आयुर्वेद औषधालयलाई अनुसन्धान केन्द्र बनाइने
सुर्खेत: कर्णाली प्रदेश आयुर्वेद औषधालयलाई अनुसन्धान केन्द्रमा विकास गर्न लागिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा औषधालयलाई जनशक्ति र आवश्यक पूर्वाधार निर्माण गरेर अनुसन्धान केन्द्रको रूपमा विकास गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।
नागरिकलाई निरोगी बनाउन स्वस्थ जीवनशैली, आहारविहार, योग, ध्यान, व्यायाम प्रवद्र्धन गर्न आयुर्वेद सेवालाई प्रभावकारी बनाउन लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । नयाँ दरबन्दी र भौतिक संरचना निर्माण गरेर औषधालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको मन्त्रालयका प्रवक्ता वृषबहादुर शाहीले बताए । नागरिकको सेवालाई थप व्यवस्थित गर्न सेवा विस्तार गर्न लागिएको छ ।
प्रदेश आयुर्वेद औषधालयमा पछिल्लो समय सेवाग्राही बढ्दै गएका छन् । सरकारले सेवालाई प्रभावकारिता बनाउन आवश्यक संरचना निर्माणको कामसमेत गरिरहेको छ । दरबन्दी थप र आवश्यक पूर्वाधार निर्माण गरेर औषधालयलाई आयुर्वेद केन्द्रका रूपमा विकास गर्न लागिएको औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजालले बताए । उनका अनुसार एकीकृत रूपमा आयुर्वेद सेवा दिन लागिएको छ । आयुर्वेद चिकित्सा सेवा, आयुर्वेद उपचार कार्य, वैकल्पिक उपचार र आयुर्वेद औषधी उत्पादनको काम एकै ठाउँबाट सुरु गर्न लागिएको हो ।
अहिले आयुर्वेद औषधालय सुर्खेतबाट उपचार सेवा मात्र प्रवाह भइरहेको छ । थप सेवा विस्तार गरेर आयुर्वेद केन्द्रको रूपमा विकास गर्न लागिएको उनले बताए । थप कर्मचारी व्यवस्थापन र अति आवश्यकीय उपकरण खरिद गरेर यो वर्षबाटै सेवा सुरु गर्न लागिएको जनाइएको छ । डा. रिजालले भने, ‘प्रादेशिक आयुर्वेद औषधालयलाई आयुर्वेद औषधी उत्पादन केन्द्रका रूपमा विकास गर्न लागिएको हो, औषधी उत्पादन अध्ययन अनुसन्धानको कामसमेत यहाँबाटै हुनेछ ।’
भवन निर्माण कार्य सुस्त
आयुर्वेद औषधालयको भवन निर्माण कार्य निकै सुस्त छ । निर्माण कम्पनीको लापरबाहीका कारण काममा ढिलासुस्ती भइरहेको हो । पछिल्लो पटक म्याद थपिएको समयअवधि सकिन केही समय मात्र बाँकी रहँदा ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । २०८० फागुन ३ गतेदेखि २०८१ फागुन २९ गतेसम्मका लागि अन्तिम पटक म्याद थपिएको थियो । पटक–पटक म्याद थप गर्दा पनि भवन निर्माणको काम निकै सुस्त भइरहेको छ । निर्माण कार्य २०७८ असारबाट सुरु गरिएको थियो । आयुर्वेद अस्पतालको भवन बनाउन कौशल जगदम्बा सुपरस्ट्रार निर्माण कम्पनीले जिम्मा लिएको छ । संघीय सरकारको नौ करोड ७१ लाख बजेटमा निर्माण सम्झौता गरिएको हो ।
भवनको हालसम्म ४० प्रतिशत मात्र भौतिक तथा ३० प्रतिशत वित्तीय प्रगति भएको सहरी विकास तथा भवन डिभिजन कार्यालयका इन्जिनियर पूर्ण शर्माले बताए । १५ शैड्ढयाबाट सेवा दिनेगरी भवन निर्माणको काम थालिएको थियो । भवन निर्माणको न्यून मात्र काम भएको आयुर्वेद औषधालयका प्रमुख रिजालले बताए । निर्माण कम्पनीको लापरबाहीका कारण निर्माणकार्य समयमा हुन नसकेको उनको भनाइ छ । अस्पतालजस्तो संवेदनशील क्षेत्रको भवन निर्माणमा ढिलासुस्ती हुँदा सेवा प्रवाहमा असर परिरहेको डा. रिजाल बताउँछन् । भौतिक संरचनाको अभावमा औषधालयले साँघुरा कोठाहरूबाट सेवा दिइरहेको छ । सेवा विस्तार भएपनि आवश्यक भौतिक पूर्वाधार नहुँदा समस्या हुनेगरेको छ ।
जनशक्ति अभाव
सेवाग्राही बढ्दै गएपनि औषधालयमा जनशक्ति भने अभाव छ । हरेक वर्ष सेवाग्राहीको चाप बढ्न थालेपछि सेवा प्रवाहमा चुनौती थपिदै गएको औषधालयले जनाएको छ । २६ जनाको स्थायी दरबन्दी छ । हाल १४ जना कर्मचारी मात्र दरबन्दीमा कार्यरत छन् । अझै १२ दरबन्दी रिक्त छ । यो वर्षदेखि सेवा विस्तार गरेर औषधालयलाई औषधालय केन्द्रको रूपमा विकास गर्न लागिएको छ । सोही नीति अनुरूप प्रदेश सरकारले २६ जनाको दरबन्दी कायम गरेको हो ।
प्रकाशित मितिः १९ पुष २०८१, शुक्रबार ०६:०६
साझा बिसौनी ।