगञ्जमा स्ट्रोर गर्ने गरिएको छ । भाडाको घर भएकाले आवश्यक उपकरण र औषधी भण्डारण गर्न समस्या हुने गरेको छ ।
दुई वर्ष पहिले नै भवन हस्तान्तरण हुनुपर्ने हो । निर्माण व्यवसायीको ढिलाइले गर्दा अझै काम सकिएको छैन । औषधी भण्डारका लागि ठाउँ नहुँदा जिल्लाबाट माग भएका र तत्काल जिल्लामा पठाउनुपर्ने औषधी मात्र केन्द्रमा ल्याउने गरिएको छ । नयाँ भवन बने औषधी भण्डारण गर्न सहज हुने उनको भनाइ छ । पटक–पटक म्याद थपिएको भएपनि भवन निर्माण कार्यमा ढिलाइ भइरहेको छ ।
प्रकाशित मितिः १९ पुष २०८१, शुक्रबार ०६:०३
सम्पादकीय ।