खेलकुदका लागि पूर्वाधार
प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित सडक पूर्वाधार निर्माणमा जोड दिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजना अघि सारिएको हो । प्रतियोगितलाई मध्यनजर गरी वीरेन्द्रनगरको प्रदेश रंगशाला आसपासका सडक कालोपत्रेको काम भइरहेको छ । अहिले सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ । प्रतियोगिता स्थलसम्म पुग्न र आवातजावत गर्न सहज होस् भन्ने उद्देश्यले सडक कालोपत्रको काम थालिएको हो । चालु आर्थिक वर्षमा प्रतियोगिता लक्षित तीनवटा सडक कालोपत्रे गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । जुन काम अन्तिम चरणमा पुगेको छ । रंगशाला आसपास क्षेत्रमा सडक कालोपत्रे गर्न लागिएको हो ।
रंगशाला पूर्वको धमलाचोकदेखि क्याम्पसचोकसम्म ६ सय मिटर सडक कालोपत्रे गरिएको छ । उक्त सडकको २०८१ भदौमा ठेक्का सम्झौता भइ काम अघि बढाइएको थियो । उक्त खण्डमा ९७ प्रतिशत काम सकिएको छ । दैलेख रोडदेखि बसपार्कसम्म ६ सय मिटर सडक कालोपत्रे गरिनेछ । यस्तै, गणेशचोकदेखि जिरो ड्याम खेलकुद मैदानसम्म पुग्ने ६ सय मिटर सडक कालोपत्रेको काम थालिएको छ । अहिले ६० प्रतिशत सडक निर्माणको काम सकिएको छ । नौ करोडमा ठेक्का सम्झौता भइ काम अघि बढाइएको हो । धमलाचोकदेखि क्याम्पसचोसम्म र दैलेख रोडदेखि बसपार्कसम्म ६÷६ सय मिटर गरेर आठ÷आठ करोडमा ठेक्का सम्झौता गरिएको निर्देशनालयले जनाएको छ । २०८१ भदौदेखि काम सुरु गरेर कार्तिकसम्म सम्पन्न गर्नेगरी काम अघि बढाइएको थियो । अहिले डेढ महिना म्याद थप गरेर काम भइरहेको छ । पुष १७ गतेसम्मका लागि म्याद थपिएको हो । प्रदेश सरकारले दशाँै राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित पूर्वाधारमा जोड दिएको छ । यसैगरी विमानस्थलहुँदै रंगशाला पुग्ने सडक निर्माण योजना अघि बढाइएको छ । औद्योगिक क्षेत्रदेखि तिनकुनेचोकसम्मको सडक कालोपत्रेको काम अघि बढाइएको छ । अहिले उक्त सडकको कामसमेत धमाधम भइरहेको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।
दशाँै राष्ट्रिय प्रतियोगिता लक्षित खेलपूर्वाधार निर्माणका काम अन्तिम चरणमा पुगेका छन् । मंसिरमा हुने भनिएको खेलकुद प्रतियोगिताको नयाँ मिति तोकिएको छ । केही समय अन्योलमा रहेका प्रतियोगिता लक्षित कार्यक्रम पुनः चलायमान हुन थालेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको हो । राष्ट्रिय खेलकुद परिषद्–राखेपका अध्यक्ष एवम् युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको एक सय १८औँ बोर्ड बैठकले प्रतियोगिताको नयाँ मिति घोषणा गरेको हो । यसअघि राखेपले दशौँ राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मितिः ७ पुष २०८१, आईतवार ०६:०३
सम्पादकीय ।