पूर्वाधार विकास
कर्णाली प्रदेश सरकारले खेलकुद पूर्वधार विकासलाई प्राथमिकता दिएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित पूर्वाधार निर्माणमा सघाइरहेको प्रदेश सरकारले यो वर्ष थप रंगशाला निर्माणमा समेत जोड दिएको हो । चालु आर्थिक वर्षमा जिल्ला–जिल्लामा रंगशाला निर्माणको योजना प्रदेश सरकारले अघि सारेको जनाएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर खेल पूर्वाधार योजना ल्याइएको हो । यो वर्ष चार जिल्लामा रंगशाला निर्माण गर्न लागिएको छ । खेलकुद प्रवद्र्धन गर्न रंगशाला निर्माण गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उक्त योजना अघि बढाउन २० करोड बजेट विनियोजन गरिएको छ ।
मन्त्रालयका अनुसार डोल्पा, जाजरकोट, सल्यान र रूकुमपश्चिममा रंगशाला निर्माण गरिनेछ । जसअन्तर्गत डोल्पामा हिमाली रंगशालाको परिकल्पना गरिएको छ । उक्त रंगशाला निर्माणको प्रभावकारिताबारे सम्बन्धित स्थानीय तह र जिल्ला खेलकुद विकास समितिले छलफल गरिरहेका छन् । स्थानीय तहसँगको साझेदारीमा काम अघि बढाउने गरी तयारी भइरहेको छ । पूर्वाधार बनिसकेपछि त्यसको संरक्षण आवश्यक हुनेभएकाले स्थानीय तहसँग समन्वय गरेर आवश्यकता औचित्यका आधारमा मात्र पूर्वाधार निर्माण गरिने छ । अहिले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि खेलाडी छनोटको कामसमेत भइरहेको छ । खेलपूर्वाधारसँगै खेलाडीको क्षमता विकासमा जोड दिइएको छ । खेल प्रवद्र्धनका लागि विविध कार्यक्रम राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा प्रदेशको विकास र समृद्धिमा युवाको सहभागिता अभिवृद्धिका कार्यक्रम राखिएको छ । युवा नेतृत्व विकास, प्रतिभा पहिचान, उद्यमशीलता तथा स्वरोजगारको नीति अवलम्बन गरिएको छ । युवाहरूलाई खेलकुदमा प्रोत्साहन गर्नका लागि प्रशिक्षणको कार्यक्रमसमेत राखिएको छ । प्रदेश सरकारले दशौँ राष्ट्रिय प्रतियोगिता लक्षित पूर्वाधारसँगै अन्य खेलपूर्वाधारलाई समेत प्राथमिकतामा राखेको हो ।
प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित सडक पूर्वाधार निर्माणमा पनि जोड दिएको छ । हाल सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । प्रतियोगितलाई मध्यनजर गरी वीरेन्द्रनगरको प्रदेश रंगशाला आसपासका सडक कालोपत्रेको काम भइरहेको हो । अहिले सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ । प्रतियोगिता स्थलसम्म पुग्न र आवातजावत गर्न सहज होस् भन्ने उद्देश्यले सडक कालोपत्रको काम थालिएको हो । खेलकुदका लागि आवश्यक रंगशालासहितका पूर्वाधार सँगसँगै खेल पूर्वाधार क्षेत्रमा आवश्यक विकास निर्माणमा सरकारले चासो दिएको देखिन्छ । यसले कर्णालीमा पहिलो पटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन र व्यवस्थापनमा थप सहजता हुने छ ।
प्रकाशित मितिः १७ पुष २०८१, बुधबार ०६:०३
सम्पादकीय ।